काठमाडौं ।
जैविक नेपाल अभियान कोरोना संक्रमणको सम्भावित जोखिमबाट बच्न जैविक आहार विहारमा ध्यान दिन अपिल गरेको छ । आज एक अपिल जारी गर्दै अभियानले खेतीपातीबाट शारिरिक मानसिक तन्दुरुस्ती ल्याउने भन्दै कृषि उत्पादन प्रणाली र वितरण प्रणाली पनि सुधारमा ध्यान दिनुपर्ने बताएको छ । अभियानका संयोजक स्वनाम साथीद्धारा जारी अपिलमा हालको कोरोना कहर प्रकृतिको विनास र मानवीय मूल्य मान्यताका सीमाहरुको पर्खाल भत्काएर गरिँदै गरेको तथाकथित विकासले निम्तिएको उल्लेख गरिएको छ । हालको विषम परिस्थितिबाट पाठ सिकेर खाना, माटो र प्रकृति सपार्ने काममा लाग्न अभियानको अपिल छ । अभियानले महामारीका बीचमा खानेकुरा, बास र वातावरण नभएर ज्यान गुमाउने जोखिममा परेकाहरुको उचित ख्याल गर्न पनि अनुरोध गरेको छ ।
यस्तो छ अपिल
आधुनिक विकासको नाममा यो धर्ती नै थर्काउने, चन्द्रमामा बस्ति बसाउने सपना बोकेका वैज्ञानिक, विकासे र यिनका सारथि महापुरुषहरुको मनमा अहिले सामान्य आँखाले देख्न नसकिने अति सूक्ष्म जीवतत्व नयाँ भनिएको कोभिड १९ नाम दिइएको भाइरस कोरोनाले सबैका मुटुमा ढ्याङ्ग्रो ठोकेको छ । प्रकृतिको विनास र मानवीय मूल्य मान्यताका सीमाहरुको पर्खाल भत्काएर गरिँदै गरेको तथाकथित विकासले विश्वमा भोगविलास, भोक र रोगको आहालमा बस्न र यसैमा रमाउने मानसिकतासँगै बाच्न बाध्य बनाएको छ । नेपालको विविधतायुक्त प्रकृति र यसको संभार गर्न सक्षम हाम्रो परम्परागत मान्यताहरु र स्थानीय ज्ञानका आधारमा जीवन जिउने कलाको सस्कृतिलाई तिरस्कार गरी विकासे बन्ने दौडमा सामेल हुँदा हामी पछौटेमा गणना हुन पुगेका छौ । यो मर्म आत्मसात गर्ने धैर्यता, साहस र विवेक नपुग्दा तिनैले देखाएको विनासमुखी बाटो पछ्याउँदै यहाँसम्म आईपुगेका हौ । अहिले यसले सबै भन्दा बढि शासकहरुको विवेकको पोल खोलेको छ । मुख्यतः संकटका बेलामा पनि प्रकट नहुने हाम्रा नैतिक मूल्यहरु र यसको वास्तविक धरातल देखाईदिएको छ । कोरोनाले भाइरसलाई मात्र हैन समाज वर्ग, लिङ्ग, समुदायं, समग्र प्रकृति र यो सँगको हाम्रो अन्तरसम्बन्धको मानवीय चेतनाको सीमा देखाउँदै मानव जातिलाई धरातलमा ल्याएर छोडेको छ । यस अर्थमा, कोरोनाले अहिले हाम्रो जीवनका सबै पक्षका रङ्ग देखाईदिएको छ । अहिले प्रकृतिले यो कोभिड १९, भाइरसको माध्यमबाट देखाएको प्रतिकृया मानवीय चेतनाका लागि उठाएको एउटा गम्भीर प्रश्न मात्र हो । यदि यो संङ्केतलाई समयमै आत्मसात नगरे प्रकृतिविरुद्धको मानवीय हठको परिणिति यो प्रजातिको अस्तित्वमा आउने खतरा र मानसिक विध्वंश नै हो । यसबाट छुटकारा पाउन सचेत प्रयत्नबाट मात्र संभव छ । यो संयोग मात्र भए पनि हामी यसबाट सिक्न र अगाडी बढ्न सक्छौ । महामारी फैलिन नदिन विवेकले काम गरौँ । बरु, प्रकृति, प्रविधि र मानवीय प्रवृत्तिमा आएको फेरबदल आत्मसात गर्दै यो सच्याएर हाम्रो समाजका छेउ परेका मानिसको आत्मसम्मान बढाउन सार्थक पहल गरौ । आजसम्म विज्ञानले थाहा पाएको ज्ञानको विवेक पूर्वक उपयोग गरौ । प्रतिरोध क्षमता नभएका मानिसमा जोखिम बढि छ उनीहरुलाई विशेष ख्याल गरौँ । डरमुक्त विचार, आहार र नियमित अभ्यासले मात्र पनि यो क्षमता धेरै बढ्छ । सकेसम्म आफैँ खेती गरौँ । यस्तो आहार को बन्दोबस्त गर्ने किसानको आत्मसम्मान बढाउन खाना, माटो र प्रकृति सपार्ने नियतबाट बनाउन सुरु गरौँ । प्रकृतिको सानो एउटा प्रजाति कोरोनाले गर्दा हाम्रो हठले संकटग्रस्त प्रकृति सच्चिन सक्छ । यो मानवीय विवेक सच्याउने आधार बन्न सकोस् । यो काम आग्रहले मात्र भने हुदैन । सार्थक र सचेत प्रयत्नमा लागौँ । सुरुवात फेरिपनि खाना, माटो र प्रकृति जोगाउनबाट गरौँ । यसमा सरकार, नागरिक समाज र समाजका सबै तह र तप्काका अगुवाहरुको उचित ध्यान पुगोस् भन्न चहान्छौ ।
हाम्रो अपिल
- अहिले सरकारले बन्दबन्दीको घोषणा गरेको छ यो तरिका बाह्य आक्रमणबाट जोगिने मानव सभ्यता विकासको अहिलेसम्मकै उत्कृष्ट तरिका हो । यसमा दुविधा नगरौँ ।
- कमसेकम बन्दबन्दीभरी शारीरिक सक्रियता, योग ध्यान सहित पत्रु खाना बन्देज गरि जैविक आहार बिहारमा रहने कोसिस गरौँ । खेती शारीरिक मानसिक तन्दुरुस्ती ल्याउने सबै भन्दा उत्पादनशील उपाय हो ।
- यो बन्दबदीको बेला सबैभन्दा प्रभावित स्वदेश तथा विदेशमा श्रम बेच्न बाध्य श्रमजीवी समुदाय हुन् । उनीहरु कोरोनाको कारण भन्दा पनि खानेकुरा, बास र वातावरण नभएर ज्यान गुमाउने जोखिममा परेका छन् । उनीहरुको उचित ख्याल गरौ।
- स्थानीय तहमै खानेकुरा उत्पादन नहुँदाको अप्ठेरो यस्तै बेला महसुस गर्न बाध्य छौँ । यो बन्दबन्दीको पछिसम्म प्रभाव पर्न नदिन अहिले नै सचेततापूर्वक कृषि उत्पादनको वितरण प्रणालीमा सुधार गर्ने प्रयत्न गरौँ ।
- अब सबै तरहले मानव सभ्यताका लागि किसानमुखी जैविक खेतीपाती अपरिहार्य भएको छ, यसमा सबैले ध्यान दिउँ ।
स्वनाम साथी, संयोजक जैविक नेपाल अभियान तथा यसका सहयात्रीहरु