– पवित्रा पराजुली
घटना
झापाको सूर्योदय टेलिभिजनमा कार्यरत पत्रकार भावना लिङ्देनले २०८० वैशाख ५ गते पत्रकारिता पेसाबाट सधैँका लागि अलग्गिने घोषणा गरिन् । सामाजिक सञ्जाल फेसबुकबाट १५ मिनेट लामो भिडियो सन्देशसहित हिंसाजन्य दुर्व्यवहारका कारण पेसाबाट नै पलायन हुने घोषणा गरेकी थिइन् उनले । ५ वर्षदेखि पत्रकारितामा सङ्घर्षरत उनले समाचार कक्षबाटै र सहकर्मीबाटै भएका दुर्व्यवहारका कारण पत्रकारितामा टिकिरहन नसक्ने अवस्था आएको उल्लेख गरिन । पत्रकार महिलाहरुको सञ्जाल सञ्चारिका समूहले उनको त्यो भिडियो सार्वजनिक भइसकेपछि दुव्र्यवहारमा संलग्न व्यक्तिको नाम किटानीसहित दोषीलाई कारबाहीको माग गर्यो । तर यो विज्ञप्तिमै सीमित रह्यो । लिङ्देनले कानुनी लडाइँ वा कारबाहीतिर नजाने र अरु नै जागिर गरेर बस्ने बताइन । सञ्चारिका समूह पनि सेलायो । लिङ्देन काठमाडौँ छिरिन् अर्को जागिर गर्न थालिन् । कार्यकक्षमा हुने हिंसाजन्य व्यवहारकै कारण एउटा प्रतिभा बिचैमा निमोठियो र इच्छ्याएको पेसाबाट पलायन भयो ।
कन्चनपुरबाट पत्रकारिता सुरु गरेकी इन्दु धामीले २०८० वैशाख २५ गते पत्रकारिता गर्दा हिंसाजन्य व्यवहार भोग्नुपरेको र अब पत्रकारिता गरिरहन नसक्ने भन्दै फेसबुकमा लेखिन् ।
त्यसको २ दिनपछि अर्थात् २७ गते एउटा अनलाइनमा ब्लग प्रकाशित गरेर पत्रकारिता छोड्ने निर्णय पछि पनि पूर्व कार्यरत संस्थाका सहकर्मीबाट चरित्रमाथि आँच आउने किसिमले लान्छना लगाउने कार्य भएको भनेर लेखिन । ब्लग प्रकाशित गरेपछि अग्रज पत्रकार र सम्बद्ध संघ संस्थाको सुझावअनुसार नेपाल पत्रकार महासंघ र सञ्चारिका समुहमा आफूलाई हिंसाजन्य दुव्र्यवहार गर्ने पत्रकारको किटानीसहित उजुरी दिइन् । तर उजुरीपछि सम्बन्धित संघ संस्थाका नेतृत्वकर्ताहरु आरोपितहरुकै संरक्षणमा लागेकाले अब आफूले न्याय नखोज्ने भन्दै दोस्रो ब्लग प्रकाशित गरिन् ।
पत्रकारितामा उदाउँदै गरेको अर्को प्रतिभा पनि कार्यकक्षमा भएको हिंसाका कारण टिक्न सकेन । यो त एकमहिनाभित्रै खुलेर मलाई हिंसाजन्य व्यवहार भयो, म पत्रकारितामा टिक्न सक्दिनँ भनेर घोषणा गरेरै बाहिरिएकाको विषय भयो । नेपालमा पत्रकारिता गर्दैगर्दा कार्यकक्षमै हिंसा भएका कारण यो पेसाबाटै पलायन हुनेहरूको यकीन तथ्याङ्क त पाइँदैन । तर पत्रकार महिलाहरू सुरक्षित रूपमा पत्रकारिता पेसामा लामोसमयसम्म सक्रिय भएकाहरू कम छन् ।
हिंसाको तथ्याङ्क
‘अनलाइन हिंसाको अवस्था’ सम्बन्धी एक अध्ययन प्रतिवेदनले ८८ दशमलव ६ प्रतिशत महिला पत्रकारले आफ्नो जीवनकालमा हिंसा भोगेको जनाएको छ । छापा, विद्युतीय तथा अनलाइन मिडियामा कार्यरत २ सय ८१ महिला पत्रकारको सहभागिता रहेको अध्ययनमा ८८ दशमलव छ प्रतिशत महिला पत्रकारले हिंसा भोग्नुपरेको देखाएको छ । सन् २०२२ मे महिनादेखि ३१ अगस्टसम्म गरिएको अध्ययनमा हिंंसा गर्ने व्यक्तिबारे सोधिएका प्रश्नमा दुई सय ८१ जना सहभागीमध्ये एक सय १६ जनाले कार्यालयभित्रका सहकर्मीबाट, ८९ जनाले कार्यालय बाहिरका सहकर्मीबाट, ८९ जनाले परिचित व्यक्तिबाट, ६३ जनाले समाचार स्रोतबाट, ५६ जनाले राजनीतिक दलसम्बद्ध व्यक्तिबाट र २६ जनाले सरकारी अधिकारीबाट अनलाइन हिंसा भएको उल्लेख गरेका छन् । सहभागीमध्ये ५३ प्रतिशतले आफूले भोगेको अनलाइन हिंसा पत्रकारिता पेसासँग सम्बन्धित रहेको बताएका थिए भने २१ दशमलव चार प्रतिशतले अनलाइनबाट सुरु भएको हिंसापछि गएर धम्की र भौतिक आक्रमणसम्म पुगेका बताएका छन् । सहभागीमध्ये ११ दशमलव ४ प्रतिशतले आफूले नभइ अरूले हिंसा भोगेको सुनाएको प्रतिवेदन उल्लेख छ । अध्ययनले सबैभन्दा बढी फेसबुक मेसेन्जरबाट हिंसा हुने देखाएको छ । सहभागीमध्ये फेसबुक म्यासेन्जरबाट ६२ दशमलव तीन प्रतिशत, १५ दशमलव ५ प्रतिशतले ट्विटर, १२ दशमलव आठ प्रतिशत ह्वाट्सअप, ११ दशमलव सात प्रतिशत भाइवर, छ प्रतिशतले इमेल र चार दशमलव छ प्रतिशतले इन्स्टाग्रामको माध्यमबाट हिंसा भएको देखाउँछ ।
मिडिया एड्भोकेसी ग्रुप (म्याग) ले गरेको एक अनुसन्धान प्रतिवेदनअनुसार नेपाल पत्रकार महासङ्घका साढे १३ हजार सदस्यमध्ये दुई हजार चार सय मात्रै महिला देखिएका छन् । यसलाई हेर्दा महिला पत्रकारको सङ्ख्या जम्मा १८ प्रतिशत छ । समाचार कक्ष र कार्यस्थल असुरक्षित हुँदा महिलाको सहभागिता औसतमा बढे पनि पेसामा निरन्तरता भने घट्दो छ । यदि पत्रकार महिलाको दक्षता वृद्धिसँगै सम्पादकीय भूमिकामा उचित स्थान र समाचार कक्ष महिलामैत्री बनाउने हो भने मात्र पनि पत्रकारितमा प्रवेश गरिसकेका महिलालाई टिकाइराख्न सकिन्छ ।
फ्रिडम फोरमको तथ्याङ्कअनुसार सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा प्रेस स्वतन्त्रता उल्लंघनका ४४ वटा घटनाहरु भए । यी घटनाबाट ११९ पत्रकार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । ती मध्ये ११ जना पत्रकार महिला हुन् । फ्रिडम फोरमको अनुगमनबाट प्राप्त तथ्यांकले घटनाको संख्यामा गत वर्ष भन्दा केही कमी देखाए पनि प्रभावित पत्रकारको सङ्ख्या भने बढेको देखाएको छ । अघिल्लो वर्ष सन् २०२१ मा प्रेस स्वतन्त्रता उलंघनका ५९ घटनामा ८३ जना पत्रकार प्रभावित भएका थिए ।
नेपालमा पत्रकारिता क्षेत्र त्यति सुरक्षित मानिँदैन । विभिन्न कालखण्ड र घटनाका बखत पत्रकारमाथि सांघातिक हमला भएका छन् । द्वन्द्वका बेला समेत राज्य र विद्रोही दुवै पक्षबाट पत्रकारहरु आक्रमणमा परे । कति पत्रकारको ज्यानसमेत गयो । २४ सै घण्टा खबर प्रवाहका लागि खट्नुपर्दा पत्रकार जोखिम मोलेरै पेसामा आबद्ध हुन्छन् । यस्तोमा पुरुषको तुलनामा महिलामाथि बढी जोखिम हुने हुँदा पनि महिलाहरु सुरक्षाकै कारण देखाएर समेत यो पेसामा टिकिरहेका हुँदैनन् ।
प्रेस काउन्सिल नेपालको तथ्याङ्क अनुसार पछिल्लो ८ महिना (२०८० जेठ)मा ५४ वटा प्रेस स्वतन्त्रता हनन्का घटना भएका छन् । जसमा गिरफ्तारी, कब्जा÷अवरोध, आक्रमण, धम्की/ दुर्व्यवहार र पेसागत असुरक्षा जस्ता कार्य भएका छन् । यस्तोमा महिला पत्रकारहरू जोखिम मोलेर फिल्डमा सक्रिय रहन अप्ठ्यारो छ । यद्यपि कतिपय महिला पत्रकारहरु पेसामै सक्रिय भने छन् । दाङकी वर्षा शाह फोटो पत्रकार हुन् । हाल देशसञ्चारमा कार्यरत उनी भन्छिन्, ‘सामान्यतयाः भीडभाड हुने कार्यक्रम, आन्दोलन होस् अथवा भिभिआइपी, भिआइपी सहभागी हुने कार्यक्रम, त्यहाँ खटिने प्रहरीसँग हुने धकेलाधकेल होस् वा सामान्य भनाभन किन नहोस् । कहिलेकाहीँ हुने शारीरिक या मानसिक टचर म र मजस्ता फोटो पत्रकारका लागि त्यो सामान्य नै हो । भीडमा प्रहरीले गर्ने व्यवहार र त्यहाँका गतिविधि पनि सामान्य मानिन्छ । भीडमा धकेलाधकेल भए पनि एकछिनपछि त्यो सबै भुलेर त्यहाँ भएकै प्रहरीसँग आफ्नो कर्तव्यको लागि खटिएको के गर्नु ? भन्दै बाध्यता र परिस्थितिका गफ पनि गरिन्छ । यी सबै कुरा सधैं सामान्य हुन्छन्/मानिन्छन् ।’
प्रमाण नहुँदा समस्या
पत्रकारिता होस् वा अन्य क्षेत्र समाजमा राम्रो छवि बनाएका व्यक्तिले गरेका गलत काम जसको प्रमाण जुटाउन सकिँदैन त्यसकिसिमको हिंसाका स्वरूपबाट धेरै महिला पीडित छन् । सँगै काम गर्ने सहकर्मी, कार्यालय प्रमुख, अग्रज पत्रकार मात्रै होइन् समाचारका स्रोतहरूबाट समेत सुरक्षित छैनन् महिला पत्रकार । शिक्षा, स्वास्थ्य, राजनीतिलगायत विभिन्न क्षेत्रका व्यक्तिसँग समाचार सङ्कलनका क्रममा सम्पर्क हुन्छ, भेट हुन्छ । सूचनाको लागि गरिएको कुराकानीमा पनि स्रोतले अनेक कुरा सोधेर विषयवस्तुमा प्रवेश नै नगर्ने, पटक पटक फोन म्यासेज गरेर अनेक लोभलालच, सहानुभूति देखाउने गर्छन् । पत्रकार दीपा दाहालले एउटा प्रसङ्गमा भनेकी थिइन्, “पत्रकार बनेर राजनीतिक वा अन्य विषयमा प्रश्न सोध्न जाँदा पनि महिला भएकै कारण अन्तर्वार्ता दिने व्यक्तिले उल्टै आफैँलाई अन्तर्वार्ता लिन्छ – विवाह भयो कि भएन ? किन नगरेको ? उमेर गइसक्यो ? कोही साथी छन् ? एक्लै बस्ने कि कोही कसैसँग ? यस्ता प्रश्नले घेरिएर मात्र एउटी महिलाले पत्रकारिता गर्नुपर्ने ?”
पत्रकार इन्दु धामीले आफूलाई हिंसाजन्य व्यवहार गर्ने सहकर्मीकै विरुद्ध प्रमाण नहुँदा कानुनी लडाइँ लड्न नसक्ने उललेख गरेकी छन्, ‘मेरा जीवनमा यस्ता किसिमका हिंसाका घटनाक्रम भने निरन्तर चलिरह्यो । यो क्षेत्रमा पुरुषहरु त धेरै टिक्न सक्दैनन् भने हजार चुनौती सामना गर्दै पत्रकार बनेकी महिलालाई झन यो क्षेत्रमा चलायमान भइराख्न निकै कठिन छ । पत्रकार महिलालाई बाँच्न कोही कसैसँग चुनौती छ भने त्यो पुरुष सहकर्मीसँग हो । अझै मैले त यो क्षेत्रमा अग्रज मानिएका आफ्नै क्षेत्रका दिदी पत्रकारबाट सहयोग पाउनुको सट्टा थेग्नै नसक्ने याताना भोगिरहेकी छु । यति भन्दै गर्दा धेरैलाई आफैंलाई तोकेर गाली गरे जस्तो लाग्न सक्छ । मैले यो फिल्ड छाडेर जिन्दगीको बाटो अन्त मोड्दै गर्दा यी कुरा सबैले थाहा पाउन जरुरी छ भन्ने लाग्यो ।’ उनले हिंसाको खुलेर विरोध गर्दा पेसाबाटै हात धुनुपर्ने अवस्था आएको आफ्नो ब्लगमा प्रष्ट पारेकी छन् । ‘जुन पत्रकार महिला स्थानीय सञ्चारमाध्यममा कार्यरत छिन्, उनले यस्ता हर्कतको विरोध गरे जागिरबाटै हात धुनुपर्छ । इज्जत लिलामी गरेर मैले पत्रकारिता गर्न सकिनँ र छोडें । कानूनले प्रमाण माग्छ । म अहिले कागजी प्रमाण जुटाउन सक्ने अवस्थामा छैन । मैले अहिले कसैको साथ पाएकी छैन ।’
आम्दानीमा समस्या
नेपालको पत्रकारिता क्षेत्रमा सक्रिय महिलाहरु पत्रकारितासँगै अन्य पेसामा समेत संलग्न छन् । कोही घरपरिवारको जिम्मेवारीसँगै आंशिक पत्रकारिता गरिरहेका छन् भने कोही पूर्णरूपमा पत्रकारिता गरेपनि आर्थिक रूपमा बढी आम्दानी हुने ‘पार्टटाइम’ जागिर समेत गर्दछन् । उनीहरू महिला भएकै कारण पत्रकारितामा पुरुषलाई भन्दा कम तलब दिएकै कारण पनि यो पेसामा टिक्न सक्ने अवस्था छैन ।
नवलपरासीको एउटा सामुदायिक रेडियोमा जागिरेका रूपमा प्रवेश गरेकी एक जना पत्रकार जागिर सुरु गरेको तीन वर्षमा नै रेडियो छोडेर ब्युटिपार्लरको सीप सिकिन् र आफ्नै व्यवसाय सुरु गरिन्, ‘कुनै बेला पत्रकार थिएँ भन्दा एकदमै गौरव अनुभूति हुन्छ तर त्यहाँ ३ वर्षसम्म बस्दा, काम गर्दा र सिकेर पनि महिनाको ४ हजार ४५ सय पनि कमाइ हुँदैनथ्यो । म आफ्नै पसल खोलेर घरको सबै खर्च धान्ने भइसकेँ । यो तालिम तीन महिना पूरा पनि लिन पाएको थिइन । तर कमाइ राम्रो छ । खर्च नै नजुट्ने भएपछि पत्रकार भनेर नाममात्र भएर भएन ।’ नाम नखुलाइदिन आग्रह गर्दै उनले भनिन् । एकै भूमिकामा रहेका पुरुष र महिला पत्रकारलाई दिने तलब र सुविधामा समेत सञ्चारगृहले विभेद गर्दा महिलाहरु यसबाट विमुख हुने गरेका छन् ।
पत्रकार कुन्दन दिक्षित मिडिया मात्रै हैन राज्यका सबै क्षेत्रमा लैङ्गिक असन्तुलन रहेको बताउनुहुन्छ । नेपालमा श्रमजीवी पत्रकार महिलाको सङ्ख्या २५ प्रतिशत रहेको पत्रकार महासंघ र सञ्चारिका समूहको तथ्याङ्क छ । सञ्चारिका समूहले सर्वेक्षण गरेका ९ सय ७ सञ्चारगृहमा ७ हजार ६ सय ५० पत्रकार कार्यरत छन् । तीमध्ये श्रमजीवी पत्रकारमा पुरूष ५ हजार ७ सय ११ जना छन् भने महिला १ हजार ९ सय ३९ जना अर्थात् २५.३ प्रतिशत छन् । पत्रकारितामा २० देखि ३० वर्ष उमेर समूहका महिला सबैभन्दा बढी सक्रिय रहेको तथ्याङ्कले देखाउँछ । अध्ययनमा समावेश पत्रकार महिलामध्ये २१ दशमलव ९ प्रतिशतले पत्रकारिता नै अध्ययन गरेका छन् ।
राज्यले स्वतन्त्र पत्रकारिताको प्रत्याभूत कानुनतः गरेपनि विभिन्न पेसागत असुरक्षा र हिंसाका घटनाका कारण यो पेसा स्वतन्त्र बन्न सकेको छैन । आक्रमणको जोखिम, सम्पादकीय स्वतन्त्रता नहुनु, तलब सुबिधा कम हुनु, सञ्चारगृहले श्रमशोषण गर्नु, मिडियामा प्रत्यक्ष रूपमा बाह्य लगानी र हस्तक्षेप हुनु जस्ता समस्याले पेसामाथि प्रश्न उठेको छ । यी समस्या समाधानका लागि राज्य, सञ्चारगृह र सम्बद्ध सरोकारवालाले आवश्यक पहल गर्नुपर्ने हुन्छ । यी समस्या समाधान हुने हो भने पत्रकारितामा महिलाको सहभागिता मात्रै नभइ निरन्तरता पनि कायम रहन सक्छ ।