काठमाडौँ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दर्ता भएको शिक्षा विधेयकले उत्पीडित शिक्षक एवं विद्यालय कर्मचारीका सम्पूर्ण माग पूरा गर्ने बताउनुभएको छ । उहाँले संसदमा दर्ता भएको शिक्षा विधेयकलाई शिक्षकमैत्री बनाउन पहल गर्नेसमेत बताउनुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को बहुउद्देश्यीय भवनको शिलान्यास गर्दै प्रचण्डले शिक्षा विधेयकमार्फत् आफ्ना माग पूरा गराउन शिक्षकहरुको लागि अनुकुल अवसर प्राप्त भएको दाबी गर्नुभयो । संसदमा शिक्षा विधेयकमाथि छिट्टै छलफल सुरु हुन गइरहेको भन्दै उहाँले शिक्षकका पक्षमा विभिन्न संशोधन प्रस्ताव दर्ता भएको बताउनुभयो । शिक्षकका समस्या समाधानमा सरकार सकारात्मक रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले शिक्षकमा समस्या रहेसम्म शिक्षा सुधार नहुने भन्दै शिक्षकका समस्या समाधान गरी उनीहरुलाई पेसाप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिनुभयो । उत्पीडित शिक्षकका मागहरु पूरा गर्दै राज्यले शिक्षण पेसाप्रति आकर्षण र आत्मविश्वासको वातावरण सिर्जना गर्नुपर्ने उहाँको भनाइ थियो । यसैगरी माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व सभामुख अग्नीप्रसाद सापकोटाले शिक्षकका माग पुरा गर्दै राज्यले उनीहरुलाई शिक्षणसँगै खोज, अनुसन्धान र अविष्कारमा लगाउनुपर्ने बताउनुभयो । अध्ययन, खोज र सिकाइ जीवनपर्यन्त चलिरहने भन्दै सापकोटाले शिक्षकहरुलाई पनि शिक्षणसँगै अध्ययन र अनुसन्धानमा केन्द्रित हुन आग्रह गर्नुभयो ।
एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)का अध्यक्ष शंकर अधिकारीले संसदमा विद्यालय शिक्षा विधेयकमाथि छलफल सुरु हुन लागेकाले शिक्षकहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
संगठनको बहुउद्देश्यीय भवन शिलान्यास तथा केन्द्रीय समितिको विस्तारित बैठक एवं शिक्षक अभिमुखीकरण कार्यक्रममा काठमाडौं सिता पाइलामा निर्माण हुन लागेको संगठनको बहुउद्देस्यीय भवनको प्रधानमन्त्री प्रचण्डले औपचारिक शिलान्यास गर्नुभएको थियो । संगठनमा आवद्ध शिक्षकहरुबाट सहयोग संकलन गरी केहीसमय अघि संगठनले साढे दुई करोड रुपैयामा सितापाइलामा ५ आना जग्गा खरिद गरेको थियो । सोही जग्गामा अहिले बहुउद्देस्यीय भवन निर्माण गर्न लागिएको हो ।








































