पत्रकार केदार दाहालमाथि प्रहरीले दुर्व्यवहार गरेको छ । समाचार संकलनका लागि भारतीय दुतावास अगाडि पुगेका पत्रकार दाहालमाथि प्रहरीले हातपात गरेको हो ।
‘नो अब्जेक्सन लेटर’ लिन उपस्थित भएका भारतीय नागरिकबारे समाचार सकंलन गर्न मंगलबार दूतावासअगाडि पुगेका नयाँ पत्रिका दैनिकमा कार्यरत पत्रकार केदार दाहालमाथि दुर्व्यवहार गर्नेमाथि नेपाल पत्रकार महासंघले कानुनी कारबाहीको माग गरेको छ ।
महासंघले एक विज्ञप्ति जारी गर्दै पत्रकार आक्रमणमा संलग्नमाथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
दूतावासअगाडि भारतीय नागरिकको भीडभाडको फोटो र भिडियो खिचिरहेका दाहाललाई एक्कासि प्रहरीले समातेको थियो । दाहालले आफू पत्रकार हुँ भन्दै परिचय पत्र देखाउँदासमेत नक्कली पत्रकार भनेर लछारपछार गरिएको उनले बताए ।
यसअघि सोमबार पनि काठमाडौँको पुरानो बसपार्कमा निर्माणाधीन ‘काठमाण्डौं भ्यू टावर’को प्रगति विवरणबारे रिपोर्टिङ गर्न पुगेका नेपाल आज डटकमका सञ्चालक तथा सञ्चारकर्मी माधवप्रसाद गुरागाईँमाथि त्यहाँका ठेकेदार मनोज भेटवालसहितको टोलीले आक्रमण गरेको थियो ।
पत्रकारमाथि भएको आक्रमणलाई लिएर पत्रकारसम्बद्ध संघसंगठनले आपत्ति जनाएका छन्को । महासंघले दुवै घटनाको कडा शब्दमा भ्रर्त्सना गरेको जनाएको छ ।