काठमाडौं ।
नेपालमा कोरोना पोजेटिभ देखिएका मृतकको संख्या १ सय ७ पुगेको छ । कोरोना संक्रमणबाट नेपालमा थप पाँच जनाको मृत्यु भएको भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय ७ पुगेको हो ।
पर्सामा दुई तथा ललितपुर, मोरङ र जनकपुरमा एक–एक जनाको मृत्यु भएको छ । पाटन अस्पताल ललितपुरमा विगत १२ दिनदेखि उपचार गराइरहेका काठमाडौंका ६० वर्षीय पुरुषको आइतबार साँझ मृत्यु भएको ललितपुर स्वास्थ्य कार्यालयले जनाएको छ। उनको गंगालाल अस्पतालमा मुटुको अपरेशन गरेपछि कोरोना भाइरसको संक्रमण देखिएको थियो।
यसै गरी वीरगञ्जको नारायणी अस्पतालमा शनिबार राति मृत्यु भएका रौतहटका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार राति ८ बजे उनको मृत्यु भएका ३२ वर्षीय युवकमा आइतबार मात्र कोरोना संक्रमण पुष्टि भएको हो।
पर्साको वीरगञ्ज–२६ अठराह सुगौली बस्ने ४७ वर्षीय पुरुषको शनिबार बिहान ७ बजे नारायणी अस्पतालमा उपचारका लागि ल्याउँदै गर्दा मृत्यु भएको छ । मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेसु मदन उपाध्यायले जानकारी दिए।
जनकपुरमा तीन दिनअघि मृत्यु भएका एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै विराटनगरकी एक ५० वर्षीया संक्रमित महिलाको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शनिबार राति मृत्यु भएको थियो ।
Recent Comments