नुवाकोट ।
कोरोना भाइरसको संक्रमणका बेला जोखिम मोलेर पत्रकारिता गरिरहेका पत्रकारको नेपाल पत्रकार महासंघ नुवाकोटले कोरोना बिमा गरेको छ ।
महासंघ नुवाकोट शाखाका सदस्य तथा जिल्लामा क्रियाशिल ९५ जना पत्रकारहरुको सामुहिक बीमा गरिएको हो । सबैको जनही एक/एक लाख रुपैयाँको बीमा भएको छ ।
नेपालमा कोरोना भाइरसको संक्रमणबाट दुई जनाको मृत्यु भइसकेको र पत्रकारहरु समेत भाइरसबाट संक्रमित भएको भन्दै नुवाकोट शाखाले पत्रकारहरुको सुरक्षाका लागि कोरोना बीमा गरेको जनाएको छ ।
पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले कोरोना बीमाका लागि विदुर नगरपालिका र रुडेक नेपाल नामक गैर सरकारी संस्थाले आर्थिक सहयोग गरेको जानकारी दिए । प्रति व्यक्ति छ सय रुपैयाँका दरले विदुर नगरपालिकाले ७० जना पत्रकारको र रुडेक नेपालले २५ जना पत्रकारको शुल्क तिरेको छ । उक्त बीमा अनुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले एक लाख रुपैयाँ सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने छ ।
नेपाल पत्रकार महासंघ नुवाकोटले आईतबार एक कार्यक्रम गरी पत्रकारहरुलाई कम्तिमा केही आत्मबल बढाउनका लागि यो प्रयास गरिएको र यसमा सरकारी तथा गैर सरकारी नियकाबाट सहयोग प्राप्त भएको जनाएको छ ।
विदुर नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमको बेलामा पत्रकारहरु निरन्तर खटेकाले सुरक्षाको प्रत्याभुती दिन सहकार्य गरेको बताए ।
पत्रकार महासंघलाई बीमा शुल्क सहयोग गरेको रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले प्रत्येक सञ्चार गृहले आफ्नोमा कार्यरत पत्रकारहरुको बीमा गराउने सम्भावना नभएको र संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफुलाई उत्साहि गराएर आर्थिक सहयोग गरेको प्रतिक्रिया दिए ।
बीमा कार्यक्रम घोषणा अवसरमा प्रेस सङ्गठन नेपालका केन्द्रिय सदस्य देवचन्द्र भट्ट र नेपाल प्रेस युनियनका पुर्व केन्द्रिय सदस्य शिव देवकोटाले पत्रकार महासंघले गरेको बीमा कार्यक्रमले कार्यक्षेत्रमा खटिएका पत्रकारहरुलाई उर्जा दिएको बताए ।
प्रेस युनियन नुवाकोटले पनि ट्रेड युनियन नुवाकोट संगको सहकार्यमा आफ्नो सदस्यहरुको कोरोना बिमाको लागि सुचना जारी गरेको युनियनका नुवाकोटका अध्यक्ष नमराज सुवेदीले जानकारी दिए ।









































