-छविलाल कोपिला
मेरा बा’ले
वर्षौंदेखि राखेको एउटा सपनाको सन्दुक छ ।
जिन्दगीभरि गोठालो गरेको तीता–मीठा कुरा
संगालेर राखेको पोको,
मालिकको गाली गलौच
हृदयमा लागेका चोट
र बनावटी मुस्कान छ,
हो, यी सबै चीजहरुको पोको पारेर
उही सन्दुकमा राखेका छन् ।
हलो–जुवा, गुँइ–गोरु, खेत–बारी
जहाँ मेरा बा’का हात–खुट्टाहरू चल्छन्
सीप चल्छन् र जाँगर चल्छन्
हो, म त्यही देखिरहेछु,
पानी नपाएर धाँजा फाटेका खेतजस्तै
पट्पटी फुटेका खुट्टाहरू
कर्कलाका पात जस्तै गलेका हातहरू
तर, पनि
जब जाँगर र पाखुरी चलाउँथे बा’ले
यता बर्षातको पानी
घरको छानोबाट खसेर
ती धाँजा फाटेका खेत सिंचित भएझैं
मेरा बा’का श्रम र पौरखले निस्किएका
पसिनाले मन सिंच्थे
र पटपटी फुटेका खुट्टाहरू बिशेक हुन्थे
जहाँ बा’का सुन्दर सपनाहरू हाँस्दथे ।
मंसिरमा भरिएका भकारीहरू
जब रित्तिएर भदौरे भेलझैं ओरालो लाग्थे
र राज गर्थे दुःखका पोकाहरू
यता बा’का लगौंटीमा
अभावका गाँठोहरू पर्थे
अनि, बा खुब गहिरिएर हेर्थे
मालिकको जालझेलमा लुकेका बनावटी हाँसो
मेरी आमाको मौनता
हाम्रा आँखाहरूमा आशाको नजर
बिचरा ! बा
निर्जवाफ तल टाउको निहुराउँथे
र मनको सन्दुकमा
यो कुरा पनि पोको पारेर राख्थे ।