काठमाडौँ ।
नुवाकोटका दिवंगत वामपन्थी नेता पण्डितको कविता संग्रह कालापानी लोकार्पण भएको छ। शनिबार काठमाडौँमा पण्डितको कविता संग्रह कालापानी लोकार्पण गरिएको हो । नुवाकोटको कपिलेश्वरमा २००३ साउन ३० गते जन्मिनुभएका नेता पण्डितको २०७५ फागुन २१ गते निधन भएको हो । उहाँको मृत्युपछि गणेश पण्डित स्मृति केन्द्र दुप्चेश्वरले कवितासंग्रह कालापानी प्रकाशन गरेको हो ।
कालापानीमा उहाँका कविताहरू समावेश छन् । प्रा.डा रामप्रसाद ज्ञवालीले पण्डितका काम र कृतिहरूले समाजमा केही उज्यालो थपेको बताउँदै भन्नुभयो ‘उनका कविताहरू जनतालाई धोका दिने धोकेवाजविरुद्धका कविता हुन् ।’
सामाजिक कार्यमा सक्रिय पण्डित शिक्षक, समाजसेवी र राजनीतिज्ञ हुनुहुन्थ्यो । २०४८ देखि २०५१ सम्म नेकपा एमालेबाट प्रत्यक्ष निर्वाचित सांसद उहाँ विभिन्न राजनीतिक आन्दोलनमा संलग्न भएबापत विभिन्न समयअवधिमा १ वर्ष ७ महिना जेलसमेत पर्नुभएको थियो ।
उहाँका कालापानी (कविता संग्रह), फुटकर रचना, लेख र अन्तवार्ताहरु, ‘कम्युनिष्ट बारे परिचयात्मक टिप्पणी’ (२०२३ साल), अनुवादित कृति लगायत प्रकाशित छन् ।
कालापानी कविता संग्रहमा ६८ वटा कविताहरू समावेश छन् । लोकार्पण कार्यक्रममा नेपाली साहित्यका विभिन्न व्यक्तित्वहरूको सहभागिता थियो ।