काठमाडौँ ।
नेकपा (वोल्शेभिक) केन्द्रिय कार्यसमिति बैठकले क्रान्तिकारी जनपक्षीय कम्युनिस्ट एकताका लागि आह्वान गरेको छ । वोल्शेभिकको काठमाडौँमा सम्पन्न बैठकले क्रान्तिकारी जनपक्षीय कम्युनिस्ट एकताका लागि टुक्रा टुक्रामा रहेका कम्युनिस्ट पार्टीहरुलाई प्रस्ताव पत्र पठाएको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य किरण नेतृत्वको नेकपा(क्रान्तिकारी माओवादी), क. ऋषि, क. लोकनारायण नेतृत्वको नेकपा, गोपाल किराँती नेतृत्वको नेकपा(माओवादी केन्द्र ), वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, सिपि मैनाली नेतृत्वको नेकपा(माले), नारायणमान विजुक्छे रोहित नेतृत्वको नेमकिपा, सत्तारुढ नेकपा (नेकपा) भित्रका क्रान्तिकारीहरू, नेकपा(मसाल) भित्रका क्रान्तिकारीहरू, र स्वतन्त्र वामपन्थीहरू प्रस्तावपत्र पठाएको नेकपा वोल्सेभिकले जनाएको छ ।
यस्तो छ वोल्शेभिकको प्रस्तावपत्र
कमरेड अध्यक्ष, महासचिव, संयोजक,
नेपाल कम्युनिस्ट पार्टी
केन्द्रिय समिति, आयोजक समिति,
हार्दिक अभिवादन ।
विषय—क्रान्तिकारी जनपक्षीय मालेमावादका आधारमा पार्टी एकताका लागि प्रस्ताव
प्रिय कमेरड,
०७७ भदौमा बसेको नेकपा(वोल्शेभिक)को केन्द्रिय समितिको बैठकले छरिएर रहेका कम्युनिस्ट क्रान्तिकारीहरुको एउटै शक्तिशाली मालेमावादी जनपक्षीय कम्युनिस्ट पार्टी बनाउनका लागि पार्टी एकताको प्रस्ताव तपाइँ नेतृत्वको नेकपासमक्ष हार्दिकतासाथ पठाउने निर्णय गरेको छ । तसर्थ तपाइँ नेतृत्वको नेकपा केन्द्रिय समिति समक्ष हामी निम्न आधारहरुमा पार्टी एकताको लागि हार्दिक प्रस्ताव राख्दछौँ ।
क) पार्टी एकताका आधारहरुः
१) नेपाली क्रान्ति अधुरो रहन गएको छ । नेपाली बहुसङ्ख्यक जनताले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र मुठ्ठिभर दलाल पूँजीपति वर्ग, नोकरशाही पूँजीपति वर्ग, सामन्ती अवशेष वर्ग र साम्राज्यवादी पुँजीवादी वर्गले हत्याएर कब्जामा लिएको छ र सत्तारुढ भएको छ । बहुसङ्ख्यक जनताको श्रम, पसिना र देशको सम्पतिमाथि उनीहरुले लुट मच्चाइरहेका छन् । बहुसङ्ख्यक जनतामाथि शोषण उत्पीडन उनीहरुले सुरु गरेका छन् । सत्तारुढ डबल नेकपा(नेकपा) को मूल नेतृत्व तथा बहुसङ्ख्यक नेताहरुको वर्ग परिवर्तन भएर दलाल तथा नोकरशाही पूँजीपति वर्गमा रुपान्तरण भएको छ । अहिलेको जनविरोधी प्रतिक्रियावादी राष्ट्रघाती मेन्शेभिक सरकार तथा वर्तमान सत्ता व्यवस्थाको विरुद्ध सङ्घर्ष गरी बहुसङ्ख्यक जनताको “वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र” स्थापना गर्नु कम्युनिस्ट पार्टीको तात्कालिक कार्यभार हो । बैज्ञानिक समाजवाद र साम्यवाद त्यसपछिको लक्ष्य हो ।
२) अहिलेको विशिष्ट परिस्थितिमा नेपाली क्रान्तिको कार्यदिशा नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा हो । कार्ल माक्र्सले विश्व प्रशिद्ध कम्युनिस्ट घोषणापत्रमा भन्नुभएझैँ क्रान्तिकारी उद्देश्य प्राप्तीकोलागि वल प्रयोग अनिवार्य छ । अहिलेको विशिष्ट स्थितिमा नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशा नै बल प्रयोगको सवभन्दा सरल, सहज, वैज्ञानिक र मालेमावादी कार्यदिशा हो । यसभित्र विभिन्न प्रकारका सङ्घर्षहरु एकिकृत, संयुक्त र अन्तरघुलित(फ्युजन) हुनेछन् । यदि सही रणनीति र कार्यनीति तथा कार्यक्रमहरु र सही नेतृत्वका आधारमा जनआन्दोलन उठाउन सकियो भने केही भ्रष्ट तथा जनविरोधी र देशघाती व्यक्तिहरु वाहेक अत्यधिक बहुसङ्ख्या नयाँ जनपक्षीय गणतान्त्रिक व्यवस्था र नयाँ जनपक्षीय सरकारको पक्षमा आउने हुन्छ ।
नयाँ संयुक्त जनआन्दोलनको कार्यदिशामा हामीले विगतमा नेपाली जनताले गरेका विभिन्न आन्दोलनहरु, मुख्यतः ०३६ सालको आन्दोलन, ०४६ सालको आन्दोलन र ०६२ सालको आन्दोलन आदि सबैका अनुभवहरुको संश्लेषण गरेर त्यस शिक्षालाई आधार वनाइनेछ । विश्वका विभिन्न देशमा भएका जनआन्दोलनहरुका शिक्षालाईपनि आधार वनाइनेछ । रुसमा लेनिनको नेतृत्वमा कम्युनिस्ट नामधारी मेन्शेभिक र समाजवादी क्रान्तिकारी भनिएकाहरुको सरकारका विरुद्ध भएको महान वोल्शेभिक क्रान्तिका शिक्षाहरुलाई पनि आत्मसात गरिनेछ । यहाँ नेपालमापनि प्रतिक्रियावादी जनविरोधी कम्युनिस्ट नामधारी मेन्शेभिकहरुकै जस्तो डवल नेकपाको सरकार रहेको स्थितिमा रुसको वोल्शेभिक क्रान्तिका अनुभवहरु ठुलो महत्वका हुनेछन् ।
३) वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्रका कार्यक्रमहरुको रुपमा हामीले हाम्रो घोषणापत्रमा रहेका ४९ बूँदे कार्यक्रम र पहिलो पत्रमा रहेका ३४ बुँदे तात्कालीक कार्यक्रम प्रस्तावित गरेका छौँ ।
४) नयाँ संयुक्त जनआन्दोलनको तात्कालिन कार्यनैतिक नाराको रुपमा “ नालायक, जनविरोधी तथा भ्रष्ट ओली सरकारको राजिनामा र राष्ट्रिय संकटकालिन जनपक्षीय सरकार गठनकालागि संयुक्त जनआन्दोलनको तयारी गरौं ” भन्ने प्रस्तावित गरिएकोछ । यहाँ भनिएको राष्ट्रिय संकटकालिन जनपक्षीय सरकार भनेको यसै व्यवस्था भित्रको सुधारवादी सरकार नभएर नयाँ संयुक्त जनआन्दोलनको आँधीवेरीवाट वन्ने क्रान्तिकारी संयुक्त सरकार हो र यसले वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र संस्थागत गर्न संक्रमणकालिन क्रान्तिकारी सरकारको काम गर्दछ । यो कार्यनैतिक नारा अर्को रणनैतिक नाराको अभिन्न अङ्ग हो । हामीले रणनैतिक नारा निम्न अनुसार प्रस्ताव गरेका छौँ —“सामन्ती अवशेष, दलाल तथा नोकरशाही पुँजिवाद र साम्राज्यवादको सेवा गर्ने मुठ्ठीभरको व्यवस्थाको विकल्प खोजौँ । संयुक्त जनआन्दोलनवाट जनपक्षीय सरकार, जनपक्षीय प्रशासन, जनपक्षीय सत्ता सहितको समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्र स्थापनाको गरौं ।”
५) उपरोक्त आधारमा अहिलेदेखि नै नयाँ संयुक्त जनआन्दोलनको तयारी थाल्ने, आम जनतामा जनआन्दोलकालागि तयार रहन अपिल गर्ने, मिल्न सकिने सबै सँगमिलेर संयुक्त वाममोर्चा र संयुक्त वाम लोकतान्त्रिक मोर्चा वनाउने तथा उपयुक्त मिति तोकेर नयाँ संयुक्त जनआन्दोलनको शुरुवात गर्ने घोषणा गर्ने ।
६) मालेमावाद र विश्वका विभिन्न भागहरुमा भएका जनसंघर्षका अनुभवहरु नयाँ एकिकृत पार्टीको पथप्रदर्शक हुनेछ ।
७) अन्य विवादका विषयहरुमा तथा अन्य विभिन्न गम्भीर राष्ट्रिय अन्तराष्ट्रिय विषयहरुमा नयाँ एकिकृत पार्टी भित्र जनवादी केन्द्रियताको आधारमा वहस छलफल गर्दै जाने र पार्टी एकता महाधिवेशनले टुंग्याइनेछ । आवश्यक गम्भीर महत्वका विषयहरुमा आम जनसमुदाय सम्म नै वहस छलफल चलाएर मात्रै निर्णय लिइनेछ ।
ख) पार्टी एकता वारे प्रतिक्रियावादी, अवसरवादी र क्रान्तिकारी जनपक्षीय दृष्टिकोणहरु—
प्रचण्डले पूर्व माओवादीहरु सबै अहिलेको सरकारी डवल नेकपामा एकतावद्ध हुन अपिल गरेका छन् । यो भनेको अरुलाई पनि दलाल तथा नोकरशाही बुर्जुवा वर्ग र साम्राज्यवादको दलाल वनाउने उनको दुश्प्रयास मात्रै हो । यो भनेको उनलाई ओलीले बारम्बार अन्तरसङ्घर्षमा पछारेको हुनाले अरुसँग गुहार मागेर बलियो भई प्रतिक्रियावादी सत्ताको नाइके बन्ने चालवाजी मात्रै हो । त्यसैले उनको पूर्व माओवादीहरुलाई एकताको अपील प्रतिक्रियावादी उद्देश्य बोकेको षड्यन्त्र मात्रै हो ।
ओलीको पूर्वएमालेहरु सबै एकताबद्ध हुनको लागि बारम्बार गरिने अपील पनि उनको प्रतिक्रियावादी कुर्सी जोगाउन शक्ति सञ्चय र चालबाजीको प्रयास मात्रै हो । ओली प्रचण्डहरु स्वयम् दलाल तथा नोकरशाही पुँजीपति वर्ग र साम्राज्यवादीहरुको दलालमा वर्ग रुपान्तरण भैसकेको स्थितिमा उनीहरुले फलाक्ने गरेको कम्युनिस्ट एकताको कुनै अर्थ छैन ।
यसबाहेक विद्यमान कम्युनिस्ट पार्टीहरुका बीचमा अनेकौँपटक पार्टी एकताको प्रयास भएका छन् । केही प्रयास भएपनि सही मालेमावादी कार्यदिशा, कार्यक्रम, रणनीति र कार्यनीति नलिएको हुनाले त्यसबाट नेपाली कम्युनिस्ट आन्दोलन अघि बढ्न सकेको छैन । तसर्थ उपरोक्त सही मालेमावादी कार्यदिशा, कार्यक्रम, रणनीति र कार्यनीतिका आधारमा शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने उद्देश्यसहित हामीले पार्टी एकताको प्रस्ताव प्रस्तुत गरेका छौँ ।
कतिपय कम्युनिस्ट दावी गर्ने नेताहरुमा ओली प्रचण्ड नेतृत्वको वर्तमान प्रतिक्रियावादी जनविरोधी राष्ट्रघाती मेन्शेभिक सरकारलाई देशभक्त र वामपन्थीहरुको सरकार देख्ने घोर दक्षिणपन्थी अवसरवाद हावी छ । यसै मेन्शेभिक ओली सरकारलाई सुधार गर्न मात्रै जनआन्दोलन गर्नु पर्दछ र यस सरकार तथा सत्ता व्यवस्थाको विकल्पमा क्रान्तिकारी जनपक्षीय सरकार तथा वैज्ञानिक समाजवाद उन्मुख नयाँ जनपक्षीय गणतन्त्रको मूल नारा सहित राष्ट्रियता जनतन्त्र र जनजीविकाका अन्य विविध समस्याहरु राखेर संयुक्त जनआन्दोलन गरिनुहुन्न भन्ने घोर दक्षिणपन्थी सोच केही नेताहरुमा देखिएको छ । यस्तो दक्षिणपन्थी अवसरवाद वर्तमान नेपाली कम्युनिस्ट आन्दोलनमा पार्टी एकताकोलागि प्रमुख समस्या रहेको छ जसका विरुद्ध क्रान्तिकारी कम्युनिस्टहरु सबैले एकतावद्ध भएर वैचारिक भण्डाफोर गरिनु पर्दछ ।
पार्टी एकताको लागि उपरोक्त प्रतिक्रियावादी र अवसरवादी दृष्टिकोणका विरुद्ध दृढतापूर्वक संघर्ष गरेर मात्र क्रान्तिकारी मालेमावादी आधारमा विभिन्न दलहरु बीच पार्टी एकता हुन सक्दछ भन्ने हाम्रो विश्वास रहेको छ । अबको पार्टी एकता कुनै पूर्व समुहहरुको मात्रै एकता नभएर विभिन्न दलहरुमा रहेका सबै क्रान्तिकारी कम्युनिस्टहरुको बृहत क्रान्तिकारी एकता हुनु पर्दछ भन्ने
नेकपा(वोल्शेभिक)को प्रस्ताव रहेको छ । तसर्थ हामीले अन्य कम्युनिस्ट पार्टीहरुका कमरेडहरुलाईपनि उपरोक्त आधारहरुमा पार्टी एकताको लागि हार्दिकतासाथ प्रस्ताव पठाएका छौँ ।
पार्टी एकताका विषयमा छलफल चलाउन तथा ठोस निर्णयहरु लिन उच्च स्तरिय पार्टी एकता तयारी समिति गठन गर्ने प्रस्ताव पनि प्रस्तुत गर्दछौँ । यदि तत्काल पार्टी एकता सम्भव नभएमा संयुक्त वाम मोर्चा गठन गर्ने पहिलो तथा दोश्रो पत्रको प्रस्तावका विषयमा गम्भीरता साथ लिनु भई तपाइँ नेतृत्वको नेकपाको तर्फबाट यथाशीघ्र प्रत्युत्तरको अपेक्षा गरेका छौँ ।
क्रान्तिकारी अभिवादन सहित
अध्यक्ष
केन्द्रिय समिति
नेपाल कम्युनिस्ट पार्टी(वोल्शेभिक)
०७७ भाद्र ३०