-संगीता पनेरु
मेरो बाबाको रगतसँग होली खेल्ने तिमि को हौ ?
मेरी आमाको इज्जतमाथि धावा बोल्ने तिमि को हौ ?
मेरो भाइको पसिनालाई जिस्क्याउने तिमि को हौ ?
मेरी बहिनीको स्वाभीमानसँग खेलबाड गर्ने तिमि को हौ ?
ओ शासक !
यो देश तिम्रो बाबुको विर्ता होइन
तिमिले अंशमा पाएको घडेरी होइन
त्यसैले यहाँ तिम्रो हुकुम चल्दैन
तिम्रा टुक्के आदेशले काम गर्दैन
खबरदार !
तिम्रा पाइलाहरु यहाँ भन्दा
अघि नबढाउ
सडकमा बिच्छाइसकेका छौंँ
तिम्रा हर्तकविरुद्धका जाल ।
फर्क अनि जस्केलाबाट चियाउ
गिज्याउ हाम्रो आन्दोलनलाई
जसरी गणतन्त्रको विगुल बज्दै गर्दा
गिज्याएका थियौ ।
हिजो सडकबाट टपक्क टिपेर
हामीले हो नै तिमीलाई त्यहाँ पुर्याएको
तिमिले हामीलाई ढाल नसम्झ
फेरि सडकमै बजारिदिने तादक छ हामीसँग
यदि पत्यार लाग्दैन भने
हेर तिमिले नै बनाएका भ्युटारवरबाट
जनसागर कसरी उर्लिरहेको छ ।
यहि जनसागर हो
श्री ३ र श्री ५ पछार्ने
होसियार
कहिले उठ्न नसक्ने गरी
पछारिने पालो अब तिम्रो हो ।
Recent Comments