करिब ५ करोडको हाराहारीमा सहयोग गरेँ । मेरो टिमका गीत गाउने भाइहरूलाई चैतको ६ गतेबाट विदा दिएँ, अरु प्राविधिक टोली, क्यामेरा मेनलगायत सबैलाई राखेर ल.. म त मर्न तयार भएँ, तिमीहरू तयार हो कि होइन ? भनें । त्यतिबेला कोरोना लागे त मर्छ भन्थे । मर्नलाई तयार भएकाहरू बस भनें, ६ जनाको टिम बसे । १६ गते पशुपतिमा रहेका गाईहरूको अवस्था नाजुक भयो । कुकुरले बाच्छा खान लागे । त्यहाँ कार्यक्रम चलाएँ । ९ लाख जति खर्च गरेँ । मंैले यसरी गर्न थालेपछि समस्यामा परेका जनता सम्पर्कमा आए । पहिलेदेखि नै यसैगरी सहयोग जुटाउने र दिने गरेका कारण यसैपनि मसँग सहयोग माग्नेहरू धेरै हुनुहुन्छ । लकडाउनमा कहीँ कोठाबाट निकालेको खबर आउँछ, हाम्रो टोली तुरुन्तै गएर सहयोग गर्छ । सहयोग माग्न आउने जनता अनुशासित नहुँदा कान समातेर उठबस गराएँ, लाइभमै । टिभीमा देखाएपछि मान्छेले घरभाडा छुट गरिदिन र सकेसम्म सहयोग दिन थाले, यो भनेको संस्कारको लडाइँ हो । म सहयोग दिन आफैँ खटिएँ । यो चार महिना मलाई खान, सुत्न समय मिलेन । अहिले पछिल्लो समय बन्द भएको दोहोरी सुरु गरेँ ।
लकडाउन हुनुअघि मृगौला र क्यान्सरपीडितलाई सहयोग गरेको थिएँ, लकडाउन सुरुभएपछि विशेष समस्यामा परेकाहरूलाई सहयोग गर्न थालें । यो बीचमा सातै प्रदेश पुगेको छु । विभिन्न ठाउँबाट जुटेको सहयोगले कति घरबारविहिनको घर बनेको छ । एक रुपैयाँ पनि रकम तलमाथि हुँदैन । आएको रकम कसले, कति दियो र त्यो सहयोग कसलाई दिइयो प्रष्ट सामाजिक सञ्जालमा भन्ने, टिभीमा देखाउने । इन्द्रेणीको ब्यानरमा गाडी लिएर हिँडें । प्रहरीहरूलाई पनि सहयोग गरेँ । विशेष पास केही आवश्यक परेन । लकडाउनको सुरुवातमा टिभीबाट लाइभ कार्यक्रम मात्र गरेँ । तर पाँचौं दिनपछि मर्नै लेखेको भए जसरी पनि मरिन्छ भन्ने ठानेर राहत उद्धारमा निस्कें । अरुभन्दा म पहिलेदेखि नै गरिरहेको, सहयोग मिल्ने, सजिलो पनि हुने भएर हात बाँधी बस्नु हुन्न भन्ने ठानें । विस्तारै अरु पनि सहयोगका लागि निस्कन थाले । लकडाउनको पहिलो राहत सहयोग भनेको जनावरलाई थियो । मान्छेलाई चामल, दाल दिने हुन्थे बरु जनावरहरू भोकभोकै मर्न थाले । बेलैमा सोचिएन भने हिंसा निम्तन्छ भनेर सहयोग गरेँ । त्यसपछि बिचल्ली परेकाहरूलाई घर पठाउनेबारे भ्याली डिआइजी विश्वराज पोखरेलसँग सल्लाह गरेँ । विभिन्न क्षेत्रका कामदार मजदुर काठमाडौंमा अलपत्र परेका थिए, उनीहरूलाई सरकारले ५ केजी चामल दिने भन्न थाल्यो । त्यो ५ केजीले केही पनि हुन्न । कसैको घरमा ग्यास सकिएको छ भने ५ केजी चामल दिएर के हुन्छ ? त्यसकारण मैले जसलाई आवश्यक छ, उसलाई प्रति परिवार ५ हजार दिने निर्णय गरेँ । उसले कम्तीमा खानेकुरा नभए कतैबाट किन्ने मेसो जुटाउँछ, ग्यास नभए ग्यास आउँछ । मैले मृगौला पीडितलाई १० हजार र लकडाउनमा आपतमा परेकालाई ५ हजार त्यसपछि ठाउँ ठाउँमा पुगेर लाइभमै बाँडें । त्यतिबेला राहत राम्ररी संकलन पनि भयो । पहिला पहिला सहयोग धेरैजसो विदेश रहेका नेपालीहरूबाट आउँथ्यो । पछिल्लो समय देशभित्रैबाट जुट्न थालेको छ । म कसैसँग माग्न जान्न । उहाँहरू आफै आउनुहुन्छ, बोलाउनुहुन्छ । अझै एकसय जनाभन्दा बढिसँग लिन बाँकी छ । म उहाँहरूले दिएको पैसा कुनै बैँक वा खातामा राख्दिनँ, सिधैँ हातमै लिने, हातमै दिने ।
लकडाउनको बेला डाक्टर प्रहरी पत्रकार व्यवसायी सबै पीडित छन् । जो समस्यामा छ, जसले टेलिभिजन सेटको अगाडि आएर मलाई पीडा पर्यो हजुर भन्छ त्यसलाई सहयोग गर्न कुनै मापदण्ड बनाइनँ । स्क्रिनको अगाडि त खास पीडित आउँछ । निकै जोखिम छ तर मैले घरमा श्रीमतीलाई तिमीलाई डर लाग्छ भने म घर नै आउन्न नत्र छोरालाई जोगाउँ, म बाहिर निस्कन्छु भनें । उनी मेरो कुरामा सहमत भइन् । र, सँगै काम गर्ने भाइहरू पनि तयार भए । गाउँगाउँ पुगेर कोरोना लागेकाको परिवारलाई, कोरोना लागेर मृत्यु भएकाका परिवारलाई राहत दिन जाने त मै मात्र होला जस्तो लाग्छ । सहयोग मात्र होइन, कोरोना लाग्दैमा गाउँबाट बहिस्कारजस्तो व्यवहार नगरौं, माया गरौं, नजिक जाँदैमा कोही बिरामी हुँदैन, सतर्क हुने तर हेला नगरौं भनेर सन्देश पनि बाँडें । आफू मास्क लगाउने, सेनिटाइजर लगाउने तर काममा खटिएँ ।
स्थानीय तह र पुलिस प्रशासनको सहयोग पनि राम्रो भयो मलाई । मन्त्री, सांसदहरू स्वयंले हाम्रो ठाउँमा समस्या छ, सहयोग गरिदिनुस् भने । मंैले कार्यक्रम गर्न थालेको १२ बर्ष भइसक्यो, त्यसैले होला अहिले पनि सजिलो भयो । लकडाउनमा सबैभन्दा राम्रो रोल्पा, रुकुमले गरे । जनार्दन शर्माले फसेका उताका मजदुर उतैबाट उद्धार गरेर गाउँ पुर्याए । काठमाडौंमा इट्टाभट्टा या अन्य क्षेत्रमा मजदुरी गरेकाहरू समस्यामा पर्दैनथे । कर्णाली क्षेत्रमा मात्रै करोड बढीको सहयोग वितरण गरेँ । मसँग काम गर्ने टिमका र विदामा बसेका, काम गरिरहेका सबैलाई नियमित तलव दिइरहेकै छु । यस्तो बेला कुनैपनि हालतमा तलव सुविधा रोकिएको छैन ।
(नोटः प्रेस काउन्सिल नेपालले प्रकाशित गरेको कोरोना कहरमा काउन्सिल बुलेटिनका लागि लक्ष्मी पौडेल र महेन्द्र सिंहले गरेको कुराकानीको सम्पादित अंश हामीले सोही पुस्तकबाट साभार गरेका हौँ ।)