उसका पार्टीका कार्यकर्ता उसलाई नेता देख्दैनथे, राजनेता देख्थे । उसका पार्टीका कार्यकर्ता जस्तै अर्को पार्टीका कार्यकर्ता पनि आफ्नो पार्टीको नेतालाई विशुद्ध नेता मात्र होइन, प्रजातन्त्राको पर्यायवाची नेता ठान्थे ।
राजनीतिक बजारमा विशुद्ध नेता कोही थिएनन् । राजनेता, प्रजातन्त्रवादी नेता, राष्ट्रवादी नेता, दलित नेता, महिला नेतृ, विकासवादी नेता, जनजाति नेता, त्यागी नेता आदि प्रसस्तै विशेषणधारी नेता मात्र थिए ।
हरेक नेताको एउटा न एउटा पुच्छर झुन्डिएको थियो । राजनीतिक बजारको पुच्छर आतंकले अन्य क्षेत्रलाई पनि गाँजेको थियो । महान चित्रकार, महान कलाकार, प्रशिद्ध समाजसेवी, समाजवादी चिन्तक, राष्ट्रिय खेलाडी, वरिष्ठ पत्रकार, युवा कवि, बालप्रतिभा जस्ता पुच्छरधारीहरू बग्रेल्ती थिए ।
तर पुच्छर नभएका मान्छे भने बजारमा कमै थिए । बजारमा पुच्छर भएको मान्छेको राम्रो भाउ थियो, पुच्छर नभएकाहरू भने बिक्री हुँदैनथे। त्यसैले पुच्छर नभएकाहरु पनि पुच्छर उमार्ने दौडाहामा थिए ।
कारण प्रष्ट थियो- मान्छेले पुच्छर हल्लाउने युगबाट पुच्छरले मान्छेलाई हल्लाउने युगको सुरुवात भैसकेको थियो ।