काठमाडौँ ।
नेपालमा पूर्ण स्तनपान गराउने आमाहरूको दर घट्दै गइरहेको तथ्याङ्क पाइएको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्कअनुसार स्तनपान गराउने आमाहरूको संख्या घट्दो देखिन्छ ।
पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरू नै बढी रहेको परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख लिला विक्रम थापाले बताउनुभयो ।
तथ्याङ्कअनुसार औपचारिक शिक्षा नलिएका ५९ प्रतिशत आमाहरूले पूर्ण रूपमा स्तनपान गराएको पाइएको छ । यस्तै आधारभूत शिक्षा लिएका ६१ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गराएको तथ्याङ्कमा उल्लेख छ । यस्तै माध्यमिक शिक्षा लिएका ५३ प्रतिशत आमाले मात्र पूर्ण रूपमा स्तनपान गराएको तथ्याङ्क छ ।
१९९६ मा ७५ प्रतिशत आमाहरूले पूर्ण रूपमा स्तनपान गराएकोमा सन् २०२२ मा आइपुग्दा ५६ प्रतिशत आमाहरूले मात्र पूर्ण रूपमा स्तनपान गराउने गरेको पाइएको थापाले जानकारी दिनुभयो । यस्तै सन् २०२२ को तथ्याङ्क अनुसार शिशु जन्मेको १ घण्टा भित्रै स्तनपान गराउनेको संख्या ५५ प्रतिशत छ । शिशु जन्मेदेखि २ वर्षसम्म स्तनपानलाई निरन्तरता दिनेको संख्या ९४ प्रतिशत रहेको छ ।
पूर्ण स्तनपानको अवस्था सबैभन्दा बढी कर्णाली र सुदूरपश्चिममा ७४ प्रतिशत छ भने सबैभन्दा कम लुम्बिनीमा ३६ प्रतिशत रहेको छ । उक्त तथ्याङ्क अनुसार नेपालमा बोतल पान गराएका शिशुको संख्या २२ प्रतिशत रहेको छ भने प्रदेशगत रूपमा बागमतीमा सबैभन्दा बढी (४३ प्रतिशत) र कर्णालीमा सबैभन्दा कम (११ प्रतिशत) रहेको छ ।
नेपालमा ५ वर्ष मुनीका २५ प्रतिशत बालबालिकाहरू पुड्कोपन, ८ प्रतिशत ख्याउटेपन, १९ प्रतिशत कम तौल र ४३ प्रतिशत रक्त अल्पताबाट ग्रसित छन् । पूर्ण रूपमा स्तनपान गराउन सकेमा यस्ता समस्या कम हुँदै जाने थापाले बताउनुभयो । उनले आमाको दूधलाई प्रतिस्थापन गर्ने कुनै खानेकुरा नभएको बताए ।
आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु (बिक्री वितरण नियन्त्रण) ऐन, २०४९ र नियमावली, २०५१ का प्रावधानहरूको कार्यान्वयन गरी स्तनपानलाई संरक्षण र संवर्द्धन गर्ने कार्य भइरहेको उहाँको भनाइ छ ।