-प्रेम सागर पौडेल
नेपालमा झण्डै पाँच हजारकाे संख्यामा चिनियाँ नागरिक रहेका छन् । तीमध्ये कतिपय ब्यापारी, नेपालमा सञ्चालनमा रहेका परियोजनाका कर्मचारी र पर्यटक समेत छन्। उनीहरू मध्ये अधिकांश आकस्मिकरुपमा लागु भएको लकडाउनका कारणबाट आफ्नाे देश फर्किन नपाएका हुन् ।
आफ्नाे देश चीन फर्किनका लागि विगतदेखि नै प्रयास गरिरहेका छन् । त्यसक्रममा नेपालस्थित चिनियाँ राजदूतावास पुगेर आफ्नाे समस्या व्यक्त गर्न पटकपटक काेसिश गरेपनि प्रहरीले राजदूतावास नपुग्दै अवरोध गरेर जान नदिएकाले ती प्रयासहरु सफल हुन सकेनन्। त्यसपछि केही दिनअघि उनीहरू मध्ये केही पर्यटन बाेर्डकाे कार्यालय पुगेर समेत स्वदेश फर्काउन पहल गर्न अनुरोध गरेका थिए। पर्यटन बाेर्ड पुग्दा समस्या राख्ने यो उपयुक्त कार्यालय नभएको थाहा पाएपछि उनीहरू सिंहदरबार गएको बुझिन्छ/देखिन्छ।
हिजो दिउँसो प्रहरी र चिनियाँ नागरिकबीचकाे झडपका सम्बन्धमा विभिन्न प्रतिक्रिया सार्वजनिक भएका छन्। र यस घटनाले केही प्रश्न समेत जन्माएको छ ।
देशभरि लकडाउन छ। हामी सबैले पालना गरिरहेका छाैं । हामी मध्ये काेही काम विशेषले निस्कँदा पनि प्रहरीले तीन चार घण्टा घाममा बसाएकाे, कतिपयलाई पिटेको आदि समाचार दिनहुँ सार्वजनिक भइरहेका छन् । केही दिनअघि पत्रकार ऋषि धमलाले प्रत्यक्ष प्रशारण गरेको कार्यक्रममा एकजना नयाँ पत्रिकाका पत्रकारले सूचना विभागकाे प्रेस पास देखाउँदा पनि प्रहरीले राेकेकाे र नयाँ पत्रिकाकाे परिचयपत्र घरमै छुटेको बताइरहनु भएको थियो । सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा आवत जावत गर्न नदिने प्रहरीले किन र कसरी ती विदेशीलाई यसअघि पर्यटन बाेर्ड र हिजो सिंहदरबार जान दियो ? तत्कालै खिचिएका तस्बिरहरू र भिडियो रेकर्डिङ हेर्दा प्रहरीले उनीहरूलाई बिना राेकटाेक सिंहदरबारसम्म जान दिएको मात्रै नभइ आफुहरु समेत सँगसँगै हिडेका देखिन्छन्।
हामी नेपालीलाई एक्लै पनि आवतजावत गर्न नदिने प्रहरीले ठमेलबाट त्यति धेरै संख्यामा आएका विदेशीलाई किन यथास्थानमा नराेकेर सिंहदरबारसम्म जान दियो ? त्यहाँ पुगेपछि एक्कासी नियन्त्रणका अन्य उपाय नअपनाएर किन हातपात तथा लाठीचार्ज गरियो ?
केही दिनअघिदेखि चिनियाँहरु स्वदेश फर्किन चाहेको समाचार सार्वजनिक भइरहेको थियो। उनीहरूकाे अवस्था बुझेर याेजनाबद्ध तरिकाबाट प्रहरीलाई माध्यम बनाएर नेपाल र चीन विरोधीले नेपाल र चीनबीचकाे सुमधुर र विश्वासयुक्त सम्बन्ध खलल पार्ने षड्यन्त्र गरेको गन्ध आएकाे छ। होइन भने ती चिनियाँलाई चिनियाँ राजदूतावास जानबाट पटकपटक किन राेकियाे? प्लेकार्ड बाेकेर समस्या देखाउँदा देखाउँदै किन अन्य शान्तिपूर्ण उपाय अवलम्बन नगरीकन हातपात र लाठीचार्ज गरियो? यस विषयमा छानबिन गरी दाेषीमाथि कार्वाही गर्नुपर्छ।
सामाजिक सञ्जालमा ब्यक्त भएका कतिपय विचार जस्तो चिनियाँहरु नेपाल प्रहरीलाई आक्रमण गर्ने उद्देश्यले चीनबाट आएका होइनन् । प्रहरीकै असफलताबाट उत्पन्न आकस्मिक घटना हो। प्रहरीले उनीहरू सडकमा निस्कने बित्तिकै सम्झाइबुझाई फर्काउनु पर्थ्याे। नमानेको अवस्थामा लकडाउन उल्लंघन गरेको आराेपमा कार्वाही गर्नुपर्थ्याे। यी केही पनि नगरेर चिनियाँ राजदूतावास जानबाट पटकपटक राेक्नु, पर्यटन बाेर्डमा प्लेकार्ड सहित जान दिनु र हिजो दिउँसो सिंहदरबारसम्म निर्वाध जान दिनुकाे पछाडि प्रहरीको गम्भीर कमजोरी छ। यसलाई अहिलेकाे राजनीतिसँग वा अन्तर्राष्ट्रिय प्रभावसँग जाेडेर हेर्ने हो भने भारत, चीन र रुस एक ठाउँमा उभिने दिशातर्फ उन्मुख भएकोबाट अत्तालिएकाे पश्चिमा शक्तिले यो सामान्य घटनालाई उत्तेजित बनाउने र नेपाल र चीन बीचकाे विश्वासयुक्त सम्बन्धमा दुरी बढाउने बदनीयत देखिन्छ।
यो सामान्य घटनालाई अतिरञ्जित बनाउँदा नेपाली र देश दुवैलाई फाईदा छैन। देशलाई मुटुमा राखेर राष्ट्रिय स्वार्थलाई सर्वाेपरी ठानेर छिमेकीसँगकाे सम्बन्धलाई आपसीहितका पक्षमा उपयोग गर्नुपर्छ।
विगत १५ दिन अर्थात २४ अप्रिल २०२० देखि ७ मे २०२० सम्ममा भारतीय सीमावर्ती क्षेत्रमा खटिएका नेपाल प्रहरीमाथि घरेलुु हतियारसहित ठूलो समूहमा आएकाले पटकपटक आक्रमण प्रयास गरेको समाचार सार्वजनिक भइरहेको छ । २४ अप्रिल देखि अहिलेसम्म ११ पटक नेपाल प्रहरी र सशस्त्र प्रहरीमाथि आक्रमण प्रयास भइसकेको छ। प्रहरीले आत्मरक्षाका लागि हवाई फायर समेत गर्नु परेको थियो। यी आक्रमण प्रयास तस्करी गर्न र अवैध नेपाल प्रवेश गर्न पाउनका लागि भएका थिए ।
यी सबै घटना सरकारकाे सम्बन्धित निकाय चुस्त दुरुस्त नभएकोले भएका घटना हुन् । सम्बन्धित निकायले घटनालाई कसरी शान्तिपूर्ण तरिकाबाट नियन्त्रण गर्ने योजना र ठाेस पहल गर्न नसक्दा भएको स्पष्ट छ।