काठमाडौँ २३ साउन ।
काठमाडौँबाट रसुवाका लागि उडेको हेलिकप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिका–७, सूर्यचौर क्षेत्रमा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेमध्ये चार जना चिनियाँ नागरिक छन् । पाइलट नेपाली नागरिक रहेको बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णुकुमार केसीले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा चिनियाँ नागरिक जुतड ताङ, जेइली, सीयाद वी, जीक्वीङ सी र क्याप्टेन के मल्ल छन् । क्याप्टेन मल्ल नेपाली हुन् ।
रसुवाको स्याफ्रुवेसीका लागि काठमाडौंबाट उडेको एयर डाइनस्ट्रीको हेलिकप्टर आज दिउँसो दुर्घटनामा परेको थियो । लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले ५ जनाको शव निकालेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले दुर्घटनाग्रस्त हेलिकप्टर काठमाडौंबाट उडेको ३ मिनेटपछि सम्पर्कविहीन भएको जनाएको छ । दुर्घटनलगत्तै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्घटनाबारे दुःख व्यक्त गर्नुभएको छ ।