आन्तरिक झगडाको मारमा परेर पार्टी फुटेपछि एमालेका तेस्रोधारका नेताहरु अन्ततः ओलीसँग नै रहने भएका छन् । माधव नेपालसँग रहेर ओलीविरुद्ध विद्रोह गरेपनि नेपालले नयाँ पार्टी दर्ता गरेसँगै उनीहरु भने केपीकै पक्षमा उभिएका हुन् ।
सोमबार बिहानैदेखि बालकोटमा भएको छलफलमा १० बुँदे कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओली तयार भएपछि विगतमा माधव नेपाल समूहमा रहेका स्थायी कमिटीका नेताहरु एमालेमै रहने निष्कर्षमा पुगेको खबर छ ।
नेता योगेश भट्टराईले पार्टीभित्रको विवाद मिलिसकेको र पार्टी एक भएको प्रतिक्रिया दिनुभएको छ । यस्तै नेता सुवास नेम्वाङले भोली स्थायी समिति बैठक बस्ने र पर्सिबाट नै माधव नेपाललाई मनाउन प्रयास गरिने बताउनुभएको छ ।
तेस्रो धारका नेताहरुसँगको छलफलपछि अध्यक्ष ओलीले माधव नेपालले नयाँ पार्टी गठनको प्रक्रिया छोडे कारबाही नहुने प्रतिक्रिया दिनुभएको छ ।
ओली निवास बालकोटमा भएको छलफलमा तेस्रोधारका नेताहरुले पार्टी एकताका लागि १० बुँदे कार्यान्वयनमा ओलीको प्रतिवध्दता खोजे । उनीहरुको सम्बोधन गर्न ओली तयार भएपछि भोलि नै २०७५ जेठ २ को स्थायी कमिटीको बैठक बस्ने गरी छलफल टुंगिएको छ ।
यसअघि अध्यक्ष ओलीले पार्टी विभाजनमा पुगिसकेकाले १० बुँदेको औचित्य नरहेको बताउनुभएको थियो ।




















































