-निभा शाह
सरकार भन्छ
गणतन्त्रको दियो बाल
गणतन्त्र दियो बालें ।
तीन हजार बर्षदेखिलखेटि
दैँ लखेटिदैँ आएको नवराज
यसरी लखेटिदै लखेटिदै आयो कि
नवराजको एक हाँफले
गणतन्त्रको दियो निभ्यो ।
गणतन्त्रको दियो बाल्छु
नवराज हाँफिन्छ
गणतन्त्रको दियो निभ्छ
खोई सरकार
कसका लागि गणतन्त्र आयो ?
समाजवादको दियो बाल्छु
सुर्यबहादुर तामाङ
हाच्छिउँ गर्छ
समाजवादको दियो निभ्छ
खोई सरकार
कसका लागि समाजवाद आयो ?
दिदी गणतन्त्रको दियो बाल्न खोज्दै थिईन
दियोभरी
निर्मलाका आँखाबाट
तप-तप आँशु खसे
दियो बलेन
खोई सरकार
कसका लागि गणतन्त्र आयो ?
आमा गणतन्त्रको दियो बाल्न खोज्दै थिइन
परदेश गएको देश
यसरी रोयो कि
दियोभरी आँशु थियो
दियो बलेन
खोई सरकार
कसका लागि गणतन्त्र आयो ?
बजु गणतन्त्रको दियो बाल्न खोज्दै थिइन
रातो बाकसबाट आँशु
तप-तप
दियोभरी खस्यो
दियो बलेन
के यो सुनामीको संकेत हो ?