काठमाडौं ।
कोरोना भाइरसको संक्रमणको जोखिमबाट बच्न सरकारले लकडाउनको समयावधी थपेपछि अत्यावश्यक सेवा समेत प्रभावित भएको छ । खाद्यान्न औषधी उपचार लगायतमा सर्वसाधारण मारमा परेपछि व्यवसायी तथा समाजसेवी र विभिन्न संघ संस्थाले सहयोगको घोषणा गर्न थालेका छन् ।
नुवाकोटको बेलकोगढी ३ का निर्माण व्यवसायी तथा समाजसेवी पुर्णप्रसाद गजुरेलले बिरामीका लागि निजी गाडि र डेरामा बस्नेका लागि भाडा छुट दिने बताएका छन् । हाल काठमाडौंको बालाजु बस्ने गजुरेलले सामाजिक सञ्जालमार्फत सहयोग घोषणा गर्दै नुवाकोटबाट काठमाडौं आइबस्ने सर्वसाधारणको लागि बिरामी हुँदा अस्पताल लैजान निशुल्क गाडीको सुबिधा उपलब्ध गराउने बताएका हुन् ।
आफुले चलाउँदै आएको जापानीज टेरिजको बा ८ च १९८२ नंबरको गाडी आपतको बेला सर्वसाधारणका लागि निशुल्क प्रयोग गर्ने गजुरेलले बताएका छन् । गजुरेलले सरकारको निर्णयको स्वागत गर्दै आफ्नो घरमा डेरामा बस्नेहरुबाट एक महिनाको भाडा नलिने समेत बताएका छन् । गजुरेलले अस्पताल जानुपरे ९८५१०५३२९८ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।
साथै उनले नुवाकोट बेलकोटगढी ३ कुमरीमा रहेको दुईकोठ सुविधा सम्पन्न घर समेत आवश्यक परे स्थानिय सरकारले प्रयोग गर्न दिने बताएका छन् ।