काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको विवाद समाधानका लागि आज पनि विभिन्न प्रयास जारी छन् । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट, दोस्रो तहका नेताहरुद्धारा सहमतीको खाका निमार्ण, स्थायी कमिटीको बैठक लगायतको कार्यतालिका आजका लागि तय गरिएको छ ।
अध्यक्षद्धयबीच थप छलफलको आवश्यकता रहेको भन्दै आजका लागि सारिएको स्थायी कमिटी बैठक २४ गते बुधबारसम्मका लागि सारिएको छ । जारी विवादको अन्त्यका लागि खाका बनाउन दोस्रो तहका चार जना नेता हिजोदेखि नै विभिन्न चरणको छलफलमा छन् । महासचिव बिष्णु पौडेल, नेताहरु शंकर पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा प्रभाकरको समुहले नेतृत्वमा देखिएको विवाद अन्त्यका लागि खाका तयार गर्ने र उक्त खाकामा छलफल हुने बताइएको छ ।
अध्यक्ष प्रचण्डलगायत सचिवालय र स्थायी कमिटीका अधिकांस सदस्यले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई राजीनामा दिन दबाब दिएपछि नेकपाभित्रको विवाद चुलिएको हो । विवाद समाधानका लागि भएका पटक पटकका छलफलहरु निष्कर्षविहिन बन्दै आएका छन् । राजीनामा माग्ने र राजीनामा दिन हुन्न भन्ने पक्षका नेताहरु आ–आफ्नो अडानमा तलमाथि नहुँदा विवाद लम्बिदै गएको स्थायी कमिटी सदस्य हरिबोेल गजुरेलले बताए ।
गत असार १० गते सुरु भएको स्थायी कमिटी बैठकमा सरकारका कामको समिक्षा, कोरोना भाइरस रोकथाम, उपचार तथा नियन्त्रणको अवस्था, एमसीसी परियोजना र नागरिकता विधेयक संसोधनलगायतका बिषयमा छलफल गर्नेगरी एजेन्डा तय गरिएकोमा बैठक प्रधानमन्त्रीको राजीनामा दिने या नदिने भन्नेमा केन्द्रीत बनेको थियो । बैठकमा विवाद बढ्दै गएपछि शुक्रबार बैठक स्थगीत गरेर आजका लागि सारिएको थियो । तर आज पनि विवाद नसुल्झने भएपछि बुधबारसम्म स्थगीत गरिएको छ ।









































