-मनोज घिमिरे
म सानो हुँदा मेरो हजुरबुवा भन्ने गर्नुहुन्थ्यो “उत्तम कृषि, मध्यम व्यापार र तुच्छ जागीर” । यो बुझ्न मलाईं जीवनको ४० औँ बसन्त पार गर्नुपर्यो । लाग्दथ्यो हजुरबुवाले यो के भन्नु भएको होला । किनकी हामो बुवा जागीरे हुनुहुन्थ्यो र जागीरलाइ तुच्छ भन्दा त कता कता मनमा चस्को पथ्र्याे । हजुरबुवाले के भन्नु भएको होला यस्तो तुच्छ जागीर भन्ने प्रश्न मनमा उब्जिन्थ्यो । किनकी हामी बुवाको महिनावारी तलवमा जो रमाइरहेका थियौं । जीवनको कालखण्ड बित्दै गयो , अनुभव संगालिँदै गए ।
अहिले २०७७ सालमा आइपुग्दा यस्तो कालखण्डमा आइपुग्यौं कि कोरोना भन्ने महामारीले आतंक मच्याइ संसारका मानिसहरुलाई घरभित्रै थुनिएर बस्न बाध्य पार्यो । यही मौकालाई सदुपयोग गर्दै म हाम्रो खेतवारीमा दिनहुँ धाउन थालेँ । खेतवारी त थियो नै तर पूर्णरुपले खेति किसानको स्वादिलो अनुभव लिन पाएको थिइनँ । त्यती डटेर काम नगर्ने, सजिलो उपाय अपनाउने (खेती भए हुन्छ नभए पनि हुन्छ पाराले) गरेको थिए ।
जब लकडाउन भयो, त्यो समयसम्म मकै झण्डै गोड्ने भइसकेको थियो । हरेक बिहान कोदालो बोकेर खेत बारीतिर जाने र गोड्ने क्रम शुरु भयो । झण्डै एक बिगाहाको मकै तीनदिनमा ७ जनाले गोडेर सकियो । मकै बढ्दै हुर्कंदै गयो । हुर्कंदै गर्दापनि बेलाबेलामा छाँट्नुपर्ने देखि मौसमको स्थितिलाई बुझेर पानी पनि दिनुपर्ने (अतिनै खडेरीको बेला) । मकै रोप्दादेखि लिएर मकैलाइ दाना बनाएर नभित्र्याउन्जेलसम्म त यति धेरै मेहेनत, श्रम र शक्तिको खर्च हुनेरहेछ जस्को मैले कुनै मुल्य नै देखिनँ । र मलाईं किसान हुनुको एक खाले अनुभुति हुँदैगयो ।
संयूक्त राष्ट्रसंघको आँकडा अनुसार आज विश्वको जनसंख्या ७ दशमलव ८ अरब छ । अनुसन्धानले यो देखाएको छ कि मानिसलाइ पेटभरी दिनको तीनपटक खाना खाँदा पनि २००० ग्राम अर्थात २ किलो सरदरमा खाने गरेको अनुसन्धानमा देखिन आएको छ । यस हिसाबमा पनि ७ दशमलव ८ अर्ब जनसंख्यालाइ २००० किलोग्रामले गर्दा पनि खरबौं खरब ग्राम प्रतिदिन चाहिनेगर्छ । प्रत्येक वर्ष १ दशमलव ३ अरब टन खाद्यान्न उत्पादन हुन्छ । यस उत्पादनको एकतिहाई त बर्बाद हुन्छ । जसमा फलफुल तरकारी ४५ प्रतिशत, माछा र समुन्द्री भोजनमा ३५ प्रतिशत, अनाज ३० प्रतिशत, डेरी उत्पादन २० प्रतिशत र मासु २० प्रतिशत छन् । विश्वभर यतिधेरै खाद्यान्न उत्पादन गर्दापनि आज धेरै देशहरु भोकमरीले ग्रस्त छन् । किन ? यत्रो बर्बाद गरिएको खद्यान्नलाइ त्यो ठाउँमा वितरण गरिदिए हुने, तर गरिँदैन् । यो हामी सबैलाई उपभोग गर्न सिकाइएको छ उत्पादन गर्न होइन । हामी किसानहरुले यो कुरा बुझ्नु पर्नेहुन्छ ।
हाम्रो देशको सन्दर्भलाइ हेर्ने हो भने, हामीकहाँ ३ करोड जनसंख्या छ । हाम्रो देशमा जम्मा आवादी जमिनको क्षेत्रफल सन् २०१८ को आँकडा अनुसार करिब ४१२१० वर्गकिलोमिटर रहेको छ । २०२० सम्म यसलाइ नै कृषिभूमि क्षेत्र मानिएको छ । हाम्रो कुल ग्राहस्थ उत्पादन ५१% पहिलो सेवा क्षेत्रबाट आउने रहेछ । दोस्रो कृषि क्षेत्रबाट र तेस्रो उद्योगधन्दाबाट आउने गरेको छ । अधिकाँश नेपाली जनसंख्या ग्रामीण भुभागमा अवस्थित छ र आफ्नो जिविकाको लागी कृषीमा निर्भर छन । भनिन्छ, नेपाल कृषिप्रधान देश तर आँकडा तथा कुल ग्राहस्थ उत्पादनले सेवालाइ नै प्रधान देखाएको छ । कसरी हामी कृषिप्रधान भयौं ? आँकडा हेर्दा त सेवा प्रधान भयौं ।
किसान एउटा मर्यादित पेशा हो । जसले संसारमा रहेका सबै प्राणीलाई जोगाउने र वचाउने काम गर्दछ । किसानले सर्प पाल्छन्, भ्यागुता पल्छन्, चराचरुङ्गी पाल्छन् । त्यहि किसानले उत्पादन गरेको खाद्यान्न खाइ अन्य प्राणी समेत रमाइरहेका हुन्छन् । यसरी सर्वप्रिय किसान पेशालाइ हेलाको भावले हेरिन्छ । किसानलाई विवाह गर्नुपरेमा आफ्नो छोरी दिन सितीमिती तयार हुँदैनन् । बरु विदेशतिर जस्तोसुकै कार्य गरेर किन बसेको नहोस्, छोरी दिन बावुआमा दाम्लो छिनालेर अगाडी बढ्छन् ।
म त भन्छु किसान पेशा विश्वको शक्तिशाली पेशा हो । संसारको शक्तिशाली मान्छे नै किसान हो । किसानले उत्पादन गरे त सबै बाँचे नत्र चैट । हाम्रो देशमा सम्पूर्ण कृषि सामग्री आयतीत छ । मल, विउ सबै आयतीत । हामी कृषि मुलुक भन्छौं र फेरि पनि कृषिमा आत्मनिर्भर छैनौं । अहिलेसम्मको अवस्थामा परनिर्भर नै छौं । कृषि उत्पादन सँगसँगै जैविक मल किसानलाई आफ्नो खेतवारीको लागि आफैं उत्पादन गर्न सिकाउने हो भने पक्कैपनि हामीले आयतीत रसायनिक मलबाट छुट्कारा पाउन सक्थ्यौं । सम्पूर्ण अर्गानिक उत्पादन हुनेथियो । खेतिपातीको लागि गाईवस्तु पाल्नै पर्ने र यसबाट खेतवारीका लागि गोबरमल पर्याप्त हुन गई कृषि उत्पादनलाई बढाउँछ । आफ्नो खेतकान्ला वरपर रुखविरुवा लगाई डालेघाँसको उत्पादनले बाख्रापालनमा टेवा पुग्छ । जसले गर्दा जंगल जाने झन्झटबाट मुक्ति पाइन्छ ।
नेपालमा किसानलाईं खर्च धान्न पनि धेरै गाह्रो छ । जब धान, मकै, गहुँ अन्य बाली उत्पादन हुन्छ । ठ्याक्कै त्यही समयमा सबै बालीको दरभाउ आदिभन्दा बढि घटेको हुन्छ । उत्पादनमा पसिना बगायो, बजार पुर्यायो, मुल्य पाइँदैन । निरास भयो फर्कियो । सम्बन्धित निकाय कसैको ध्यान यसतर्फ गएको देख्दिनँ । तरपनि किसानीले पुर्णरुपमा आत्मनिर्भर बनाउँछ । न ग्याँस किन्नको चिन्ता, न खाद्यान्न सकियो के खाने भन्ने चिन्ता, तरकारी किन्न बजार जाने झन्झटबाट मुक्ति । सबैभन्दा मिठो कुरा त रातमा साह्रै मिठो निन्द्रा लागेर मस्त निदाउन पाउनु ।
यो लकडाउनले मलाईं सिकाएको पाठ किसान त त्यो रहेछ जो दिनरात माटोसँगै सुत्छ, खेल्छ, र माटोलाई चुम्न जानेको छ । पृथ्वीको एउटा मात्र नायक हो किसान । यतिबेला व्यापार व्यवसाय ठप्प छ । विश्व नै आर्थिक मन्दीको अवस्थामा पुगेको छ । खाद्यान्नका लागि विकल्पहरुको खोजी हुन थालेका छन् । नेपालमा प्रशस्तै सम्भावना भएको कृषि क्षेत्रलाई उचित सम्बोधन राज्यको तर्फबाट पनि र नागरिकस्तरबाट पनि हुने हो भने कोरोना कहरले कृषि सदाबहार उत्तम उपाय रहेछ भन्ने ज्ञान दिन्थ्यो ।