काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारले सम्भावित जोखिमको लागि स्वास्थ्य उपकरण र औषधी मौज्दात राखेको बताएका छन् । स्वास्थ्य मन्त्रालय र प्रेस काउन्सिल नेपालको आयोजनामा भएको कोरोना संक्रमण र मिडियाको भूमिका बिषयक सचेतना कार्यक्रममा बोल्दै मन्त्री ढकालले कोरोना भाईरसको संक्रमण हुन नदिन सरकार सजग भएको र भैहाले पनि स्वास्थ्य संयमता अपनाउन सरकार पुर्ण रुपमा सक्षम भएको बताएका हुन् ।
मन्त्री ढकालले सरकारले भविष्यमा आईपर्ने जोखिमप्रति सचेत रहँदै सरकारले औषधी लगायत स्वास्थ्य उपकरण सामाग्री मौज्दात राखेको बताए । उनले बजारमा अहिले नै सबै खपत गरेर सकाउनु भन्दा पछिका लागि आवश्यक मौज्दात राखिएको बताए ।
‘बजारमा अहिले केही सामाग्रीको अभाव भएको छ’, मन्त्री ढकालले भने, ‘सरकारले सम्भावित जोखिमलाई ध्यान दिएर सामान स्टकमा राखेको छ, सामानहरु अहिल्यै सकेर पछि जोखिम भएमा झनै अभाव हुन्छ, त्यसैले केही सामानहरु जम्मा गरिएको छ।’
मन्त्री ढकालले केही मित्रराष्ट्रबाट १ लाख प्रति मास्क र २० हजार थान थर्मल गन आईपुगेको जानकारी दिए। सरकारले केही तयारी गरेको छैन भन्नेहरु धेरै भएको भन्दै मन्त्री ढकालले भने ‘सरकार सुतेर बसेको छैन। भोलि कोरोनाको संक्रमण देखिएमा पनि उपचारको लागि सरकार सक्षम छ।’
चीनमा कोरोना संक्रमण देखिँदा नेपाललाई जति जोखिम थियो त्यो भन्दा बढी अन्य राष्ट्रमा कोरोना संक्रमण फैलिँदा जोखिम भएको मन्त्री ढकालले बताए।
Recent Comments