मिना वाइवा
‘तिम्रो सम्झनामा कहिल्यै
ओभाएनन् मेरा नयनहरु’
रातो किताब झैँ लाग्ने तिम्रा
जीवनका प्रत्येक अध्यायहरु
पल्टाउँदै जादाँ
अठारौं बसन्तहरु ओझेलमा परिसकेछन्
तिमीले छरेका सौर्य र वीरताका वीउ
टुसा त पलाए तर ! अङ्गुराउन
पाए या पाएनन् ?
तिम्रो सन्ततीले तिम्रै
जीवनको विच्छेद पानाहरु
संकलन र उत्खनन् गर्दै
इतिहासमा नलेखिएका ताडपत्र
अवश्य खोज्ने छन् ।

शहीद श्रीजोम तामाङ
तिमीले सिकाएको जीवनका महत्वपूर्ण
आरोह र अवरोहको सामीप्यले
जीवन बाँच्न सिक्दै
सर्ग, उपसर्ग, प्रत्यय र अन्वय
गरेर जीवनका अर्थ बुझ्दै
इतिहासको रंगिन अक्षर भित्र
तिम्रो नाम खोज्दै
वर्तमानसंग अन्तरक्रिया र
बहसमा जुट्दै जाँदा
तिम्रो अभावको अनुभूति
भने अवश्य हुन्छ मलाई
तर ! तिम्रो आदर्श मेरो जीवनको
खुट्कीला चढ्ने प्रेरणा हो
भन्ने पनि मैले बिर्सेकी छैन ।
तिम्रो सम्झना गर्दै खाली पानामा
अक्षरका डुङ्गाहरु खियाउँदै गर्दा
पिडाको गहिरो तलाउमा
नभासिएको कहाँ हो र ?
तिम्रो सामीप्यको अभावमा मनहरु
नचोइटिएको पनि काहाँ हो र ?
भावनाको गहिराइ भित्रबाट
आदर्शको मार्ग तिर उक्लिदा
गतिवान र प्रवाहित जीवनका
झोक्काहरुसंग ठोकिदै
मानव मानसपटललाई स्पर्श गरी
तिमीले भरेका वीरताका अनेक रंगहरु
समाज रुपान्तरणको बलियो
अस्त्र प्रक्षेपण गर्दै
उठेको तिम्रो इतिहास
काहाँ भुल्न सक्छ र म ?
घुइया र डल्लाका भरमा लडेका
हाम्रा वीरहरुको विरता
पिठ्युँमा बच्चा बोकी
नालापानी र खलङ्गाको युद्धमा
कोरिएको सौर्य
त्यही वीरता र सौर्यको इतिहाससंगै
खडा भएको तिम्रो इतिहास
काहाँ भुल्न सक्छु र म ?
हार्दिक श्रद्धाञ्जली !







































