काठमाडौँ ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी छन् ।
ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार घटनामा एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ । प्रहरी सहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो ।
कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस)को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरुले प्रदर्शन गरेका थिए । त्यसक्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । त्यसपछि अनियन्त्रित भएको भिडमा प्रहरीको गोली चलेको थियो । केही राउण्ड अश्रुग्यास प्रहार र हवाइ फायर समेत भएको थियो ।