काठमाडौँ ।
नेकपा माओवादी केन्द्रका सांसद हितबहादुर तामाङले सिसडोल बञ्चरेडाँडाको यथार्थ स्थिति बुझ्न सर्वदलीय समिति बनाउन माग गर्नुभएको छ। पूर्वमन्त्रीसमेत रहेका सांसद तामाङले नुवाकोटको सिसडोल बञ्चरेडाँडामा फोहोर फाल्दा काठमाडौँ महानगरपालिकाले संविधानसमेत मिचेको बताउनुभएको छ । उहाँले सो क्षेत्रका जनतालाई रोजगार दिने, विकासका पूर्वाधारहरुको निर्माण गर्ने, शिक्षामा सहयोग गर्ने, स्वास्थ्यमा सहयोग गर्ने, वातावरण र पर्यावरणको रक्षा गर्ने कुरा गरिएपनि त्यस्तो नभएको बताउनुभयो । ‘के भयो भने फोहोरसँग सँगै कुकुर गयो । बिरालो गयो । काग गयो । चिल गयो । गिद्ध गयो । र त्यहाँ पूरै प्रदुषण गर्ने काम भयो । र एकप्रकारले त्यहाँका जनतालाई संविधानले नै व्यवस्था गरेअनुसारको संविधानको धारा ३० मा र उपधारा १ र २ मा भएअनुसारको व्यवस्था जसरी पर्यावरण र वातावरणसँग सम्बन्धित समस्याले जनतालाई प्रताडित तुल्याइयो ।’ उहाँले भन्नुभयो ।
सांसद तामाङले संविधानमा पर्यावरण र वातावरणसँग सम्बन्धित समस्याले पीडित बनाइयो भने तिनलाई राहत दिने भनेर उल्लेख गरिएको जानकारी गराउँदै स्वच्छ वातावरणमा समेत बस्न पाउने नागरिकको अधिकार नगरेर काठमाडौँ महानगरपालिकाले संविधान मिच्ने, आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने काम गरेको बताउनुभयो ।
सांसद तामाङले सिसडोल बञ्चरेडाँडाका प्रभावित बासिन्दालाई जग्गा अधिग्रहण गरी मुआब्जा दिन र त्यहाँको यथार्थ स्थिति अध्ययन गर्न सर्वदलीय समिति बनाउन माग गर्नुभयो । ‘म के ध्यानाकर्षण गराउन चाहन्छु भने यो काठमाडौँ महानगरपालिकाले बाराम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकारलाई कुण्ठित तुल्याउने काम किमार्थ गर्न पाइन्न र त्यहाँका जनतालाई फोहोरसँग अलग राख्नको निमित्त वैज्ञानिक ढंगले जग्गाको रेखाङ्कन गरेर त्यहाँका प्रभावित किसानहरुलाई जग्गाको अधिग्रहण गरी उनीहरुलाई मुआब्जा दिने व्यवस्था गरियोस् ।’ उहाँले भन्नुभयो, ‘के माग गर्न चाहन्छु भने यो संसदले सर्वदलीय समिति बनाएर त्यहाँको यथार्थ स्थितिको अध्ययन गरेर सरकारलाई सुझाव दिनको निमित्त प्रतिवेदन तयार गराउने हिसाबले संसदको ध्यानाकर्षण गराउन चाहन्छु । सभामुखमार्फत सरकारलाई र काठमाडौँ महानगरपालिकालाई त्यही किसिमको निर्देशन दिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु ।’
माननीय हितबहादुर तामाङले संसदको विशेष समयमा राखेको भनाइ (पूर्णपाठ)
मिति २०८० वैशाख ५ गते
सम्माननीय सभामुख महोदय,
अहिले काठमाडौँ उपत्यकाका मेयर साहेब अलि धेरै नै चर्चामा आउने गर्नुभएको छ । र चर्चा यसकारणले कि उहाँले पटक पटक हरेक सवालमा संविधान मिच्ने आफ्नो कर्तव्य र जिम्मेवारी बोध नगर्ने र गैरउत्तरदायी ढंगले प्रस्तुत हुने तरिकाले यो अवस्था सिर्जना भइराखेको छ । गत चैत ११ गते काठमाडौँ महानगरपालिकाले एउटा सूचना जारी गरेको थियो कि, काठमाडौँ उपत्यकाका नदिका किनारहरुमा रहेका अनधिकृत बसोबासलाई ७ दिनभित्रमा हटाउनको निमित्त अनुरोध गर्नुभएको थियो । निर्देशन दिनुभएको थियो । यदि नहटाइएमा त्यसलाई क्षतिपूर्ति सम्बन्धित व्यक्तिले नै बेहोर्नेगरी महानगरपालिकाले हटाइनेछ भन्ने कुरा पनि त्यसमा थियो । त्यो सरासर आफैँमा संविधान विरोधी कुरा थियो । नेपालको संविधानको अनुसूची ९मा यो सुकुम्बासीसँग सम्बन्धित समस्या संघ प्रदेश र स्थानीय तहले समन्वयात्मक ढंगले समाधान गर्नेगरी साझा सूचीमा व्यवस्था गरिएको छ । फेरि अर्को एउटा उहाँले आफ्नो भनाइ सार्वजनिक गर्नुभयो चैत २६ गते, सिंहदरबार र अति विशिष्ट कार्यालयहरुको फोहोरमैला उठाइनेछैन । यदि कसैले उठाएमा त्यो सम्बन्धित उठाउने संस्थाको इजाजत पत्र समेत खारेज गरिनेछ भनेर धम्कीपूर्ण तरिकाले गैरजिम्मेवारीपूर्ण तरिकाले उहाँले अभिव्यक्ति दिनुभयो ।
म फोहोरसँगै सम्बन्धित भएर केही कुरा अगाडि बढाउन चाहन्छु सभामुख महोदय । म नुवाकोट जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रबाट निर्वाचित जनप्रतिनिधिको हैसियतले बोल्दैछु । अहिले काठमाडौँ उपत्यकाको, खासगरी काठमाडौँ महानगरपालिकाको नेतृत्वमा काठमाडौँ उपत्यकाभित्रका १८ वटा पालिकाको फोहोर १७ वर्षदेखि नुवाकोटको सिसडोलमा फालिँदै आएको छ । १७ वर्ष पहिला २०६२ साल जेठ १ गते काठमाडौँ महानगरपालिका, ललितपुर उपमहानगरपालिका, तत्कालको फोहोर प्रबन्ध तथा परिचालन केन्द्र र स्थानीय सरोकारवालाहरुको बिचमा एउटा सम्झौता भएको थियो । त्यो सम्झौता हुँदाखेरि तीन वर्षसम्मको लागि ओखरपौवाको सिसडोलमा फोहोर फालिनेछ । तीन वर्ष भित्रमा त्यसको विकल्पमा बञ्चरेडाँडामा स्थायी प्रकृतिको अत्याधुनिक फोहोर फाल्ने डम्पिङ साइट निर्माण गरिनेछ भनिएको थियो ।
३ वर्षको लागि भनेर फोहोर फाल्न थालेको त्यो सिसडोलमा १६ वर्षसम्म फालियो । तीन वर्षमा निर्माण गरिने भनेको त्यो डम्पिङ साइट १६ वर्षपछि भर्खरै निर्माण भयो । र त्यो बिचमा सिसडोलका जनतालाई त्यहाँका ओखरपौवाबासी जनतालाई चाउथेका जनतालाई धादिङको धुनिबेसीका जनतालाई रोजगार दिने कुरा गरिएको थियो, विकासका पूर्वाधारहरुको निर्माण गर्ने कुरा गरिएको थियो, शिक्षामा सहयोग गर्ने कुरा गरिएको थियो, स्वास्थ्यमा सहयोग गर्ने कुरा गरिएको थियो, वातावरण र पर्यावरणको रक्षा गर्ने कुरा गरिएको थियो तर त्यो बिचमा केही भएन । त्यहाँ मात्रै के भयो भने फोहोरसँग सँगै कुकुर गयो । बिरालो गयो, काग गयो, चिल गयो, गिद्ध गयो र त्यहाँ पूरै प्रदुषण गर्ने काम भयो । एकप्रकारले त्यहाँका जनतालाई संविधानले नै व्यवस्था गरेअनुसारको संविधानको धारा ३० मा र उपधारा १ र २ मा भएअनुसारको व्यवस्था जसरी पर्यावरण र वातावरणसँग सम्बन्धित समस्याले जनतालाई प्रताडित तुल्याइयो । पीडित बनाइयो भने तिनलाई राहत दिने भनेर संविधानमा समेत भनिएको छ । र स्वच्छ वातावरणमा समेत बस्न पाउने नागरिकको अधिकार सुरक्षित हुन्छ भनेर भनिएको छ त्यो गरिएन । र, अहिले पनि भर्खरैदेखि केही महिनाअगाडिदेखि बञ्चरेडाँडाको डम्पिङ साइट जुन धादिङ र नुवाकोट जिल्लाको सिमानामा पर्छ त्यहाँ फोहोर फाल्न थालिएको छ । त्यहाँ कसरी फालिएको छ, फोहोरलाई व्यवस्थित ढंगले छोप्ने क्यापिङ गर्ने र त्यसको दुर्गन्ध स्थानीय जनसमुदायमा फैलन नदिने भनिएको छ । तर क्यापिङसमेत राम्ररी गरिएको छैन । जसको कारणले गर्दाखेरि त्यहाँ अहिले पनि चिल, गिद्ध, स्याल, कुकुर त्यत्तिकै क्रिडा गरिराखेका छन् । जसको कारणले त्यहाँ रेबिजग्रसित कुकुरले स्थानीय किसानहरुको बाख्रा र पाठाहरु मारिराखेका छन् भन्नेखालका खबर आउन थालेका छन् । त्यतिमात्रै होइन चिल र गिद्धले फोहोरमा भएको सिनोलाई उठाएर त्यहाँ जनसमुदायको घरघरमा आँगनमा बिच्छ्याइएको बिस्कुनमा समेत फाल्ने कामहरु भइराखेको भनिएको छ । म के ध्यानाकर्षण गराउन चाहन्छु भने यो काठमाडौँ महानगरपालिकाले बाराम्बार संविधान मिच्ने र संविधानमा व्यवस्था भएको जनताको अधिकारलाई कुण्ठित तुल्याउने काम किमार्थ गर्न पाइन्न र त्यहाँका जनतालाई फोहोरसँग अलग राख्नको निमित्त वैज्ञानिक ढंगले जग्गाको रेखाङ्कन गरेर त्यहाँका प्रभावित किसानहरुलाई जग्गाको अधिग्रहण गरी उनीहरुलाई मुआब्जा दिने व्यवस्था गरियोस् र त्यसका साथसाथै अन्तिममा के माग गर्न चाहन्छु भने यो संसदले सर्वदलीय समिति बनाएर त्यहाँको यथार्थ स्थितिको अध्ययन गरेर सरकारलाई सुझाव दिनको निमित्त प्रतिवेदन तयार गराउने हिसाबले संसदको ध्यानाकर्षण गराउन चाहन्छु । सभामुखमार्फत सरकारलाई र काठमाडौँ महानगरपालिकालाई त्यही किसिमको निर्देशन दिनको निमित्त म हार्दिक अनुरोध गर्न चाहन्छु । धन्यवाद ।