काठमाडौँ ।
एमाले नेतृत्वको गठबन्धनबाट प्रधानमन्त्री भएका पुष्पकमल दाहाललाई अहिले सबैभन्दा त्रास एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै छ । कांग्रेसले सरकारलाई विश्वासको मत दिएपछि दाहालको मनोबल बढेको देखिन्छ तर उनी न कांग्रेससँग निकट हुन सकेका छन्, न एमालेबाट टाढा हुन सक्ने अवस्थामा छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।
एमालेलाई नचिढ्याई कांग्रेससँग समदूरी राख्न खोज्दा दाहाल ‘दुई डुंगामा खुट्टा’ राखेजस्तो हालतमा छन् । एमालेको त्रास र कांग्रेसको आसमा अघि बढ्नु दाहालका लागि सहज भने छैन । कांग्रेसले समर्थन गरेपछि दाहालले एउटै तीरले दुई सिकार गर्न खोजेका छन् । पहिलो, एमालेलाई ‘साइज’ मा राख्ने । दोस्रो, आफ्नो अनुकूल राष्ट्रपति बनाउने । एमालेको बलमा प्रधानमन्त्री भएका उनी कांग्रेसको बलमा ‘आफ्नो अनुकूल’ राष्ट्रपति चयन गर्ने रणनीतिमा छन् । तर, कांग्रेसले आफ्नै दलको नेतालाई राष्ट्रपतिमा अघि सारेको अवस्थामा दाहालले चाहेअनुसार हुने छैन । एमालेले पूर्वसहमतिअनुसार आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बनाउनुपर्ने दबाब दिइरहेका बेला दाहालले भने कांग्रेससित हात बढाएका छन् ।
राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले कांग्रेसले विश्वासको मत दिएपछि दाहालमा दोमन देखिनुको कारण बाह्य शक्तिको प्रभाव हुन सक्ने बताए । ‘प्रधानमन्त्रीजीले पूर्वप्रेमिकाजस्तै कांग्रेसतिर मन फर्काउनुभएको छ,’ उनले भने, ‘प्रधानमन्त्रीमाथि भूराजनीतिक दबाब पनि हुनुपर्छ, त्यसैले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेको हुन सक्छ ।’
कांग्रेसले सरकारलाई विश्वासको मत दिनु नयाँ गठबन्धनमा अविश्वास सिर्जना गर्ने रणनीति भएको उल्लेख गर्दै केसीले दाहालले ‘दुई डुंगामा खुट्टा राख्नु’ घातक हुने बताए ।