जानुका धमला
गणतन्त्रमा गुमनाम छ समुन्द्रको वलिदान । जसले गणतन्त्र प्राप्तीको लागि भौतिक शरिर अर्पण ग¥यो । त्यही योद्धाको योगदानले शासन व्यवस्था फेरियो । बयलगाढा चढेर अमेरिका पुगिँदैन् भन्नेहरु नै गणतन्त्रमा शासन गरिरहेका छन् । बिना लगानीमा मुनाफा पाएपछि त्यो योगदानको कदर, सम्झना गर्ने कुरा पनि भएन । यदि समुन्द्रजस्तै १७ हजारको रगत नबगेको हुन्थ्यो त बयलगाडाका नाइकेको यो तामझाम हुन्थ्यो न गणतन्त्र प्राप्तीको लागि परिवर्तनको नेतृत्व गरेको हुँ भनेर ब्याज खानेहरुको नै ।
वर्गीय आन्दोलन भनेर नारा लगाउनेहरुलाई त आजकाल तिम्रो वलिदान खासै अर्थ राख्दैन किनकी जो बेजोडले चिच्चाएर भनिरहेका छन्, मरेकाजति भाँडमा गयौ, हामी बाँचेका सिमित मान्छेले त्यही भाँडमा भासिएकाहरुको बलिदानको ब्याजमा मोज गर्नुछ । नातागोता र आफ्नो जीवनलाई स्वर्गरुपी बनाउनु छ । जनजीविकाको सवालसँग कुनै साइनो नै छैन उनीहरुलाई । हिजो जुन वर्गको लागि बलिदान भयो त्यो अहिले सम्झनलायक छैन । जो अथाह खुशीमा रगतको ब्याजमा चियर्स चुस्कीमा मस्त छन् ।
क्षणिक क्रान्तिकारी बन्ने कुरा महान हुँदोरहेछ अहिलेको परिवेसमा । निरन्तर क्रान्तिकारी बनिरहने कुरा असाध्य गाह्रो पक्ष । क्षणिक क्रान्तिकारीहरु आलिसान महलमा विराजमान हुँदा निरन्तर क्रान्तिकारी हुनेहरुको सपना, आघात, अपमान र तिरस्कारले बाँच्नु झन् ठुलो पीडा । परिवर्र्तनलाई आत्मसाथ गर्दै उर्जाशील जीवनलाई उत्सर्ग गर्ने योद्धाहरुको बलिदानीको यथार्थ हो यो । एउटा लक्का जवान युवा संसार बदल्ने सपना देखेर जब युद्धमा समाहित हुन्छ । उसले देखेका हजारौँ सपनाहरु उसको वलिदानसँगै विलिन भएको छन् आजकाल ।
कस्तो विडम्बना हिजो तिनीहरुले नै नेतृत्व गरेको आन्दोलनमा सहभागी भएका कारण सर्वहारावर्गको लागि सहिद बनेकाहरुका परिवारको आजको दयनीय अवस्था देख्दा मनभित्र पीडाभन्दा केही पनि अनुभुति गर्न सक्दिनँ म ।
आज साउन ८ गते, मेरा युद्ध सहकर्मी समुन्द्र मल्ल ठकुरी (क.अजित), ठाकुर गौतम (क.पुथ्वी), मित्र बहादुर तामाङ्घ (क.बिषम), अर्थात नेपाल आमाका होनहार सन्तानहरु बहुआयामिक प्रतिभाका धनी एवम् क्रान्तिकारी व्यक्तित्वको कायरतातापूर्वक हत्या गरिएको दिन ।

सहिद समुन्द्र मल्ल ठकुरी (क.अजित)
क.समुन्द्र तिमी जनताको असल सेवक थियौ नै, कुशल जनमुक्ति सेनाको कमाण्डर पनि । पार्टी र क्रान्तिले दिएको जिम्मेवारीलाई बहन गर्ने क्रममा तिमी त्यही बेला कहिल्यै नउठ्ने गरी विलायौ जुनसमय माओवादी पार्टीको ढाडमा टेकेर टाउकोमा हान्ने योजनालाई सफल बनाउँदै गर्दा नुवाकोट जिल्लाको साविकको गणेशस्थान गाविस हालको सुर्यगढी गाउँपालिकाको डडुवापाटीमा रातभरी बैरीको किल्ला ध्वस्त पारेर सर्वहारा वर्गको राज्य स्थापना गर्नको लागि क्रान्तिले सुम्पिएको जिम्मेवारीलाई बहन गर्दैगर्दा बिहान उज्यालो भएको पत्तै भएन तिमीलाई । उषाको किरण पृथ्वीमा छाउने तरखर गर्दैगर्दा सेल्टरमा सुत्न गएका थियौ । गाउँमा सुराकीको विगविगी थियो, उनीहरुले तिमीलगायतको साथीहरु त्यो घरमा सेल्टर लिएर बसेको कुरा दुश्मनको अड्डामा पु¥याए कायर दुश्मन आफ्नो ठुलो दलबलसहित तिमी बसेको घरलाई घेरा हाल्यो र दुश्मनहरु सरासर तिमी भएको ठाउँमा गए, बन्दुक ताकेर तिमीहरुलाई भुइँ तलामा झारे, क.पुथ्वी र क. विषमलाई घरभित्र गोली हानेर मारियो । तिमी भने उनीहरुसँग कुस्ती खेल्दै उनीहरुलाई पछार्दै आँगनसम्म आइपुग्यौ । आँगनमा घमासान लडाइँ भयो एकछिन, तिमी हतियारविहिन थियौँ उनीहरु सशस्त्र थिए, त्यहिबेला उनीहरुले तिम्रो हत्या गरे । वर्गमुक्तिको खातिर तिमी त्यही दिन सहिद भयौ । इतिहासले दिएको जिम्मेवारी पुरा ग¥यौ । वर्गमुक्तिको खातिर आफुलाई बलिबेदीमा चढायौ । सहिदको कोटामा आफ्नो नाम लेख्यौ ।
तिम्रो वियोगमा सारा बस्ती रोयो । आमाको काख रित्तियो । तिम्रो बाबाको समाउने लौरो भाँचियो तिम्रा साना भाइबैनीले अभिभावक गुमाए । तिम्रो सहादतले तिम्रो साना कलिला उमेरका भाइबैनीमा प्रतिरोधको भाव पलायो । तिम्रो वलिदानको बदला लिन कलिलो उमेरमा उनीहरु घर छोड्न बाध्य हुनुप¥यो ।
प्रियमनहरु हिजोको विषम परिस्थितिमा प्रतिकार समिति बनाएर टाउकाको मुल्य तोक्नेहरु आज बडेमानको क्रान्तिकारी भएका छन् । अमुक नेताको आशिर्वादमा । यस्तै–यस्तै भएको छ, तिमीहरुको वलिदानीमाथिको खेलवाड जो हिजो आफूलाई परिवर्तनको नेतृत्व गरेको नेता हुँ भन्न रुचाउँछन् ।
साँच्चै परिवर्तन त यसरी भयो कि, यो कल्पनै गर्न नसक्ने गरी भयो । तिम्रो वलिदानको मुल्यमान्यताविपरित भयो । अझ भनौँ लुटेरागुण्डाको नाइके दलाल र घुसखोरीहरुलाई मात्रै आएको छ देशमा गणतन्त्र । सर्वसाधारण जनताको अवस्था झन् कष्टकर बनेको छ । यही विडम्बनामा बाँचिरहेका छौ । हामी बाँचेकाहरु पलपल ।
राजनीतिक, संगठनात्मक आदि क्षेत्रबाट देश, जनता, पार्टी र क्रान्तिको लागि आफूलाई समर्पित गर्नेक्रममा तिमीजस्तै सयौँ हाँसीहाँसी वलिदानीको शुलीमा चढ्यौ र अजर–अमर बन्यौ । तर म भने रोइरोइ गुमनाम भइ बाँचेको छु । त्यही आभास हुन्छ आजकाल मलाई ।
स्मरणीय छ कि, ती महान योद्धाहरुको रगत–पसिना बगाएर बनाएको, एकताबद्ध गरेको र चलाएको माओवादी पार्टी र आन्दोलन आज चिरैचिरा परेको छ ती विरयोद्धाहरुलाई सम्झना र श्रद्धा गर्दा पनि छोइछिटो लाग्ला भनेझैँ हुन थालेको राजनैतिक अवस्था हो आजकालको राजनिति चरित्र ।
यसरी आज क्रान्ति र क्रान्तिकारी विचार र व्यक्तित्वको मात्र होइन, देश र जनताको अवस्था र व्यवस्थासमेत अत्यन्त भताभुङ्ग र भयावह एवम् दयनीय र दुःखमय भएको छ । कमसेकम यो भय र दुःखको अनुभूति अनि यो पीडा र छट्पटीको भुक्तमान त तिमीहरुले महशुष गर्नुपरेन ।
अनुभूति हुन्छ तिमीहरु भौतिकरुपमा बाँचेको भए यो परिस्थितिलाई फेर्न केही खबरदारी गर्न सक्नुहुन्थ्यो वा यो अवस्थाका विरुद्ध कम्तिमा आगो ओकल्नु हुन्थ्यो होला । तैपनि यो प्रश्न र खतरालाई पनि नजर अन्दाज गर्न सकिन्न कि, आज तपाईहरु भन्दा बलिया र ठुला खम्बाहरु हल्लिरहेको, गलिरहेको र ढलिरहेको सन्दर्भमा यिनकै तप्कनिमुनि तिमीहरुको पनि के कति प्रगति र उन्नति हुन्थ्यो होला र ? स्वार्थसँग दुनियाँको केही नलाग्दोरहेछ । हामी बाँचेका इमान्दार पल्टिएकाहरु भुक्तमान छौँ ।
नुवाकोटको समुन्द्रटारमा रहेको नूरबहादुर थापाको घर र सम्पती कब्जापछि साँच्चै आरुखर्क सबैको तारोमा परेको थियो । स्थानीय जाली फटाहहरुको, राज्य पक्षको, विद्रोही पक्षको पनि । यही राप र तापको बीचमा भेटघाट थियो तिमीसँग सायद मेरो । अहिले पनि सम्झना छ, हुलका हुल आउने माओवादीका नेता कार्यकर्तालाई खाना बनाएर दिन फुर्सद पनि थिएन आमालाई त्यो बेला । खाना पकाएर दिन फुर्सद नमिल्ने आमालाई आजको अवस्थामा कति जना बाँचेकाहरुले सम्झना गर्दाहुन् ? त्यो घरमा खाना खाने नेता कार्यकर्ता झण्डावाल गाडि फरफराउँदै घरै छेउबाट धुलो उडाउँदै जाँदा आमाको मन कस्तो हुँदो हो ? कसले बुझ्छ युद्धमा सन्तान गुमाएका आमाहरुको पिडा ?
तिमी घरको जेठो सन्तान थियौ, भाइबैनी सानै थिए । आमाबाबाको आशाको केन्द्र तिमी नै थियौ । अब छोरा ठुलो भयो हाम्रो पनि सुखको दिन आउला भने, तर बाबाआमाले आफुले पाएको दुःखभन्दा पनि समग्रमा देशले पाएको दुखलाई आत्मसाथ गरेर तिमीलाई वर्गीय युद्धमा जान अनुमति दिनुभयो ती महान बाबा आमा प्रति हार्दिक नमन ।
संकटकालमा थप्रेक आरुखर्क कुलुकुलेले निकै ठुलो दुःख कष्ट भोगेको छ । अझ भनौँ यहाँको प्रत्येक जनताको राज्य पक्षबाट होस् वा विद्रोही पक्षबाट निकै ठुलो दुःख र सास्ती भोगेका छन् । हत्याहिंसा आतंक लुटपाट आदि इत्यादि त्यो दुःख कष्टकर दिनको एक साक्षी म पनि हुँ । जनयुद्धको रोल्पा थियो एक समय थप्रेक र आरुर्खक र कुलकुलेका गाँउहरु । युद्धको समयमा नेताहरुलार्ई मस्त निदाउनको लागि जनताहरु रातभरी पालैपालो दुश्मन आउने गौडाहरुमा जागराम बस्थे थप्रेक र आरुखर्क कुलकुलेमा । जनयुद्धका बेलामा अर्को थवाङ थियो आरुखर्क नुवाकोटको । नुवाकोटको वर्गसंघर्र्ष माथि उठ्नुमा यो भुगोलका जनताको ठुलो योगदान छ । जनयुद्धको लागि कार्यकर्ता उत्पादन गर्ने विशेष थलो थियो– थप्रेक आरुखर्क ।
यही आरुखर्कमा जन्मिएको कर्मठ योद्धा हो समुन्द्र मल्ल ठकुरी (क.अजित) । नामजस्तै थियो उसको स्वभाव पनि सबैसँग मिल्नसक्ने जनताको पीरमर्कामा सहयोगी भूमिका निर्वाह गर्ने । एउटा कम्युनिष्ट कार्यकर्तामा हुनुपर्ने गुण थियो उसमा ।
त्यही आँधीका दिनहरु पार गरेर यो अवस्थामा आइपुग्दा लाग्छ, साँच्चै इमान्दारहरुको अस्तित्व चाँडै नै समाप्त हुनेरहेछ । उनको अस्तित्व छैन आजको नेपालको राजनितिक वृतमा वा उसको बलिदानीबाट स्थापना भएको गणतन्त्रमा । उनीहरुको बलिदानको अवमुल्यन त हिजो क्रान्तिको नेतृत्व गरेको भनिनेहरुबाट नै भएको छ यो कुरा निःसन्देश भन्छु ।
समुन्द्रहरुको वलिदान त मात्रै उनिहरुलाई फापेको छ, जो सत्ताको वरिपरि हरियो माखा बनेर भन्किरहेका छन् । त्यत्रो त्याग, वलिदानबाट आएका नेताहरुलाई आजकाल वलिदानसँगको कुनै साइनो नहुनुले बुझिन्छ कि युद्ध भ्रमको खेती सिर्जना गरेर लुट्नु मात्र्र थियो वा देश दोहन गर्नु ? वलिदानको परिपरि उनीहरुलाई चक्कर लाग्छ आजकाल जसको वर्गउत्थान भैसक्यो ।
आमाको भर्खर काख रित्तिएको छ, बाबा छोराको लास हेरेर आँखाभरी उसलाई खाडलमा पुर्दै गरेको तस्वीर यादहरु लिएर फर्कनुभयो । तिमी एक मार उ हजार हुनेछ भन्ने सोचका साथ फेरि पनि ती साना छोराछोरीलाई वर्गमुक्तिको खातिर जनयुद्धमा पठाउनुभयो ।
यो घरबाट वर्गमुक्तिको खातिर भएको त्याग, वलिदान र समर्पणलाई सम्मान गर्ने कसले हो ? यो समयमा यी र यस्ता आमाबाबा त सम्माननीय भएर बस्नुपर्ने होइन र यो समाज र व्यवस्थामा ? विडम्बना परिवर्तनको खातिर वलिदान गर्ने प्रत्येक सदस्यहरुको घरको अवस्था पनि देखेको छु । हिजो वलिदान, त्याग, समर्पण गर्नेहरुको इज्जत छैन । चाकडी र पैसावालाको बलोवाला छ यहाँ । गणतन्त्रको लागि युद्धको नेतृत्व गरेकाहरु हुन् वा गणतन्त्रको लागि शुन्य योगदान भएको मानिसहरुले चलाएको राज्यमा गणतन्त्र गरिब दुःखी जनताको न्याय र समानताका कुरा गर्नु त उल्का र उल्का पिण्ड खसेर समाउनु जस्तै त हो नी होइन ? गणतन्त्र पनि उनीहरुलाई नै फाप्छ, जसले बिनालगानी राजठाँटका साथ आफ्नो र आफ्नाहरुको जीवन व्यतित गराइरहेका छन् । जबसम्म यो व्यवस्थाको समुल परिवर्तन हुँदैन, तबसम्म वलिदानको औचित्य पनि समाप्त नै हुनेछ । वर्गमुक्तिको खातिर आफ्नो भौतिक शरिर बलिदान गर्नुहुने आदरणीय सहिद समुन्द्र मल्ल ठकुरी, ठाकुर गौतम, मित्रबहादुर तामाङ्घ लगायत महान सहिदहरुमा उच्च सम्मानसहित भावपुर्ण हार्दिक श्रद्धाञ्जली ! अमिट सम्झना ।




















































