पर्यटकीय गन्तव्य लाङटाङ क्षेत्रमा चहलपहल बढ्न थालेको छ । कोरोनाका कारण लामो समय सुनसान यस क्षेत्रमा पाहुनाको आगमन सुरु भएको छ ।
पछिल्लो समय फाट्टफुट्टरूपले आन्तरिक एवं वाह्य पर्यटकको आगमन हुन थालेकोले चहलपहल बढ्ने सङ्केत देखिएको हो । सफा मौसम र राजधानीबाट नजिकै रसुवाको लाङटाङ पदमार्गमा अहिले विस्तारै पर्यटकहरु आउन थालेको स्थानीयले बताए ।
रसुवाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका सबै बिद्यालय सञ्चालनमा ल्याएपछि मानिसको मनोबल बढ्न गई पर्यटकको समेत आगमन हुन थालेको पर्यटन व्यवसायीले बताएका छन् ।
यस क्षेत्रमा रहेका सयौँ होटल तथा लज पुनः सञ्चालनमा आइसकेका छन् । पवित्र तीर्थ एवं पर्यटकीयस्थल गोसाइँकुण्ड जाने यात्रु पनि फाट्टफुट्टरूपमा ओहरदोहर गर्न थालेका छन् ।
गत वर्षको यसै अवधिमा भने १४ हजार ९३३ पर्यटक आएको अभिलेखबाट देखिँदा कोरोनाको असरले पर्यटकको आगमन सङ्ख्या यस वर्षको पाँच महिनामा ९३ प्रतिशतले कमी भएको लाङटाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।
कोभिड–१९ रोग पत्ता लगाउन नियमितरूपले स्वाब सङ्कलन तथा परीक्षण गराउने काम स्थगन भएपछि समुदायमा भइरहेको डर, त्रास क्रमशः हट्दै गएको छ ।