काठमाडौं ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३३ पुगेको छ । गोरखा अस्पतालमा गएराती एकजना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या ३३ पुगेको हो ।
उपचाररत पालुङटार नगरपालिका-७ का ४४ वर्षीय पुरुषको शनिबार बिहान पाँच बजेर पाँच मिनेट जाँदा निधन भएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
ती व्यक्ति दीर्घरोगी रहेको र कोरोना संक्रमणसँगै निमोनियाबाट ग्रसित रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापाले जानकारी दिएका छन्।
यस्तै हिजो पनि एकजना मृतकमा कोरोना संक्रमण पुष्टी भएको थियो । काठमाडौं नयाँ बानेश्वरका एक ८५ वर्षिय वृद्धको मृत्यु भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ बानेश्वर बस्ने ८५ वर्षीय वृद्धको राजधानीको एक निजी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। छाती दुख्ने समस्या र पिसाबमा समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको १७ गते राति मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार नाघीसकेको छ । हिजो एकै दिन ७ सय भन्दा बढीमा संक्रमण देखिएको थियो ।