काठमाडौँ ।
प्रेस काउन्सिल नेपालले शुक्रबार एक विज्ञप्ति जारी गरेर सञ्चार माध्यमबाट जनस्वास्थ्यमा असर पर्ने मदिरा र सुर्तीजन्य पदार्थको विज्ञापन नछाप्न भनेको थियो । अधिकांश सञ्चार माध्यमले त्यसको समाचार प्रकाशन प्रसारण गरे । तर मदिराजन्य विज्ञापन नछाप्न काउन्सिलको आग्रह भन्ने हेडलाइनको दायाँबायाँ तलमाथि मदिराकै विज्ञापन राखेर ती समाचार सम्प्रेषण भएपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
रातोपाटी, कान्तिपुर लगायतका अनलाइनका स्कृनसट सेयर गर्दै सामाजिक सञ्जालका प्रयोगकर्ताले सञ्चार माध्यमको आलोचना गरेका छन् । पत्रकारिताका विज्ञ भानुभक्त आचार्यले फेसबुकमा लेख्नुभएको छ । “तस्बिर आफैं बोल्छ” भन्ने उखान छ नि । यस्तै बेला पुष्टि हुन्छ । अब रातोपाटीलाई अर्को वर्ष आचारसंहिता पुरस्कार पक्का । Note: त्यो रातोपाटी लेख्या ठाउँमा पनि एउटा चुरोटको विज्ञापन हाल्दिन पाको भए क्या काइदा हुन्थ्यो ।”
प्रेस काउन्सिलका उपप्रशासकीय अधिकृत रामशरण बोहराले शुक्रबार जारी गरेको विज्ञप्तिमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार नगर्न/नगराउन ध्यानाकर्षण गराइएको थियो । जारी विज्ञप्तिमा सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको भन्दै काउन्सिलको ध्यानाकर्षण भएको जनाइएको थियो ।
‘जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा (१) मा ‘मदिरा, चुरोट, सुर्ती तथा सुर्तिजन्य पदार्थलगायतक मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचार प्रसार गर्न पाइने छैन’ भन्ने व्यवस्था रहेको छ ।’ विज्ञप्तिमा भनिएको थियो, ‘यसविपरीत विभिन्न सञ्चार माध्यम, सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यम एवं होर्डिङ बोर्डमा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञापन सामग्रीको प्रचार प्रसार भइरहेको सन्दर्भमा प्रेस काउन्सिल यसकिसिमका विज्ञापन सामग्री सम्प्रेषण नगर्न/नगराउन सम्पूर्ण सञ्चार माध्यमलाई यसै विज्ञप्तिमार्फत् आह्वान गर्दछ ।’