म अस्ताउन लागेको, डाँडामाथिको घाम हुँ । नेपालगञ्ज बस्छु । तामाङ हुँ । मातृभाषा जान्दिन, तामाङ रीतिथिति पनि जान्दिन । म जहाँ बस्छु त्यहाँ लामा पाउँदैन । ताम्बा पनि छैनन् । बाहुन ल्याएर विवाह र मृत्यु संस्कारका कार्यहरु गर्छौ हामी ।
मेरो पुर्ख्याैली थलो दोलखा जिल्लाको मकैबारी हो । मेरो बाजे सानै उमेरमा प्रवास (भारत) लाग्नु भएछ । हामी दार्जिलिङमै जन्मै, हुर्कियौं । उतैको हावापानी, रहनसहनसँग घुलमिल भयौं । शिक्षादिक्षा पनि उतै प्राप्त गरौं । बंगला भाषा जानेँ, उर्दु जानेँ, बरु अंग्रेजी जानेँ । तर, आफ्नो मातृभाषा र रीतिथिति जानिन । आफ्नो भाषाबारे अनविज्ञ हुँदा बडो दुःख लाग्छ, मन भारी हुन्छ ।
विद्यार्थीकालमै म राजनीतिमा लागेँ । राजनीतिमा लागेकै कारण कहिले बनारस, कहिले कलकत्ता त कहिले नेपाल । एक ठाउँमा बस्नै पाइएन । यो मेरो बाध्यता थियो । आफ्नो मातृभाषा र संस्कृति किक्ने मौका नै पाइएन । नेपाल आएपछि पनि नेपालगञ्ज जस्तो ठाउँमा बस्न पुगियो जहाँ तामाङसँग होइन मुसलमानहरुसँग नजिकिन पुगेँ । त्यसैले पनि आफ्नो मातृभाषा र संस्कृतिबाट अलगथलग भएँ ।
पाँच छ सालतिरको कुरा हो जतिबेला म जनमुक्ति सेनामा लागेर नेपालका गाउँवस्तिहरु घुमेँ र तामाङहरुलाई देखेँ । त्यतिबेला तामाङहरुको स्थिति ज्यादै दयनिय थियो । तामाङहरु मात्र होइन सारा नेपालीहरुका हालत खराब थिए । देशमा राणाहरुको हुकुमी शासन थियो ।
उनीहरुका विरुद्ध बोल्ने कुरा नै थिएन । नेपालका गाउँ, बस्तिहरुमा स्कुल खुलेकै थिएन । दार्जिलिङमा समेत हाइस्कुलसम्मको मात्र पढाइ हुन्थ्यो । त्यसभन्दा माथिको शिक्षा प्राप्त गर्न कलकत्ता, वनारस जानु पर्थ्यो । अहिले जसरी बोल्न पाइने कुरै थिएन । लुगाफाटा पनि अहिलेको जस्तो कहाँ लगाउन पाइन्थ्यो र ? त्यसैले राणा शासन फाल्नका लागि जनमुक्ति सेना गठन भयो, म पनि जनमुक्ति सेनामा लागेँ ।
जनमुक्ति सेनामा भूतपूर्व सैनिकहरु थिए । आम मानिसहरु पनि थिए । जनजातिहरु पनि धेरै थिए । माथि नै भनिसकेँ म जनमुक्ति सेनामा लाग्दा विद्यार्थी नै थिएँ । पूतपूर्व सैनिकहरुको काम जनमुक्ति सेनामा भर्ना भएकाहरुलाई सैन्य तालिम दिनु हुन्थ्यो । म त भूतपूर्व लाहुरे थिइन । मेरो काम के त ? पढेलेखेको थिएँ । त्यसैले होला मलाई जनमुक्ति सेनामा आएदेखि नै माइनुट लेख्ने, चिठ्ठी पत्र तयार गर्ने र अफिसियल काममा लगाई दियो ।
नेपालमा राणाहरुको २४ पल्टन थियो त्यतिबेला । सशस्त्र क्रान्ति भयो । जनमुक्ति सेनाले २४ पल्टनलाई पराजित गरेर राणाशासन फाल्यो, प्रजातन्त्रको आयो । क्रान्ति सफल भएपछि प्रजातन्त्रका लागि जीवन आहुती दिने सहिदहरुलाई बिर्सिदै गए । यो कुरा मैले मेरो पुस्तक ‘जनमुक्तिसेना : एउटा नलेखिएको इतिहास’मा पनि लेखेको छु । म लेख्ने मान्छे त होइन तर बाध्यताले पुस्तक लेखेँ । नलेखि नहुने भएर लेखेँ ।
भनिन्छ नि हनुमानजीले सीता लङ्कामा छ भनेर पत्ता लगाए फेटा त अरुले नै बाँधे । त्यस्तै भयो । क्रान्तिमा जीवन आहुती दिनेहरुको हिसाब भएन फाइदा अरु नै थिए ।
मैले अहिले मोटामोटी हेर्दाखेरी त्यस बेला क्रान्तिमा लागेर राणा शासनको विरुद्ध जीवन आहुती दिने २७ जना सहिदहरुलाई राज्यले बेवास्ता गरेका छन् । चरिकोट, मेलुङ र मागादेउराली भञ्ज्याङमा मुठभेड हुँदा १५/१६ जना तामाङहरु मरे । अहिले मोटर दुर्घाटनामा परी मरेकालाई सहिद घोषणा गरेर १० लाख दिने सरकारले मुलुक परिवर्तनका लागि ज्यान आहुती दिनेलाई सहिदसम्म घोषणा गर्न सकेनन् ।
क्रान्ति सम्पन्न भएको पनि ७० वर्ष पुग्न लाग्यो । कृष्णप्रसाद भट्टराईको नेतृत्वमा राजनीतिक पिडितको नाममा राहत बाडे । अहिलेसम्म राहतको नाममा सरकारी ढुकुटीबाट १६ करोड रुपैया खर्च गरिसकेका छन् ।
कृष्णप्रसाद भट्टराईसँग राजनीतिक पिडितको नाममा राहत वितरणको कुरालाई लिएर टक्कर पर्यो त्यतिबेला । त्यतीबेला उनीहरुले राजनीतिक पिडितको परिभाषा गर्यो- जो मान्छे पाँच वर्ष जेल बसे, पाँच वर्ष प्रवासमा बसे त्यो राजनीतिक पिडित भनेर । लडाईं त एकसय दिन मै समाप्त भयो । एकसय दिनमा काठमाडौं बाहेक सबैतिर क्रान्ति सकियो । अब जनमुक्ति सेना त पाँच वर्ष जेल बस्ने, पाँच वर्ष प्रवास बस्ने त कुरै आएन । उनीहरुले राहत रकम पाउनबाट बन्चित भयो । गिरिजा प्रसाद कोइराला हामी सँगैको हो उहाँलाई पनि मैले कति पटक भनेँ । १६ करोड बाँड्नु भनेर दिएको गर्दिएन भने उनले । म यसैको लागि लडिरहेको छु, अहिले यो उमेरमा पनि म यसैका लागि पटक पटक काठमाडौं धाइरहेको छु ।
तापाईहरुले प्रजापरिषद् नाम सुन्नु भएकै होला । प्रजापरिषद् नाम छ नि हो त्यो पार्टी अहिले अस्तित्वमा छ पनि छैन पनि । छ तर कोमामा जस्तो छ । नेपालमा प्रजातन्त्र आयो, देउवा प्रधानमन्त्री भए । मैले शेरबहादुर देउवालाई जनमुक्ति सेनामा सहादत प्राप्तहरुलाई राहत देउ भनेर भने देउवाले जनमुक्ति सेना भनेको बालठकरे हो भने । देउवा राणा शासनकालमा प्रधानमन्त्री हुन सक्थ्यो ? जसको ढाडमा चढेर प्रधानमन्त्री भयो उसैलाई बालठकरे भन्ने ? इतिहासलाई भुल्ने काम भएको छ ।
अस्ति भरखरै हेडक्वाटरमा नेपाल प्रहरी दिवस मनायो । नेपाल प्रहरीको अग्रज भनेको पनि जनमुक्ति सेना नै हो । जनमुक्ति सेना पछि रक्षादल बनायो त्यही रक्षादल पछि नेपाल प्रहरीमा परिणत भयो । नेपाल प्रहरीको जग बनाउने जनमुक्ति सेना हो । काँग्रेसले त जनमुक्ति सेनाको ज पनि उच्चारण गर्न मान्दैनन् । जनमुक्ति सेना बारे लेख्दा भोलुमका भोलुम लेख्नु पर्छ । तर, नेपाल पुलिसले आफ्नो इतिहासमा एक प्याराग्राफ लेख्न पनि कन्जुस्याँइ गर्छन् ।
(प्रजातन्त्र सेनानी श्यामकुमार तामाङले तामाङ साहित्यिक संस्था तामाङ डाजाङको नियमित ग्योइकाइ गेताङ (साहित्यीक गोष्ठी)मा राखेको मन्तव्यको अंश । तामाङ्गको यहि चैत ६ गते शनिबार राती ९० बर्षको उमेरमा निधन भयो । )