नुवाकोट ।
वामपन्थी नेता स्व. गणेश पण्डितको स्मृतिमा गणेश पण्डित स्मृति केन्द्र स्थापना भएको छ । केन्द्रले आज पत्रकार सम्मेलन गरी संस्थाको औपचारिक जानकारी र कार्यक्रमबारे जानकारी दिएको हो । नुवाकोटको विदुरमा भएको पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्ष कुमार पण्डितले केन्द्र स्थापनाको औचित्य र आगामी कार्यक्रमबारे जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता भएको केन्द्रले सहिद र बेपत्ताका पक्षमा उनीहरुको सपना पूरा गर्ने गरी कार्यक्रमहरु गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष पण्डितले केन्द्रले वर्गीय, लैङ्गिक, क्षेत्रगत, भाषिक र जातीय उत्पीडनको विरुद्धमा चेतनामूलक अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो । बेपत्ता र द्वन्द्वपीडितका परिवारको आवाजलाई सम्मान गर्न र उनीहरुको जायज माग पूरा गराउन बहस सञ्चालन गर्ने केन्द्रको उद्देश्य रहेको पत्रकार सम्मेलनमा प्रष्ट पारिएको थियो । हिंसा, विभेद, आर्थिक शोषणका विरुद्ध केन्द्रले कार्य गर्ने बताइएको छ ।
स्वर्गीय गणेश पण्डित नुवाकोटको वाम आन्दोलनमा अग्रणी नेतृत्वकर्ता मानिनुहुन्छ । वि.सं. २०४८ सालमा सांसदसमेत बन्नुभएका नेता पण्डितले मुलुकको शिक्षा, विकास र विभेद उन्मुलनको निम्ति महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । वि.सं. २००३ साउनमा नुवाकोटको शिखरबेसीमा जन्मनुभएका नेता पण्डितको हृदयघाटका कारण २०७६ साल फागुन २१ गते निधन भएको थियो ।
पण्डितको स्मृतिमा स्थापित केन्द्रको उपाध्यक्षमा बालकृष्ण आचार्य, सचिवमा नरहरि पण्डित, कोषाध्यक्षमा दिनेश पण्डित र सदस्यहरुमा शिबहादुर भण्डारी, इन्द्रबहादुर पण्डित, रामप्रसाद प्याकुरेल, दामोदर थापा, ध्रुवप्रसाद मिश्र, कमला महत, बन्दना पण्डित (थपलिया), कल्पना गौतम (पण्डित) तथा आस्था पण्डित रहनुभएको छ ।