सेयर
काठमाडौँ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)की सल्लाहकार तथा प्रधानमन्त्री पुष्मकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहालको निधन भएको छ । लामो समयदेखि बिरामी दाहालको आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको हो ।
वि.सं. २०११ असार २१ गते कास्की जिल्लाको हेम्जामा आमा हरिकला पौडेल र बुवा महेश्वर पौडेलको कोखबाट जन्मिनुभएकी सीता दाहालको २०२६ सालमा कमरेड प्रचण्डसँग विवाह भएको थियो । वि.सं. २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आवद्ध उहाँ जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै हाल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । पार्टी कामका लागि पञ्चायतीकालमा लामो समय भूमिगत जीवन विताउनुभएकी सीता दाहालले देशमा जनयुद्ध सुरुवात भएपछि २०५२ सालदेखि भूमिगत राजनीतिमा सक्रिय रहँदै जनयुद्धका आँधीमय वर्षहरूमा सिंगो पार्टीको अभिभावकका रूपमा पार्टीभित्रका चुनौती, संकट, विवाद समाधानका निम्ति समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो । पछिल्लोसमय उहाँ पार्किन्सनजस्तो दुर्लभ रोग लगायतका रोगहरूबाट ग्रसित हुँदै आउनुभएको थियो ।
भरतपुर महानगरपालिका वडा नं १४ स्थायी ठेगाना भएकी दाहालका चार सन्तानमध्ये जेठी छोरी ज्ञानु दाहालको क्यान्सर र छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भइसकेको छ । छोरीहरू रेनु दाहाल र गंगा दाहाल पार्टी र राजनीतिमा सक्रिय हुनुहुन्छ ।
सल्लाहकार दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा राखिएको छ । दिउँसो २ बजे पशुपति आर्यघाटमा अन्तेष्टि गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ ।
shere this