काठमाडौँ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आगामी बजेटमा राख्नुपर्ने आमसञ्चारका विषयबारे सुझाव लिएको छ । पत्रकार बुद्धिजीवी र पत्रकारितासँग सम्बन्धित सरोकारवालासँग मन्त्रालयले बुधबार काठमाडौँमा कार्यक्रम गरी सुझाव लिएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संकलित सुझावका आधारमा बलियो र प्रभावकारी नीति बनाइने उल्लेख गर्नुभयो । मन्त्री शर्माले आगामी नीति कार्यक्रम तथा बजेटमा आमसञ्चार क्षेत्रको भावना र धाराणा समेट्नैपर्ने जरुरी भएकाले सुझाव संकलन गरिएको बताउनुभयो । आमसञ्चारले समाजको अवधारणा निर्माण गर्न अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । कार्यक्रममा सहभागी अधिकांशले मौखिक सुझाव दिएका छन् । मन्त्रालयले विस्तृत रुपमा लिखित सुझावसमेत मागेको छ ।
“आमसञ्चारलाई नीतिगतस्तरमा बलियो बनाउन लिखित सुझाव दिनसक्नुहुन्छ,” मन्त्री शर्माले भन्नुभयो–“तपाईहरुको सुझावले नीति बनाउन मार्गनिर्देश गर्ने छ ।”
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारको स्वास्थ्य बीमा, स्वास्थ्यमा पत्रकारलाई निश्चित शुल्क छुटको व्यवस्था, समानुपातिक विज्ञापन विरतण, तालिम र वृत्तिविकासका लागि मन्त्रालयले बजेटमा निश्चित रकम तोकेरै खुलाउनुपर्ने सुझाव दिनुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आम सञ्चारले उठान गर्दैआएका विषयमाथि छलफल गर्न र अनुगमन सरकारबाट गर्नु जरुरी रहेको बताउनुभयो ।
नेपाल टेलिभिजिनका महाप्रबन्धक फुलमान बलले नेपाल टेलिभिजनको पहुँच विस्तार गर्ने कुरामा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षहरु किशोर नेपाल, शिव गाउँले र महेन्द्र विष्टले आमसञ्चार प्रतिष्ठान नीति समय सापेक्ष बनाउने विषयमा जोड दिनुभयो ।