नेकपा एमालेको स्थायी कमिटी बैठकले पार्टीका सबै कमिटीलाई २०७५ साल जेठ २ मा फर्काउने निर्णय गरेको छ । बैठकले पार्टीका केन्द्रीय, जिल्ला, स्थानीय तहका सबै पार्टी कमिटीलाई ७५ जेठ २ मा फर्काउने निर्णय गरेको प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै आउँदो मंसिरमा पार्टीको १०औँ महाधिवेशन गर्ने भएको छ । मंसिर १० गतेदेखि १२ गते सम्म १०औँ महाधिवेशन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिनुभयो ।
यसअघि पार्टीले २०७९ वैशाख मसान्तभित्र महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर सो निर्णय परिवर्तन गरी मंसिरमा अधिवेसन तय भएको हो । यस्तै असोज ४, ५ र ६ गते विधान अधिवेशन हुनेछ । विधान अधिवेशनको तयारीका लागि यही भदौ १० गते केन्द्रीय कमिटी बैठक बस्नेछ ।
बैठकले गत असार २७ गते भएको १० बुँदे सम्झौता कार्यान्वयनमा बाधा फुकाउन भीम रावल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे, लेखराज भट्ट रहेको कार्यदल गठन गरेको छ ।
आज ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक बसेको हो । बैठक भोली पनि बस्नेछ ।