काठमाडौं ।
पूर्व गृहमन्त्री एवम् नेकपाका स्थायी कमिटी सद नेता भीम रावलको घरमा सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीका एक जवानलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
भक्तपुरको चाँगुनारायण नगरपालिका-१ दुवाकोटमा बस्दै आएका २७ वर्षीय ती सशस्त्र प्रहरीका जवानमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो। सशस्त्र प्रहरी बलको नीलबाराही गणमा कार्यरत उनलाई कोरोना पुष्टि भएपछि मंगलबार राति नै शुक्रराज ट्रपिकल तथा सरुवा रोगटेकु अस्पतालमा भर्ना गरिएको छ। स्रोतका अनुसार रावलको घरमा सुरक्षार्थ तैनाथ उनी वैशाख २ गते त्यहाँबाट निस्किएका थिए। श्रीमती बिरामी भएपछि उपचारका लागि गएका उनलाई यसबीचमा कोरोना भएको हो। उनी काठमाडौंबाट तराई गएर फर्किएको बताइएको छ। जिल्ला प्रशासनले दिएको पासबाट काठमाडौं छिरेपछि उनको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसपछि उनी दुवाकोटस्थित आफ्नै डेरामा बस्दै आएका थिए। उनको परिवारका अन्यको पनि अहिले कोरोना परीक्षणका लागि स्वाब लिइएको छ।
भक्तपुरमै रामधुनी नगरपालिका, झुम्का निवासी २५ वर्षीया महिलालाई पनि कोरोना पुष्टि भएको छ। उनको कोठा भक्तपुरस्थित सल्लाघारीमा थियो। तर उनी ठिमीस्थित प्रजिना रेग्मीको कोठामा बस्दै आएकी थिइन्। उनलाई राति नै टेकु अस्पतालमा भर्ना गरिएको छ।
काठमाडौं र भक्तपुरमा तीन जनासहित हिजो थप २६ जनामा कोरोना भाइरस (कोभिड-१९ ) को संक्रमण पुष्टि भएको छ । यससँगै मंगलबार एकैदिनमा ८३ जना संक्रमित थपिएका छन् ।
दुई जना वीरगञ्जका पत्रकार समेत छन् । नेपालमा पहिलो पटक पत्रकारमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ ।
Recent Comments