सरकारसँग वार्ताका लागि नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले वार्ता समिति बनाएको छ । सरकारले वार्ता समिति बनाएपछि प्रतिबन्धित नेकपाले पनि वार्ता टोली गठन गरेकाे हो।
पार्टी महासचिव विप्लवले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा उदयबहादुर चलाउने ‘दीपक’ सदस्य रहेकाे दुई सदस्यीय वार्ता टोली गठन गरेको जनाएका हुन्।
‘पार्टीका तर्फबाट वार्तामा सहभागी बन्न केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य दीपक सदस्य रहेको दुई सदस्यीय उच्चस्तरीय वार्ता टोली गठन गरिएको जानकारी गराउँदछौं।’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि सरकारले गृहमन्त्री रामबहादुर थापा बादल नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो ।
प्रधानमन्त्रीमा केपी शर्मा ओली र गृहमन्त्रीमा रामबहादुर थापा बादल रहेकै बखत यही सरकारले नेकपामाथि २०७५ साल फागुन २८ गते प्रतिवन्ध लगाएर उसका कार्यकर्ता र नेतालाई पक्राउ गर्दै विभिन्न मुद्धा जेल चलान गरिरहेको छ । अहिले पनि माइला लामा, धर्मेन्द्र बास्तोलासहितका धेरै नेता जेलमै छन् ।