काठमाडौं ।
एकता प्रकृया पूरा नहुँदै फुटको संघारमा पुगेको नेकपाभित्र गुटगत भेला बाक्लिएको छ । अध्यक्ष समेत प्रधानमन्त्री केपी ओलीले आफ्नो अडानबाट पछि नहटेपछि अर्का अध्यक्ष प्रचण्ड पक्षधरका नेताहरु छुट्टै छलफलमा छन् ।
यस्तै हिजो प्रधानमन्त्री ओलीले मन्त्रीहरुलाई बोलाएर आफु र राष्ट्रपतिविरुद्ध षडयन्त्र भएको ब्रिफिङ गरेपछि नेकपाभित्रको कलह झनै चर्किएको छ ।
प्रधानमन्त्रीले मन्त्रीहरुलाई प्रष्ट रुपमा तयार रहन भनेपछि दोस्रो तहका नेताहरु शिर्ष नेतालाई एकता नटुटाउन दबाब दिने रणनीतिमा छन् । पार्टीभित्रको विवाद मिलाउने भन्दै नेकपाको दोस्रो तहका नेताहरू स्थायी कमिटी बैठकदेखि दुई अध्यक्षबीच भएको वार्तासम्म उपस्थित देखिएका छन्। ओली र दाहालबीच शुक्रबार भएको वार्तामा पनि महासचिव बिष्णु पौडेल र स्थायी कमिटी जनार्दन शर्मा उपस्थित भएका थिए। तर नेकपाकै नेताहरूले सो उपस्थितिलाई दुई अध्यक्षको प्रतिनिधिको रूपमा अर्थ्याएका छन्। नेकपाभित्र विष्णु पौडेललाई ओलीपक्षका नेताका रूपमा चिनिन्छ भने जनार्दन शर्मा पूर्व-माओवादी नेता हुन्। निर्णायक वार्तामा सहभागि भएका नेता शर्माले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी नफुट्ने जिकिर गरेका छन् ।
यसैबीच दुई अध्यक्ष प्रचण्ड र ओलीबीच आज पनि छलफल हुँदैछ । हिजो साँझ मन्त्री र राज्यमन्त्रीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई समेत महाअभियोग लगाउने तयारी भइरहेको अभिव्यक्ति दिएपछि नेकपाको विवादले नयाँ मोड लिएको छ । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भने राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारी भनेर झुटो प्रचार गरिएको स्पष्ट पारेका छन् ।
दुई अध्यक्षबीच अधिकतम सहमतिको प्रयास गर्ने भन्दै दुई दिनका लागि स्थायी कमिटी बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । तर, हालसम्मका वार्ताले सहमतिको प्रयास असफल हुँदै गएपछि नेकपा विभाजनउन्मुख रहेको चर्चा चलिरहेको छ ।
Recent Comments