गण्डकी ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल मंगलबार दिनभर नवलपुरको बुलिङटार गाउँपालिका बासिन्दाको गुनासो सुन्न व्यस्त रहनुभयो । कालीगण्डकीको किनारमा रहे पनि विकासमा निकै पछि परेको बुलिङटारमा कतिपय गाउँमा अहिले पनि बिजुली पुगेको छैन । खानेपानी र सिँचाइको पनि उस्तै समस्या छ । सदरमुकाम कावासोती पुग्न पनि निकै कष्ट झेल्नुपर्छ ।
मुख्यमन्त्री पोखरेल मंगलबार बुलिङटारका ५ वटा कार्यक्रममा सहभागी हुनुभयो । बिहान विपी स्मृति भवन शिलान्यास गरेर उहाँ बुलिङटार गाउँपालिकामा ३ चन्टारमा आयोजित १४ औं राष्ट्रिपति रनिङ सिल्ड छनोप्रतियोगिता उद्घाटन, त्रिभुवन माविका संस्थापक दामोदर बस्ताकोटीको शालिक अनावरण, ११२ औं अन्तर्राष्ट्रिय महिला दिवशको संयुक्त कार्यक्रममा सहभागी हुनुभयो । मुख्यमन्त्रीले बुलिङटार गाउँपालिका वडा नम्बर १ को वडा कार्यालय पनि मंगलबारै उद्घाटन गर्नुभयो ।
मुख्यमन्त्री पोखरेलले गण्डकी सरकार नवलपुरको पहाडी भेगको विकासका लागि प्रतिबद्ध रहेको भनाइ राख्नुभयो । कालीगण्डकी करिडोरको निर्माण धमाधम भइरहेको र अब दक्षिणी भेग जोड्ने सडकको निर्माण पनि सुरु भइसकेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘विगतमा के भए छाडिदिनुस्, अब नवलपुरको पहाडी भेगमा विकासको मुल फुटेको छ, तपाईंहरु ढुक्क हुनुहोस ।’
बिजुली नपुगेका बुलिङटारका गाउँमा विद्युतीकरणका लागि ठेक्का लागिसकेको भन्दै उहाँले केही महिनामा सबै घरमा केन्द्रीय प्रशारणको बिजुली बल्ने ठोकुवा गर्नुभयो । कालीगण्डकीको पानी प्रयोग गरेर बुलिङटारको फाँटमा अब छिटै नै सिँचाइ सुविधा पु¥याइने उहाँले बताउनुभयो ।
बुलिङटार मात्र नभइ नवलपुरको पहाडी भेगको भौतिक पूर्वाधार विकास र शैक्षिक, राजनीतिक एवं सामाजिक क्षेत्रमा दामोदर बस्ताकोटीको योगदान अतुलनीय रहेको भनाइ मुख्यमन्त्रीको थियो ।
अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा उहाँले नेपालको संविधानले महिला हकका बारेमा धेरै विषय उल्लेख गरे पनि अब ती प्रावधानलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाली काङ्ग्रेस गण्डकीका महासचिव विष्णुप्रसाद लामिछाने, कांग्रेस नवलपुरका नवनिर्वाचित सभापति महेन्द्रध्वज जिसी, प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक ओमकला गौतमले शुभकामना व्यक्त गर्नुभयो ।
उक्त अवसरमा जिल्ला समन्वय समिति संयोजक चेसराम आलेले प्रसस्त सम्भावना भएर पनि बुलिङटार विकासमा पछि परेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । भारतीय दूतावासले निर्माण गरिदिएको भवनको केही रकम ठेकेदारलाई दिन बाँकी रहेको भन्दै यसका लागि पनि छिटै निकास निकाल्न उहाँले आग्रह गर्नुभयो । बुलिङटार गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले गएको बर्खामा बुलिङटार र जरायोटार सिँचाइ आयोजनामा क्षति पुगेको र तुरुन्त मर्मत नगरे बर्खे खेती गर्न सक्ने अवस्था नरहेको भन्दै ध्यानाकर्षण गराउनुभयो । बुलिङटार महिला सञ्जालका अध्यक्ष सुनिता विकले मुलुकमा राजनीतिक परिवर्तन भए पनि महिलामाथि हुने हिंसा झनै बढेको गुनासो गर्नुभयो ।
त्रिभुवन माविका प्रधानाध्यापक शम्भु बस्ताकोटीले धेरै चुनौती झेल्दै विद्यालय यो अवस्थामा आएको बताउनुभयो । मुख्यमन्त्री पोखरेलले मंगलबार न बुलिङटार गाउँपालिकामा विपी स्मृति भवन शिलान्यास गर्नुभएको छ । स्थानीय रुकादेवी गौतम परिवारले प्रदान गरेको ४ आना जग्गामा प्रदेश सरकारको लगानीमा उक्त भवन बन्न लागेको हो ।