तत्कालीन नयाँ शक्ति पार्टीको आर्थिक अभियान अन्तर्गत माथिल्लो मैलुङखोला ए जलविद्युत आयोजनामा शेयरका लागि विवेकशील इन्भेष्टमेन्ट कम्पनीले सर्वसाधारण र पार्टी कार्यकर्ताबाट संकलन गरेको रकमबारे पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई बोलेका छन् । सामाजिक सञ्जालमा भट्टराईले रकम हिनामिना नभएको भन्दै लगानीकर्तालाई कागले कान लग्यो भनेर कागको पछि नदगुर्न सुझाएका छन् । झण्डै ५ वर्ष अघि सर्वसाधारणबाट करोडौँ रकम संकलन गरी आयोजनामा शेयर हाल्ने भनिएपनि हालसम्म लगानीकर्तालाई आफूले लगानी गरेको रकमबारे केही जानकारी छैन । आफूहरु ठगीएको भन्दै लगानीकर्ता कानुनी उपचारको खोजीमा लागेपछि बुधबार कम्पनपोष्ट डटकम लगायतमा सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो ।
यो पनि पढ्नुहोस् पैसा कुम्ल्याउने हराम, दोष पाउने बाबुराम ?
समाचार प्रकाशन र प्रशारण भएपछि केही तथ्यहरु पनि उजागर भएका छन् । सम्झौता र चिठीहरु सार्वजनिक भएका छन् । यद्यपी त्यतिबेला सर्वसाधारणबाट रकम उठाएको विवेकशिल इन्भेष्टमेन्ट कम्पनी भने अहिले निस्क्रिय छ ।
शेयर प्रकरणका विषयमा उठेका केही प्रश्न
१.जनताले खाई नखाई मासिक २/३ प्रतिशत ब्याजमा ऋण काढेर लगानी गरेको रकम ४/५ बर्ष सम्म किन लगानीकर्तालाई जानकारी गराइएन ?
२. लगानीकर्ताले सञ्चारमाध्यममा गएर धारणा राखेपछि मात्रै विभिन्न समयमा सहमति गरिएको पत्र सार्वजनिक भयो । त्यो सम्झौताबारे लगानीकर्तालाई किन गुपचुपमा राखियो ?
३. गोप्य सम्झौताको परिणाम आधिकारिक कम्पनीले हाल रकम फिर्ता गर्न नसकिने भन्ने विज्ञप्तिले प्रष्ट छ, यो लगानी कर्ताको आखाँमा छारो हाल्ने सहमति त होइन ?
४. जनताले खाई नखाई मासिक २/३ प्रतिशत ब्याजमा ऋण काढेर लगानी गरेको रकम ४/५ वर्षपछि अझै धैर्य गर भन्नुले त्यो लगानीको ब्याजसहित लाभांश आउन कति समय लाग्छ र त्यतिबेला सम्म लगानीकर्ताको रकम ऋण धन कति हुन्छ भन्ने हिसाब किन आएन ?
५. लगानी सम्झौता के थियो ? कुन कुन सालमा कति रकम प्राप्त भयो करार बमोजिम आयोजनाको लागत कति हो हालको कुल लागत कति रहेको छ ? आयोजनाको अवस्था के छ ? किन प्रष्ट भनिएन ?
६. आजसम्म आयोजनाले लगानीकर्तालाई शेयर प्रमाणपत्र किन दिएन ?
७. लगानी गर्न उत्साहित गर्नेले नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? पर्छ भने अरुलाई गाली किन ?
Recent Comments