साहु जी ! ए साहु जी !!
साहु बा ! ए साहु बा !!
सुन्नु भो
म रत्नपार्कको
मजदुर रत्नबहादुर!
तिम्रो कोठामा बसेर
केही बर्षअघि ,तिम्रै घरको भित्तामा
साम्यवादको पोष्टर टाँस्ने मै हुँ ।
तिम्रै गेटमा लाल झण्डा गाड्ने पनि मै हुँ ।।
आज फेरि तिम्रै घरको
चार भित्तामा बन्दी भएर
सम्झिरहेछु _
मे दिवसको नाममा परेड खेलेको खुल्लामन्च ।
र हेरिरहेछु_
मलाई ललिपप देखाउने सिहंदरबार ।
मेरो नाङ्गो आङ्ग र भोको पेटलाइ जनवादी गीत सुनाउने
कलाकारहरु चै कहाँ होलान् यतिखेर?
रोटी मात्र हैन अब
हलुवा नै खुवाउँला भनी
सुजि पिठोको पाकेट देखाउँदै
दालचीनीको कुरा गर्ने
मजदुर नेताहरु
क्वारेन्टाइनमा होला कि आइसोलेसनमा यतिखेर?
काँचको ऋषि पर्दामा बाझेको पनि देखिएन ?
हलुवा देखाउने बालुवाटार तिर फर्केर
मजदुर दिवसको शुभकामना दिन
किन हो सारै गिदि चिलाएको छ आज ।
बाँदर लखेट्ने ,साँढे धपाउने, नाली सोहोर्ने
आषाढ मसान्ते रोजगारबाट पुलकित
बजेट भाषण कुरिरहेका हामी मजदुरहरु
लकडाउनको यो महापर्वमा
सरकारी राहत थाप्न
भोलिदेखि डोर हाजीर गर्दै
पुल पुलेसा बनाउँला ।
सरकार निर्देशित कर्म गरौँला ।
तर हामी मजदुरहरुका साहु बा हरुले चैँ
सुती सुती खान पाउने कस्तो व्यवस्था हो कुन्नी ?
समाजवाद उन्मुख हुने कुरा
आज मात्रै उठ्छ कि भोलि पनि ?
विश्वभरका मजदुर एक हौँ भन्दै
फुट्न मात्रै मन पराउने
वालुवाटार र सिंहदरबारलाई
रेमिट्यान्स पठाउनेहरु स्वदेश फर्किएर
मुठ्ठी कसे भने के होला ?
नजरअन्दाज होला कि नाइँ ?
आज एकाबिहानै तिम्रो कम्पनीको घोषणापत्र हेर्दै
गनिरहेछु अर्को चुनावको मिति ?
तिमी सच्चिन्छौ कि म नै भत्किदिउँ?
भारी बोक्ने र बोकाउनेहरु सुतिरहेको यो पल
अभागी थाप्लो, निम्सरो नाम्लो, निर्धो हसिया
कमजोर हथौड़ा सबका सबको
मुठ्ठीभरको शुभकामना ।
बालुवाटार भन्दा दुर “म” जस्तो
मजदुरहरुको पनि शुभकामना ।।