काठमाडौं ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य अनिल शर्मा ‘विरही’ को बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले जेठ ५ गतेका लागि पेसी तोकेको छ ।
अविरल शर्मा निवेदक रहेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले शुक्रबार गरेको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्ने आधार र कारण भए सोसमेत साथै राखी मिति २०७७ जेठ ५ गते दिनको १० बजेभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जबाफ पेस गर्नु भनी यो आदेश र निवेदनको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाममा म्याद सूचना पठाई मिति २०७७ जेठ ५ पेसी तोकी नियमानुसार पेस गर्नुहोला ।’
रिटमा निवेदक अविरल शर्माले जिल्ला प्रहरी कार्यालय चितवनलाई समेत विपक्षी बनाएका थिए । रिट निवेदकका पक्षमा वरिष्ठ अधिवक्ता एकराज भण्डारी, अधिवक्ताहरू सन्तोष भण्डारी, चिरञ्जीवी ढकाल र लक्ष्मी (नानी) थापाले बहस गरेका थिए ।
विरहीलाई प्रहरीले गत वैशाख २३ गते मङ्गलबार उपचारका लागि अस्पताल पुगेको समयमा चितवनस्थित पुरानो मेडिकल कलेजबाटै गिरफ्तार गरेको थियो ।
आदेशमा फरक विचार र आस्था राखेकै कारणबाट बिना आधार र कारण थुनामा राखिएको कानुन सम्मत नभएको उल्लेख छ ।