-इन्द्रप्रसाद गौतम ‘जगतजंग’
-रसुवा
नुवाकोट विदुर नगरपालिका वडा नं. ९ आँगापुटारमा बुबा हेम बहादुर भण्डारी र आमा पद्यम कुमारी भण्डारीको कोखवाट २०१० फाल्गुण ०६ गते जन्मनु भएका अर्जुन बहादुर भण्डारीको यही २०७७ जेठ १२ गते असमायीक निधन भएको छ । उहाँ लामो समयदेखि नसाको रोगवाट पिडित हुनुहुन्थ्यो । उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि साथै उहाँको श्रीमती निर्मला भण्डारी, छोरा राजु भण्डारी, छोरी अन्जना र उषा भण्डारी, दाजु अमृत ब.भण्डारी र भाई रामराजा भण्डारी लगायत सबै परिवारजनहरुलाई गहिरो समवेदना ।
राजनीतिक जीवनः
विद्यार्थी जीवनदेखि नै क्रान्तिकारी चेतनाद्वारा लैस हुनु भएका क.अर्जुन बहादुर भण्डारी २०३४ मा पुष्पलाल समूहको नुवाकोट जिल्ला सम्पर्क समितीका सदस्य वन्नु भयो । २०३७ फागुनमा तत्कालिन ने.क.पा. (चौम) का वाग्मती व्युरो इन्चार्ज वाचस्पति देवकोटा र व्यूरो सेक्रेटरी देव गुरुङको उपस्थितिमा ललितपुर पाटनमा सहिद वीर बहादुर मोक्तानको मामाको छोराको कोठामा भएको भेलाद्वारा क.अर्जुन व. भण्डारीलाई रसुवा जिल्लाको संस्थापक सेक्रेटरीमा चयन ग¥यो । सोही महिनामा ललितपुर पाटनमा गोविन्द मैनालीको कोठामा भएको भेलाले उहाँलाई नुवाकोट जिल्लाको संस्थापक सदस्यमा चयन गर्यो । २०४० मा ने.क.पा. (मशाल) को नुवाकोट जिल्ला सदस्य, २०४० देखि २०४२ सम्म लडाकु दल बिशेष समिति नुवाकोटको संयोजक, २०४७ सालमा नेकपा (मशाल) रसुवा जिल्ला सेक्रेटरी, २०४७÷२०४८ नेकपा (एकताकेन्द्र) रसुवा जिल्ला सेक्रेटरी, २०५१ नेकपा (माओवादी) वाग्मती उपव्युरो सदस्य तथा रसुवा जिल्ला सेक्रेटरीमा चयन हुनुभयो । साथै एकिकृत नेकपा (माअोवादी, नेकपा (माओवादी केन्द्र को विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको थियो । पछिल्लो समयमा उहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जेष्ठ कम्युनिष्ट मञ्चका प्रस्तावित केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।
संघर्षमय जीवनः
२०३५÷०३६ को विद्यार्थी आन्दोलन र जनमत संग्रह, २०३८ को शिक्षक आन्दोलन, २०३८ को पञ्चायती चुनाव बहिस्कार आन्दोलनहरुमा रसुवा र नुवाकोटमा क. अर्जुन बहादुर भण्डारीको नेतृत्वदायी भूमिका थियो । स्थानिय सामन्त, जाली, फटाहा विरुद्ध भएको ग्रामिण वर्गसंघर्ष, निरंकुश पञ्चायती व्यवस्था विरुद्धको पर्चा, पोस्टर, भित्तेलेखन, छापामार जुलुस, मसाल जुलुसहरु उहाँको नेतृत्वमा रहेको लडाकु दलको विशेष समितिले जिल्लाव्यापी रुपमा गरेको थियो । २०३९ चैत्रमा भएको रसुवा जिल्लाको विद्यार्थी सम्मेलन, शिक्षक आन्दोलन लगायतको क्रान्तिकारी गतिविधिहरुका कारण २०४१ मा रसुवाको कालिका हिमालय मा.वि.का ८ जना शिक्षकहरु अर्जुन व. भण्डारी, शुभलाल श्रेष्ठ, चित्रकान्त सुवेदी, कृष्ण कु. ढकाल, प्रचण्ड प्रधान, शान्ति प्रधान, नारायण सत्याल, सविर हुसेन सेखलाई तत्कालिन पञ्चायती शासकद्वारा बर्खास्त गर्यो । सोहि समयदेखि क.अर्जुन बहादुर भण्डारी पूर्णकालिन बन्नुभयो । २०४२ मा काठमाडौं भृकुटीमण्डपमा भएको सहिद क. मित्रमणी आचार्यको स्मृती सभा र प्रतिरोधात्मक संघर्षको क्रममा गिरफ्तारीमा परी उहाँले चरम शारीरिक यातना व्यहोर्नु भयो । २०४२ आषाढ ०६ गते भएको बमकाण्डपछि उहाँ पुनः गिरफ्तार पर्नुभयो । पञ्चायती निरंकुश शासकहरुले दिएका चरम शारीरिक यातना र जेलनेलका कारण सोही अबधी देखि नै उहाँ नसाको रोगबाट पिडित हुनु पुग्नुभयो । २०४६ को जनआन्दोलनपछि राष्ट्रियता, जनतन्त्र र जनजीविकाको सवालमा विभिन्न खालको नेपाल बन्द लगायतका आन्दोलनहरु, चुनावको उपयोग गरी संसदको भण्डाफोर तथा २०५१ को चुनाव बहिष्कार लगायतका आन्दोलनहरुमा उहाँको सकृय सहभागीता थियो । २०५१ मा रसुवा जिल्लामा गिरिजाप्रसाद कोइरालालाई कालो झण्डा देखाउने क्रममा उहाँ गिरफ्तार पर्नुभयो । २०५१ फागुपूर्णिमाको दिन काँगे्रसी गुण्डाहरुले उहाँ र उहाँको श्रीमतीमाथि आक्रमण गर्दा उहाँले कडा प्रतिरोध गर्नुभएको थियो । २०५२ फागुन १ गतेदेखि शुरु भएको महान जनयुद्धमा उहाँको सक्रिय सहभागिता रहेको थियो ।
४०⁄५० को दशकमा रसुवा र नुवाकोट मात्र होइन नेपाली क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका एक होनहार योद्धाका रुपमा क. अर्जुन भण्डारीलाई लिन सकिन्छ । उहाँले देखाउनु भएको वर्गसंघर्षको वाटो, राजनीतिक आन्दोलन र माक्र्सवादीे शिक्षाले आज रसुवा र नुवाकोटका हजारौं युवाहरु कम्युनिष्ट पार्टीमा संगठित हुन पुगेका छन । राष्ट्रिय रुपमै पनि त्यस अबधीका हजाररौं विद्यार्थिहरु र शिक्षकहरु कम्युनिष्ट आन्दोलनमा लामवद्ध भएका छन । क. अर्जुन बहादुर भण्डारी रसुवा र नुवाकोटको कम्युनिष्ट पार्टीलाई जनतासम्म पु¥याउने योग्य र कुशल नेतृत्वको रुपमा हामीसामु स्थापित हुनुहुन्छ ।
निरंकुश पञ्चायती व्यवस्थाको विरुद्धको संघर्ष, जनयुद्ध र जनयुद्धका पछीका दिनहरुमा नसाको नियमीत औषधी सेवन गरेर पनि पार्टी र कम्युनिष्ट आन्दोलनप्रति अगाध लगाव राख्नुहुने क. अर्जुन बहादुर भण्डारीले अध्यक्ष क. प्रचण्डलाई आफ्नो आदर्श तथा प्रेरणा पात्रको रुपमा र उहाँप्रति उच्च सम्मान र विश्वास गर्नुहुन्थ्यो । क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण गर्न चौम – मशाल – एकताकेन्द्र हुँदै माओवादी बनाउने सवालमा सधैं अध्यक्ष क. प्रचण्डको सही विचारलाई अविचलित रुपमा साथ दिनुहुने क. अर्जुन बहादुर भण्डारी पछिल्लो अवधिमा भने आफ्नो रोगका कारण सकृय सहभागी हुन सक्नु भएन ।
कुनै लाभको पद बिना मैनवत्तीझैं आफु जलेर रसुवा र नुवाकोटका जनतालाई मुक्तीको बाटो देखाउनुहुने क. अर्जुन बहादुर भण्डारी आज हामीसामु हुनुहुन्न तर उहाँ रसुवा र नुवाकोटको कम्युनिष्ट आन्दोलन र उत्पीडित वर्गमा सदा अमर रहनुहुनेछ । उहाँप्रति श्रद्धाञ्जली गर्नुको अर्थ उहाँको सम्मान मात्र होइन उहाँले देखाउनुभएको बाटो, उहाँको त्याग, तपस्या, शाहसको अनुसरण गर्दै उत्पीडित वर्गको मुक्तीको बाँकी काम पुरा गर्ने प्रतिवद्धता व्यक्त गर्नु हो ।
लालसलाम क. अर्जुन बहादुर भण्डारी ।









































