एजेन्सी ।
अमेरिकामा कोरोना भाइरसको संक्रमणले जटिल स्थिति सिर्जना भएपछि चीन सहयोग गर्ने तत्परता देखाएको छ । चीनले अमेरिकाला सहायता स्विकारेर मानवियता देखाउन भनेको छ । अमेरिकामा कोरोना (कोभिड-१९) भाइरस तीव्र रूपमा फैलिएर मानवीय हताहती बढेपछि सहयोग गर्न चाहेको चीनले जनाएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रकट गरिरहेको घृणाजन्य व्यवहारका कारण चीनले गर्न चाहेको सहयोग अलपत्र परेको चीनले बताएको छ । चीनको उहानमा गत डिसेम्बरमा पहिलोपटक कोरोना संक्रमण फेला परेपछि अमेरिकाले लगातार चीनविरुद्ध खेदजनक अभिव्यक्ति दिइरहेको छ।
ट्रम्प स्वयम्ले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भन्दै आएका छन्। अमेरिकामा यतिखेर बुलेट ट्रेनको गतिमा कोरोना संक्रमण फैलिइरहेको छ। विश्व नै कोरोना संक्रमणको चपेटामा लपेटिइरहँदा विश्वका प्रमुख दुई शक्तिशाली मुलुकबीच सहायता सम्झौता हुन सकेको छैन।
अवस्था खराब हुँदै गएपछि अहिले अमेरिकामा चीन निर्मित चिकित्सकीय सामग्री, उपकरण र औषधीको ब्यापक माग भैरहेको छ। चीनले अमेरिकालाई सहायता सामग्री उपलब्ध गराउन चाहेपनि वासिङ्टनका राजनीतिज्ञहरूले यसलाई स्वीकार गरिरहेका छैनन्। यस्तो रवैयाका कारण अमेरिकाले कोरोना संक्रमणबाट थप क्षति ब्यहोर्नुपर्ने चेतावनी दिएका छन् । औषधी तथा उपकरण सहायता प्रदान गर्ने मामिलालाई आफूहरूले कुटनैतिक हतियार नबनाउने तथा मानवीय सिद्धान्तका आधारमा सहायता दिन चाहेको चीनले उल्लेख गरेको छ।
अमेरिकी अधिकारीहरूले तत्काल घृणास्पद अभिव्यक्ति दिन छाडेर कोरोनाविरुद्ध लड्न धेरै भन्दा धेरै सहायता लिन चीनले आग्रह गरेको हो । चीनबाट चिकित्सकीय सहायता लिन हिच्किचाइरहेको अमेरिकाले अहम् र दम्भका कारण ठूलो क्षति ब्यहोर्नुपर्ने चेतावती विज्ञहरूले दिइसकेका छन्। यही अवस्थामा पनि भेन्टिलेटर निर्माण गर्ने प्रमुख चिनियाँ कम्पनीहरूलाई अमेरिकाबाट ७ लाख ९० हजार थान भेन्टिलेटर माग भएको छ। केही चिनियाँ संस्था, अस्पताल र व्यक्तिगत तवरबाट पनि अमेरिकाका स्थानीय चिकित्सक र अस्पतालहरूलाई सहायता दिन खोजिएको छ। कोरोनाविरूद्धको लडाईंमा अनुभव हासिल गरेका चिनियाँ चिकित्सकहरूले पनि सहयोग गर्न चाहेको बताइरहेका छन्।