काठमाडौँ, ३० भदौ ।
पब्लिक स्पिच नेपाल २०८१ मा दैलेखका दिल बहादुर भण्डारी विजेता बन्नुभएको छ । काठमाडौँमा सम्पन्न पब्लिक स्पिच नेपाल २०८१ को फाइनल राउण्डबाट भण्डारी विजेता बन्नुभएको हो । प्रतियोगितामा धरानकी सुशिला धमाला द्धितिय, कपिलवस्तुकी गंगा घिमिरे तृतीय हुन सफल हुनुभएको छ । विजेतालाई प्रतिनिधिसभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा, निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदी, ह्याण्डिक्याप इण्टरनेसनलका राष्ट्रिय संयोजक विरेन्द्र ठगुन्ना, द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे, सामाजिक अगुवा शान्तलाल मुल्मि लगायतले पुरस्कार प्रदान गर्नुभयो ।
प्रथम, द्धितिय, तृतिय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी सकारात्मक सोचका बारेमा सर्वोत्कृष्ट हुन सफल बाँकेकी करुणा खनाललाई कर्ण सकारात्मक कोषका संयोजक प्रविण शाक्यले पुरस्कार प्रदान गर्नुभयो । उहाँलाई २५ हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो ।
यसैगरी इसेवाका माध्यमबाट सर्वोत्कृष्ट मत प्राप्त गर्दै दाङका जय पृथ्वी बुढाथोकीले पब्लिक च्वाइस अवार्ड प्राप्त गर्नुभयो । उहाँलाई २० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य माननीय डाक्टर धवल शमशेर राणा, निर्णायक समिति संयोजक राष्ट्रिय सूचना आयोगका पूर्ब प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटा, निर्णायक मदन पुरस्कार बिजेता चर्चित साहित्यकार डाक्टर नवराज लम्साल, गैर सरकारी संस्था महासंघ नेपालका केन्द्रीय अध्यक्ष राम प्रसाद सुबेदी र द आर्ट अफ लिभिङका बरिष्ठ प्रशिक्षक कञ्चन घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो ।
बास नेपालका केन्द्रीय अध्यक्ष लुना बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको सञ्चालन बास नेपाल काठमाडौँ शाखा अध्यक्ष शकुन्तला शाहले गर्नुभएको थियो ।
युवाहरुको बक्तृत्वकला क्षमता अभिवृद्धि गर्ने, युवाहरुको वाक् क्षमता प्रष्फुटन गर्न उत्प्रेरित गर्ने, सार्वजनिक भाषणकलाका च्याम्पियनलाई प्रोत्साहित गर्ने लगायतका उद्धेश्यले बास नेपाल नामक गैरसरकारी संस्थाले राष्ट्रव्यापी प्रतियोगिता आयोजना गरेको हो ।
प्रतियोगिता तिन चरणमा भएको हो । पहिलो चरणमा २०० बढी आवेदकबाट अडिसन राउण्ड हुँदै एक सय तीन जना सेमिफाइनल राउण्डमा पुगेका थिए । सेमिफाइनलबाट १६ जना प्रतियोगि फाइनल राउण्डमा प्रवेश गरेका थिए ।
प्रतियोगितामा पूर्व अर्थसचिव कृष्णहरि बास्कोटाको संयोजकत्वमा भ्रष्टाचार विरुद्धका अभियन्ता केदार खड्का, मदन पुरस्कार विजेता साहित्यकार, डाक्टर नवराज लम्साल, नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक अनिता बिन्दु र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव निरा अधिकारी सदस्य रहेको निर्णायक समिति तोकिएको थियो ।