काठमाडौं ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष किशोर श्रेष्ठले कोरोना भाइरसका कारण विश्व नै आक्रान्त परेका बेला नेपालमा भ्रमपुर्ण समाचार सम्प्रेषण भएकोमा चिन्ता व्यक्त गरे । आज प्रेस काउन्सिल नेपाल र स्वास्थ्य मन्त्रालयको आयोजनामा कोरोना भाइरस र मिडियाको भूमिका बिषयक जनचेतना कार्यक्रममा श्रेष्ठले नेपाली मिडियाले भ्रमपुर्ण समाचार दिदाँ जनमानस आतंकित भैरहेको बताए ।
अध्यक्ष श्रेष्ठले आचारसंहिताविपरीत अराजकता मच्चाउने अनलाईन सञ्चारमाध्यम बन्द गर्ने चेतावनी समेत दिए । “प्रेस काउन्सिलमा पत्रकार छन् । हामीले जे लेखेपनि केही हुँदैन भनेर अहमता प्रस्तुत गर्ने र पत्रकारिताको नाममा भ्रम छर्ने सञ्चारमाध्यम अब दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेर ब्लक गरिन्छ ।” उनले भने ।
उनले एक अनलाईनको समाचारको उदाहरण दिदैँ नेपाली सञ्चारमाध्यमका कारण सचेतना भन्दा आतंक फैलिरहेको औल्याए । “प्रचण्ड बिरामी कोरोनाको संक्रमण भएको आशंका भनेर हेडलाईन र समाचार लेखेर भाइरल बनाइएको छ । त्यसले जनमानमा कति असर पार्छ र त्रास सिर्जना गर्छ । त्यसको अनुमान गरिएको छैन ।” उनले भने, “प्रेस काउन्सिलले अब यसरी लेख्ने अनलाईनहरुलाई कारबाहीको दायरामा ल्याइन्छ । प्रेस स्वतन्त्रताको नाममा छुट हुँदैन ।”
आचारसंहिता उलंघन गर्ने काम नगर्न आग्रह गर्दै अध्यक्ष श्रेष्ठले कोरोना विरुद्धको लडाई आफ्नो जीवनसँग पनि जोडिएकाले गलत प्रचार नगर्न आग्रह गरे । ‘कोरोना विरुद्धको युद्ध आफ्नै जीवनसँग जोडिएको युद्ध हो । त्यसैले गलत प्रचार गर्दा त्यो लगत हतियारको निसाना सोझिएर आफूतिर पनि आउन सक्छ’, उनले भने । रोगको आखाँ नहुने भन्दै उनले बेलैमा सबै सचेत हुनुपर्नेमा जोड दिए ।
Recent Comments