काठमाडौँ ।
आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले युएइलाई पराजित गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले युएईलाई डीएल पद्दतिको आधारमा ९ रनले हराएको हो । युएइमाथिको जितसँगै नेपाल जिम्बावेमा आयोजना हुने एकदिवसीय विश्वकपको छनोटमा परेको छ । युएईले दिएको ३ सय ११ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । त्यसपछि खराब प्रकाशको कारण खेल रोकियो । नेपाल ‘डीएल मेथड’को आधारमा ९ रनले विजयी घोषित भयो । टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय १० रन बनाएको थियो । युएइमाथि जित निकाल्ने क्रममा कुशल भुर्तेल, आरिफ शेख, भिम सार्की र गुलशन झाले अर्धशतकीय इनिङ खेले ।
कुशलले ५० रन बनाए भने आरिफले ५२ रन बनाए । भिमले ६७ रनको योगदान दिँदा गुलशन ५० रनमा अविजित रहे। कप्तान रोहित पौडेल १६ रनमा आउट हुँदा कुशल मल्ल ५ रनमा आउट भए । आसिफ शेख सुन्य रनमा पेभेलियन फर्किए भने दीपेन्द्र सिंह ऐरी १० रनमा अविजित रहे । युएईका जुनेद सिद्दिकीले ३ तथा आयान अफजल खानले २ र जाहोर खानले १ विकेट लिए ।

एकदिवसीयमा नेपालविरुद्ध कुनैपनि टोलीले बनाएको यो सर्वाधिक ठुलो योगफल हो । यस अघि नेपालविरुद्ध पीएनजीले २ सय ९२ रन बनाएको थियो । युएईका लागि आसिफ खानले शतकीय इनिङ खेले । नेपालका दीपेन्द्र सिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी, सन्दीप लामिछाने र सोमपाल कामीले १/१ विकेट लिएका थिए । युएईलाई हराएसँगै नेपालले लिग टूको तेस्रो स्थानमा पुगेको छ ।
जिम्बाब्बेमा हुने वर्ल्ककप क्वालिफायरमा आईसीसी सुपर लिगका पुछारका ५ टिम, लिग टु को शीर्ष तीन टिम र प्लेअफ क्वालिफायरबाट आउने शीर्ष दुई टिम गरी १० टिमले प्रतिस्पर्धा गर्नेछन् । लिग टुबाट स्कटल्याण्ड, ओमान र नेपालले स्थान पक्का गरिसके । सुपर लिगबाट जिम्बाब्बे र नेदरल्याण्ड्सले खेल्ने पक्का भइसकेको छ भने तीन टिमको टुङ्गो लाग्न बाँकी छ ।








































