लेखकः लालबहादुर वर्मा
अनुवादः अनिल शर्मा
सम्पूर्ण विश्वलाई कैयौं पक्षमा संकुचित गरिदिएको भूमण्डलीकरण आधुनिक आयाम हो । जसले संसारलाई एकातिर एकरुपतामा ल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भने थुप्रै समस्याहरु पनि श्रृजना गरिरहेको छ । भनिराख्नु नपर्ला कि शक्तिशाली र साम्राज्यवादी देशहरुले त्यसलाई आफ्नो स्वार्थमा प्रयोग गरिरहेका छन् । त्यसै सन्दर्भमा इतिहासकार लालबहादुर वर्माको भनाई छ कि ‘साम्राज्यवादको प्रतिरोध पनि भूमण्डलीकृत हुुनुपर्छ ।’ प्रस्तुत छ उनै वर्माको यो आलेखः
आज भूमण्डलीकरणको प्रतिरोध सामन्तवाद, पुँजीवाद र साम्राज्यवादको विरोधभन्दा पनि कठिन हुँदै गएको छ । के भूमण्डलीकरण त्यसै प्रकृतिको घटना वा चिज हो ? त्यत्तिकै जनविरोधी र प्रतिकार गर्नुपर्ने बिषय हो ? धेरैले त्यसरी नै हेर्छन् । तर त्यसरी सोच्नु गलत हुन्छ ।
के भूमण्डलीकरण सामन्तवाद, पुँजीवाद र साम्राज्यवाद जसरी नै गलत हो । त्यसलाई पनि सिद्धान्त र व्यवहारमा अस्विकार गर्न सकिन्छ त ? सकिन्न । विल्कुलै त्यसो गर्न सकिन्न र त्यसरी नै बुझ्न आवश्यक छ । भूमण्डलीकरण न सम्पूर्णरुपमा गलत छ न त चाहेर पनि, सम्पूर्ण शक्ति खर्चेर पनि त्यसलाई निषेध गर्न सकिन्छ । त्यसो गर्न अनावश्यक मात्र होईन सम्भव पनि छैन ।
भूमण्डलीकरण, उदारीकरण, नीजिकरण, बजारीकरण वर्तमान पुँजीवादको प्रवृत्तिगत चिनारीको सरल सुत्र हो । आजको पुँजीको प्रकृतिमा यो निहित छ । पुँजीवादको जन्मदेखि नै यो सबै हुँदै आएको छ । आज भूमण्डलीकरण यथार्थमा पुँजीको भूमण्डलीकरण हो । तर त्यति मात्रै भनेर पुग्दैन । आजको पुँजीवाद अत्याधिक जटिल, अत्यन्त आक्रामक, अधिक विज्ञापनमय, व्यापक सुक्ष्म र साँस्कृतिक भएको छ । त्यसैले यो आज एकदमै खतरनाक र इतिहास विरोधी बनेको छ ।
भूमण्डलीकरण वास्तवमा आधुनिकताको लाक्षणीक बिशेषता हो । आजको पुँजीवादी समाजमा मात्र होइन, समाजवादमा पनि त्यो त्यत्तिकै सत्य हुन्छ । त्यसैले भूमण्डलीकरण पुँजीवादको लागि मात्र होइन, समाजवादको लागि पनि अनिवार्य छ । भूमण्डलीकरणलाई रोक्न नसकिने मात्र होइन, आर्थिक पक्षमा मात्र छैन, राजनीतिक र साँस्कृतिक पक्षमा पनि उत्तिकै निहित छ र रहिरहनेछ । प्रश्न के हो भने कसद्धारा कसको हितमा कार्यान्वयन गरिन्छ ? यहाँ महत्वपूर्ण प्रश्न के हो भने भूमण्डलीकरण र विकेन्द्रीयकरण प्रयार्यवाची शब्द होइनन्, न त परिपुरक नै हुन् । विकेन्द्रीकरण र संघवादको अन्तर्यलाई प्रोत्साहित गरेर पनि भूमण्डलीकरणको सरलता प्राप्त गर्न सम्भव छ । समाजवादी भूमण्डलीकरणको त्यहि लक्ष्य हुनुपर्छ ।
भूमण्डलीकरणको साँस्कृतिक पक्षको विश्लेषण गर्ने हो भने के कुरा स्पष्ट हुन्छ भने विश्व संस्कृतिका आफ्ना कैयौं सकारात्मक र नकारात्मक पक्षहरुसहित नयाँ विश्व व्यवस्थामा गएको दशकमा मात्र निर्माण भएको होइन । त्यो पाँच सय बर्षदेखि अविछिन्न रुपमा चल्दै आएको छ । उसको गतिविज्ञान र प्रबिधिको विकासको गतिसँगै तिव्र भएर गएको छ । जसका कारण शासक वर्गको संस्कृतिको वर्चश्व बन्ने र बढ्ने क्रम तिव्र भएको छ । आधुनिक युगमा जब युरोपमा जब राष्ट्र राज्य विकसित भएका थिए तब संस्कृति पनि राष्ट्रिय संस्कृतिको रुपमा विकसित भएका थिए । आज सत्ताको चरित्र जब अन्तरराष्ट्रिय हुँदै गएसँगै संस्कृति पनि अन्तरराष्ट्रिय भएको छ । आज शासक वर्ग विश्वव्यापी बन्दै गएको छ । त्यसकारण खराब र बजारु शासकको संस्कृति पनि बजारु र कृतिम बनेको छ । त्यसको परिणाम संस्कृतिको मर्म–श्रृजनशिलता र मातृत्वपनमा स्खलन हुँदै आएको छ । एकतर्फी र विकृत भूमण्डलीकरणका कारण व्यक्ति–समुदाय–राष्ट्र सबै निरिह बन्दै गएका छन् । स्थानिय, राष्ट्रिय र विविधता (बहुलता) भूमण्डलीकरणका सामु जीवनमरणको लडाइँमा धकेलिएका छन् ।
पुँजीवादी व्याख्याकारहरु भूमण्डलीकरणलाई अनिवार्य मात्र होइन, अनिवार्य, सर्वशत्तिमान र रामवाण सरह अचुक प्रचार गर्न तल्लिन छन् । सैद्धान्तिक रुपमा यस्तो स्थितिमा धार्मिक कट्टरता र साम्प्रदायिकता कमजोर बन्दै गएको हुनुपथ्र्यो । तर पुँजीवाद त्यसलाई भरणपोषण गर्न बाध्य भएको छ । आखिर त्यसो किन त ? आफ्नो इतिहासको स्वर्णकालमा पुँजीवादले सामन्तवादलाई पराजित गरेपछि पनि त्यसैसँग साँठगाँठ गरेर २ सयबर्षसम्म जिवित राखेको थियो । सामन्तवादलाई कायम नराख्दा पुँजीवादको संघर्ष सिधैं सर्वहारा वर्गसँग हुन जान्थ्यो । त्यसैले श्रमिक वर्गलाई व्यत्ति, क्षेत्र, जात, भाषा र वर्गमा विभाजित गरेर पुँजीवादमाथी संगठित प्रहार गर्नबाट बचाउनका लागि उसलाई सामन्तवादको बचाउ गर्न आवश्यक छ । आज पुँजीवादी समाजमा विकास भैरहेको विकृती त्यत्तिकै पैदा भएको छैन । व्यक्ति र समाजमा जुन अनुपातमा तर्कशिलता र विवेकशिलता बढ्दै गएको छ, त्यहि स्तरमा रुढिवादी, नियतिवाद र प्रतिक्रियावादी प्रवृत्ति कमजोर हुँदै जानुपथ्र्यो । त्यसो भएको भए जनविरोधी शक्तिहरुको प्रभुत्व ध्वस्त भएर जाने थियो । त्यसकारण तत्कालको फाइदाको लागि आत्मघाती पछौटेपनलाई पनि प्रोत्साहित गरिएको छ । पुँजीवादले आज मात्र त्यसो गरेको होइन । पहिलो विश्वयुद्धपछि इटाली, जिर्मनी र स्पेनमा फाँसिवादको जन्म हुँदा पुँजीवादले त्यसलाई पालेको पोषेको थियो । सोभियत समाजवादका विरुद्ध त्यसलाई प्रयोग गर्न त्यसो गरिएको थिया । जब हिटलरले फ्रान्स र बेलायतलाई समेत कब्जा गर्ने उद्धेश्यले आक्रमण गर्यो तब मात्र भस्मासुर राक्षस जन्मेको थाहा पाए ।
आज भूमण्डलीकरणको बाढीले सबैभन्दा सु–संगठित संस्था राष्ट्र–राज्यमा पनि चिरा पर्न थालेको छ । जो १६ औं शताब्दिमा पुँजीवादी गढका रुपमा सबल बन्दै गएका थिए । त्यसको दमनकारी चरित्र बढ्दै गयो । त्यसकाविरुद्ध क्रान्तिहरु भए । समाजवादी क्रान्तिपछि राज्यहरु लोप हुँदै जानुपथ्र्यो । तर त्यसो भएन । तर आज भूमण्डलीकरण र अमेरिकी प्रभुत्वसामु देशहरुको सार्वभौमिकता हल्लिन थालेको छ । भारतीय राज्यपनि कैयौं पटक सार्वभौमिकतासामु सम्झौता गरिरहेको छ । यसले विघटनकारी तत्वहरुलाई पोसिरहेको छ । उदारता र आक्रमकताले सामुदायिक र सामाजिकलाई निर्बल बनाइरहेको छ । समाजमा सिर्जनशिल चेतलाई कमजोर बनाइरहेको छ । अनिवार्य र नैसर्गिक अन्तरसम्बन्ध विकृत र विरुप हुँदै गएको छ । विज्ञान र प्रबिधिसमेतलाई प्रगतिको अबरोधमा प्रयोग गर्न थालिएको छ ।
यद्यपि मान्छे सामाजिक मात्र होइन सांस्कृतिक प्राणी पनि हो । नैसर्गिक रुपमै मान्छे सामाजिक जसरी नै सांस्कृतिक प्राणी हो । संस्कृति ठुलाबडाको बपौती होइन । यो व्यक्तिको लाक्षणिकता हो । राम जतिसुकै आततायी भएपनि लव कुशको दमन दलन सम्भव छैन । यसकोे अर्थ संस्कृतिको क्षेत्रमा प्रतिरोधलाई कसैले रोक्न सक्नेवाला पनि छैन । त्यसो हो भने पहलकदमी लिन के गर्नुपर्ला त ? पहिले सांस्कृतिक भूमण्डलीकरणलाई बुझ्न आवश्यक छ । सूचना क्रान्तिको गन्तव्य के कता हो ? प्रष्ट छ कि बैद्धिक प्रकृया सूचना, ज्ञान, विवेकमा सूचनाको भूमिका सबैभन्दा तल हुन्छ । थाहा पाउनुलाई शिर्षासनमा राख्नुको अर्थ नबुझ्नु हुन जान्छ । बुझेपछि विवेकको ढोका खुल्दछ । विवेक शासक वर्गका लागि खतरनाक हुन्छ । सूचना दिने, ज्ञान नदिने प्रकृया चलिरहेको छ । भनिन्छ ज्ञान नै शक्ति हो । सोध्न सकिन्छ विवेक शक्ति किन होईन ? सांस्कृतिक मोर्चामा सूचनाको वर्चश्व र केन्द्रीकरणको विरोध हुनुपर्छ । हाम्रो कार्यभारका रुपमा क्विज कल्चर को मर्मलाई बुझ्न सक्नुपर्छ । त्यसको स्वरुपलाई बदल्न र वैकल्पिक माध्यमलाई विकास गर्ने कोशिस गर्नुपर्छ ।
दोस्रो प्रश्न सुख र आनन्दको हो । आज भारतसहित सारा दुनियाँमा भोग विलासलाई केन्द्रमा राखिन्छ । आज युरोप, अमेरिकाका कतिपय मान्छेमा पराभौतिक आनन्दको खोजीमा भौतारिने प्रवृत्ति देखिन थालेको छ । भारतको मध्यम वर्ग जसरी कतिपय अपराधबाट पार पाउन दान दक्षिणा, भजन किर्तन, तिर्थयात्राको बाटो समातिरहेका छन् । त्यसैले सम्पती र सुखको नयाँ परिभाषा आवश्यक भएको छ । समाजशास्त्र, शैक्षिक जगतमा विकास वैयक्तिक र सुख सामुदायिक हुन्छ । भौतिक आनन्दको उत्कर्ष सहभागिता हो ।
संसारको सबैभन्दा ठुलो आतंककारी शक्तिले आतंकवादको विरुद्ध सबैभन्दा ठुलो स्वरमा कुर्लिरहेको अवस्था छ । सबैभन्दा व्यवस्थित र नियोजित रुपमा मानवअधिकार हनन गर्नेले त्यसको वकालत गरिरहेको छ । अरु देशको जनतन्त्रमाथी मात्र होइन, आफ्नै देशको जनतन्त्रमाथी प्रहार गर्नेले लोकतन्त्रको हल्ला गरिरहेको छ । जनतन्त्रको लडाइँ मान्छेको जन्मकालदेखिको प्रवृत्ति हो । त्यसमाथी भयानक प्रहार भएको छ । गति अवरुद्ध मात्र होइन । तसर्थ साम्राज्यवादका विरुद्ध जनतन्त्रको भूमण्डलीकरणको मोर्चाबन्दी हुनुपर्छ । यसले साम्राज्यवादी भूमण्डलीकरणका विरुद्ध मात्र होइन, समाजवादी भड्कावका विरुद्ध पनि औँलो उठाउनेछ ।
भूमण्डलीकरणका सन्दर्भमा भाषाको बिषय पनि संकटका रुपमा रहेको छ । आज अंग्रेजी भाषा भूमण्डलीकरणको साधन बनेको छ । इन्टरनेटको भाषा अंग्रेजी छ । संयोग के भयो भने अमेरिकाको भाषा पनि अंग्रेजी नै हो । त्यसमा अंग्रेजी भाषाको के दोष ? अंग्रेजीको विश्वव्यापी प्रचार हुनुमा ऐतिहासिक कारण छ । अंग्रेज राज्यमा कुनैबेला न सूर्य अस्ताउँथ्यो न त अंग्रेजी भाषामा आज अंग्रेज राज्य पतन भएर गयो तर अंगे्रजी भाषा भने कायम रहिरहेको छ । यो भाषाको प्रवृत्तिले पनि त्यसो हुनुमा भूमिका खेलिरहेको छ । आज पनि अंग्रेजी सरल र सुबोध भाषाका रुपमा रहेको छ ।
अंग्रेजी भाषाले हरेक बर्ष सयौं विदेशी भाषाका शब्दलाई ग्रहण गरेर आफुलाई समृद्ध पार्ने गरेको छ । अंग्रेजी भाषालाई स्विकार गर्दै आ आफ्नो स्थानिय भाषाको विकासमा लाग्नु आजको आवश्यकता हो । उदाहरणका लागि हिन्दी भाषाले या चुनौतीको सामना गर्नुपर्छ या त पछौटे र दासत्वपूर्ण बनिरहनुपर्छ । हिन्दी भाषा, साहित्यमा लागेकाहरुले त्यसलाई आत्मसाथ गर्न सकेका छैनन् ।
समग्रमा आजको विकृत र एकपक्षिय भूमण्डलीकरणले मान्छेमा परायापन र निरिहता थोपरेको छ । यसले मान्छेलाई विकल्पहिनता तिर धकेलिरहेको छ । यस्तो अवस्थामा सपना उमार्नु पहिलो काम हो । अर्को दुनियाँ सम्भव छ भन्ने देखाउन सक्नु हो । आत्मविस्वास र आत्मसम्मानको संकट पैदा भएको छ । पुँजीवादले मानवताको शत्रु भूमण्डलीकरणलाई आफ्नो हितमा प्रयोग गरिरहेको छ । त्यसको समाधान राष्ट्रवाद होइन समाजवाद मात्र हो । समाजवादी भूमण्डलीकरण मात्र हो । साम्राज्यवादी प्रतिरोधको पनि भूमण्डलीकरण आवश्यक छ । आजको श्रृजन र संघर्ष दुवै विश्वव्यापी हुनुपर्छ ।