नवलपुर
राधा क्यान्सर सचेतना फाउन्डेसन को आयोजनामा तथा श्री शिक्षा बोधनि माध्यमिक विद्यालय हुप्सेकोट गाउँपालिका ४ शंखदेवको व्यवस्थापन र मौलाकालिका अस्पताल भरपुर चितवन, ओम डेण्टल क्लिनिक कावासोतीको प्राविधिक सहयोगमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिक्षाबोधनी माविमा भएको शिविरमा २ सय ५ जनाले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरमा स्त्री रोग विशेषज्ञ डा. रमेश पौडेल, फिजिसियन डा. प्रतीक न्यौपाने, मेडिकल अफिसर डा।संगम न्यौपाने, डा. विवेक रेग्मी, दन्त रोग विशेषज्ञ डा सुसिता अधिकारीले सेवा दिनुभएको थियो । साथै शिविरमा उपस्थित हुन नसकेका वृद्धवुद्धालाई घरमै पुगेर सेवा दिइएको थियो ।
कार्यक्रममा हुप्सेकोट गाउँपालिका प्रमुख लक्ष्मी देवी पाण्डेले गाउँघरमा यसरी स्वास्थ्य सेवा प्रदान गरेकोमा धन्यवाद दिनुभएको थियो । उहाँले स्वास्थ्य समाज निर्माणमा सबै को भूमिका उत्तिकै महत्तपुण हुने बताउनुभयो । कार्यक्रममा राधा क्यान्सर सचेतना फाउन्डेसनका अध्यक्ष प्रकाश शर्मा बस्यालले नियमित स्वास्थ्य परीक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
समयमै रोगको पहिचान भएमा मानिसको ज्यान जाने खतरा न्यून हुने र औषधी उपचारमा पनि कम खर्च लाग्ने भएकाले समय समयमा स्वास्थ्य परीक्षण गर्न सबैलाई आग्रह गर्नुभयो । शिविरमा औषधि उत्पादक संघ नेपाल र राजु मेडिकल हल दलदले , जिरी अस्पताल दोलखाका मेडिकल सुपरिटेन्डेन्ट डा देवेन्द्र गौतमले औषधि आवश्यक परेका बिरामीहरूलाई औषधि सहयोग गरेका थिए ।