नेकपासहित ६ दल र २ मोर्चाले आज दिउँसो संसद् भवनअगाडि प्रदर्शन गर्दैछन् । राष्ट्रघाती अमेरिकी परियोजना एमसीसीविरुद्ध देशभक्त तथा क्रान्तिकारी पार्टी र मोर्चाले आज अपराह्न संसद् भवनअगाडि प्रदर्शन गर्न लागेका हुन् । एमसीसीविरुद्ध सङ्घर्षकै क्रममा हिजो देशव्यापी कोणसभा र प्रदर्शनहरु भएका छन् । प्रचण्ड र देउवाको समेत पुत्ला जलाइएको छ । आज पनि संसद् भवनलगायत देशैभरि प्रदर्शन, एमसीसी सम्झौता, प्रचण्ड, देउवालगायत एमसीसी पक्षधर पार्टीका नेताहरुको पुत्ला जलाउने कार्यक्रम रहेको जानकारी ती दलहरूले दिएका छन् ।
संसद्वादी पाँचदलीय गठबन्धनका प्रधानमन्त्री शेरबहादुर देउवा र उक्त गठबन्धनको एक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसीलाई लेखेको गोप्य पत्र सार्वजनिक भएसँगै देशभक्त तथा क्रान्तिकारी जनमत त्यसको प्रतिरोधका लागि सडकमा उत्रिएको
एमसीसी सम्झौतालगायत राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा संयुक्त रूपमा आन्दोलन गर्दै आएका नेकपासहित ६ दल र दुई मोर्चाले मङ्गलबार काठमाडौँ उपत्यकालगायत देशभर कोणसभा आयोजना गरी एमसीको विरोध गरेका छन् भने नेकपाका विभिन्न जवसले संयुक्त रूपमै एमसीसी सम्झौता, प्रचण्ड र देउवाका पुत्ला जलाएका छन् ।
आन्दोलनरत ६ दल र दुई मोर्चाले माघ २६ गते संसद् भवनअगाडि प्रदर्शन गर्ने निर्णय सार्वजनिक गरेका थिए । आज संसद् बैठक आह्वान गरिएपनि फागुन २ गतेसम्मलाई स्थगन भएको छ । गत आइतबार संयुक्त वक्तव्य जारी गर्दै ६ दल र दुई मोर्चाले २५ गते देशभर संयुक्त कोणसभा गर्ने, २६ गते काठमाडौँमा संसद् भवन घेराउ गर्ने र सोही दिन देशैभर जिल्ला सदरमुकामहरूमा प्रदर्शन गर्ने निर्णय गरेका थिए ।
संयुक्त वक्तव्य जारी गर्नेहरूमा नेकपाका महासचिव विप्लव, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुती, नेकपा माओवादी केन्द्र समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल र राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी छन् ।
संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आन्दोलनरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाको बैठक आज २०७८ माघ २३ गते नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा बस्यो । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनतामाथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै यसका विरुद्ध सशक्त आन्दोलन सृष्टि गर्न आम देशभक्त जनसमुदायहरूसँग हामी गम्भीर अपिल गर्दछौँ ।’
Recent Comments