–रामकृष्ण भण्डारी
कोरोना महामारीको पहिलो चरणको प्रभावका कारण रूपन्देहीका पत्रकार हिक्मत चौधरीले २०७७ सालमा रोजगारी गुमाए । महामारीको दोस्रो लहरको सङ्क्रमणले आफैँलाई छोपेपछि बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा भर्ना भएका चौधरीले जेठ पहिलो साता ज्यानै गुमाए ।
नेपाल पत्रकार महासङ्घले दिएको जानकारीअनुसार कोरोना भाइरस सङ्क्रमणका कारण यो लेख लेख्दासम्म १९ जना पत्रकारको मृत्यु भएको छ । ९ सयभन्दा बढी पत्रकार सङ्क्रमित भएका छन् । पछिल्ला केही दिनयता कोरोना सङ्क्रमणको दर बढिरहेकाले चुनौतीपूर्ण यस अवस्थामा सम्भावित जोखिमको ख्याल गरी सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरू अवलम्बन गर्दै पेसागत कर्ममा जुट्न पनि महासङ्घले सबै पत्रकारहरूलाई अपिल गरेको छ ।
विश्वलाई नै चुनौती बनिरहेको कोरोना भाइरस सङ्क्रमणको यो महामारीमा दुनियाँलाई घरभित्रै बस्न अपिल गर्दै पत्रकारहरू आफू भने दैनिक रूपमा कार्यक्षेत्रमा खटिएर सत्यतथ्य समाचार सङ्कलन, प्रकाशन तथा प्रसारणमा सक्रिय हुनुपरेको छ । कोभिड सङ्क्रमितको उपचार हुने अस्पताल, सङ्क्रमण फैलिएको क्षेत्र तथा समुदाय, शवदाहस्थल वा हरेक क्षेत्रमा पुग्नुपर्ने संवाददाता, फोटो वा क्यामरा पर्सन अझ बढी जोखिममा छन् । त्यसैले पनि पत्रकारहरू जो सङ्क्रमित भए, तीमध्ये अधिकांश कामकै सिलसिलामा खटिँदा सङ्क्रमित हुन पुगेका हुन् ।
पत्रकारलाई रोग र भोकको चिन्ता
नेपाल टेलिभिजनका रूपन्देही संवाददाता केशव भण्डारीलाई वैशाख अन्तिम साता कोभिड सङ्क्रमण देखियो । त्यसपछि उनी १५ दिनभन्दा बढी घरमै बसे । त्यसबिचमा उनको एउटै चिन्ता आफू र श्रीमतीले समेत कोरोनालाई कसरी पराजित गर्ने भन्ने र परिवारका अन्य सदस्यलाई कसरी जोगाउने भन्ने त भयो नै, अब दैनिकी कसरी चलाउने भन्ने चिन्ता पनि उनलाई रह्यो । ‘कोरोना सङ्क्रमण भएपछि कसरी छिटो निको हुने भन्ने पीर त हुने भयो नै, रिपोर्टिङमा जान नसक्दा समाचार प्रसारण नहुने र समाचार प्रसारण नहुँदा पारिश्रमिकसमेत शून्य हुने भएकाले चाँडै सञ्चो भए त काममा फर्कन हुन्थ्यो भन्ने हुँदोरहेछ ।’
भण्डारीको जस्तो अवस्था देशभरका सबैजसो स्ट्रिन्जर पत्रकारहरूको हो । जसले समाचार लेखेर मात्रै हुँदैन, त्यो प्रकाशन तथा प्रसारण भए मात्रै पारिश्रमिक पाउँछन् । दैनिक कुदाकुदपछि प्रकाशन–प्रसारण हुने समाचारको पैसा पाएर मात्रै जीविका चलाउनुपर्ने श्रमजीवी पत्रकारहरूको सख्या धेरै छ । हुन त महामारीमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत अरू पनि धेरै क्षेत्रका व्यक्तिहरू महामारीका समयमा पनि फ्रन्टलाइनमा खटिएका छन् । तर तीमध्ये धेरैजसो राज्य मातहतका निकायका कर्मचारी भएकाले उनीहरूलाई सरकारले प्रोत्साहन भत्तादेखि अन्य सुविधासमेत दिने गरेको छ । तर कयौँ पत्रकारहरूले दिनभर जोखिम मोलेर काम गरेबापत जोखिम भत्ता होइन, नियमित तलब नै पाएका छैनन् ।
त्यसैले त जिल्ला–जिल्लामा पत्रकार महासङ्घहरूले प्राथमिकताअनुसार ‘भाडामा बस्ने, रोजगारी गुमेका, सञ्चार माध्यमले समयमा तलब नदिएका, पत्रकारिताबाहेक अन्य विकल्प नभएका, भाडामा बस्न नपरे पनि साँच्चै समस्यामा रहेका’जस्ता आधार बनाएर पत्रकारहरूलाई दैनिक अत्यावश्यक बस्तुहरू पोको पारेर बाँड्नुपर्ने अवस्था सिर्जना भएको छ । राज्यको चौथो अङ्गका रूपमा हेरिने, कामको प्रकृतिअनुसार दिनरात नभनेर खटिनुपर्ने पत्रकारहरू कोभिड महामारीको मारले गर्दा पोकापन्तुरामा जम्मा पारेको राहतले छाक टार्नुपर्ने अवस्थामा पुग्नुले स्थिति कति संवेदनशील र गम्भीर छ भन्ने प्रस्ट पार्छ ।
नियमित काम गरिरहेका र सङ्क्रमणबाट जोगिएकाहरूलाई पनि घरबाट निस्कँदा र घर फर्कंदा कतै आफैँले सङ्क्रमण परिवारका सदस्यहरूलाई सार्छु कि भन्ने भयले सताइरहेको छ । महामारी र निषेधाज्ञाका बेला अरूलाई घरभित्रै बस्नुस् भनेर आफू जतिबेला पनि कुद्नुपर्छ । त्यसैले दिनदिनै कतै आज सङ्क्रमण सर्छ कि, घरपरिवारमा सङ्क्रमण फैलाउने कारक मै हुन्छु कि भन्ने चिन्ताले अत्याउँछ । अझ पत्रकार महिला र त्यसमा पनि बालबच्चाका आमाहरूले हकमा त झन् बढी अप्ठ्यारो सामना गर्नुपरिरहेको छ । कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार साजना तामाङको अनुभव छ– ‘कोरोना महामारीको यस समयमा दैनिक रूपमा काममा खटिँदा एकछिन त कामकै व्यस्तताले अत्यास बिर्सिंदो रहेछ । तर जब घर पुगेर साना बच्चाको रेखदेख र परिवारका साथमा रहनुपर्छ, त्यसबेलाको अवस्था र उत्पन्न हुने तनाव त वर्णन गर्न पनि सकिन्न ।’
महामारीको यो बेला क्यामरा पर्सनहरू झन् बढी जोखिममा छन् । मानिसहरू घरको गेटबाट बाहिर निस्कन नपाएको र नसकेको अवस्थामा क्यामरा काँधमा राखेर जोखिमका सामुन्ने पुग्नुपर्दा सङ्क्रमणको डर र भयले मन ढुकढुक हुन्छ तर पनि सक्दो स्वास्थ्य सुरक्षाका सक्दो उपाय अवलम्बन गरेर काम गरिरहेका छन् ।
कोरोनाको पहिलो लहरका कारण २०७६ साल चैत ११ देखि २०७७ असार ६ गतेसम्म निरन्तर चलेको लकडाउनको समय पनि नेपाली पत्रकारका लागि अत्यासलाग्दो थियो । अहिले दोस्रो लहरले त झन् अत्याइरहेको छ । पहिलो चरणमा होस् वा अहिलेको दोस्रो लहरका बेला, महामारीले भयावहस्थित भइरहँदा कयाँै पत्रकारहरू कामविहीन भएको र पारिश्रमिक नपाएका गुनासा नियमितजस्तै आइरहेका छन् । कोरोना महामारी र लकडाउनकै कारण सञ्चार माध्यमहरू बन्द हुँदा रोजगारी गुमाउनुपर्ने र महामारीको जोखिम मोलेर पनि दिनरात खटेर काम गर्दासमेत पारिश्रमिक नपाउने अवस्था पत्रकारहरूले भोगिरहनुपरेको छ । तर समस्या समाधानका लागि उचित पहल हुन सकेको छैन ।
अघिल्लो वर्षको पाठ
कोभिड महामारीबाट पत्रकारमा मनोवैज्ञानिक र आर्थिक रूपमा गम्भीर असर पारेको तथ्याङ्क नेपाल प्रेस इन्स्टिच्युट र बेलायतको बर्नमाउथ विश्वविद्यालले संयुक्त रूपमा गरेको मत सर्वेक्षणले देखाएको थियो । २०७७ को २६ असारदेखि ९ साउनसम्म सातवटै प्रदेशका एक हजार १३४ जना पत्रकारहरूमाझ गरिएको सर्वेक्षणले अधिकांश पत्रकारको मानसिक स्वास्थ्यमा असर पुर्याएको देखाएको थियो । सर्वेक्षणमा सहभागी करिब ८३ प्रतिशत (९३७ जना) पत्रकारले जोखिमको अनुभूति बढेको, ७५ प्रतिशत (८४८ जना) पत्रकारले चिन्ता बढेको र ६२ प्रतिशत (६९८ जना) पत्रकारले आफूहरू दुःखमा परेको अनुभूति भएको बताएका थिए । आर्थिक कठिनाइको अनुभूति गरिरहेको बताएका ७३.५ प्रतिशत (८३४ जना) पत्रकारमध्ये ३८ प्रतिशतले आफूहरू पारिश्रमिक कटौतीमा परेको खुलाएका थिए ।
‘यसभित्रको पनि डरलाग्दो पक्ष के छ भने सर्वेक्षणमा सहभागी भएका एक चौथाइ अर्थात् २५ प्रतिशत (२८३ जना) पत्रकारले त आफूहरू चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् । यसले महामारीका कारण पत्रकारहरूको मानसिक स्वास्थ्य कति डरलाग्दो हिसाबले बिग्रँदो छ भन्ने देखाउँछ ।’
जुनसुकै चुनौतीको सामना गर्दै सङ्कटका बेला अहोरात्र कार्यक्षेत्रमा खटिने पत्रकारको सेवा, सुरक्षा तथा हकहित संरक्षण एवं श्रम अधिकारको अवस्थामा केन्द्रित भई नेपाल पत्रकार महासङ्घले पनि गत वर्ष नै १४ जिल्ला तथा ५१ सञ्चार प्रतिष्ठानहरूमा पत्रकार तथा सञ्चारकर्मीको अवस्थाको अनुगमनको गरेको थियो ।
लकडाउन अवधिमा पारिश्रमिकको अवस्था, अन्य सुविधा, बिदा, विस्थापनको अवस्था, कोरोना सङ्क्रमणको जोखिम, मिडिया हाउसको वस्तुस्थितिजस्ता विषयमा केन्द्रित भई महासङ्घले गरेको त्यस अनुगमनले एउटा सङ्केत गरेकै थियो । महासङ्घका अनुसार अनुगमनका क्रममा प्राप्त तथ्यहरूका आधारमा कोरोना सङ्क्रमण तथा लकडाउनका बेला श्रमजीवी पत्रकारहरूले नियमित तलब नपाउने, सञ्चार प्रतिष्ठानहरूले कम आम्दानी भएको भन्दै पत्रकारहरूलाई कम पैसा दिएका, कतिले कामबाटै हटाएका, बेतलबी बिदा बस्न दबाब दिएको महासङ्घको अनुगमनको निष्कर्ष थियो ।
कोरोना जोखिमका बिच रिपोर्टिङमा खटिने पत्रकारको स्वास्थ्य सुरक्षामा समस्या भएको र सञ्चारसंस्थाहरूले पत्रकारको कोरोना बिमासमेत नगरेको भन्दै महासङ्घले श्रमजीवीको लामो समयसम्म पारिश्रमिक रोकिएका कारण दैनिक खर्च, औषधि उपचार, कोठाभाडा तिर्न अप्ठ्यारो हुने ‘यस्तो जटिल अवस्थामा सञ्चारकर्मीका समस्या सम्बोधन गर्न सम्बन्धित मिडिया हाउस, सरकार र सरोकारवाला निकायले ठोस कदम चाल्नुपर्ने’ ठहर गरेको थियो ।
२०७६ चैत ११ गतेदेखि २०७७ जेठ १० गतेबिच भएको अध्ययन महासङ्घको ठहर थियो– ‘केही मिडिया हाउसले ज्यालादारीजस्तै कार्यालयमा गएको दिनको मात्र पारिश्रमिक दिएका छन् । जसका कारण पत्रकारको समयको लगानी, श्रम र भविष्य अन्योलमा परेको छ । एकतर्फी रूपमा तलब कट्टा गरिएको अवस्था छ । तलब कट्टा गरेका कारण न्यून बैतनिक श्रमजीवी चर्को मारमा परेका छन् । चार–पाँच महिनासम्म पारिश्रमिक नपाउने पत्रकारको अवस्था थप जर्जर बनेको छ । बन्द भएका मिडियामा कार्यरत पत्रकार आफ्नो भविष्यलाई लिएर मानसिक तनावमा छन् । यस्तो द्विविधा, संशय र अन्योलको स्थितिमा खुला रूपले सूचना सङ्कलन तथा सम्प्रेषणमै बाधा उत्पन्न भएको छ । उनीहरू पूरै विस्थापनको स्थितिमा छन् ।’
अर्थतन्त्रमा परेको असरले विज्ञापन बजार प्रभावित हुँदा आमसञ्चार क्षेत्रमै अप्ठ्यारो आइपरेको छ । प्रकाशन तथा प्रसारण संस्थाहरू दुब्लाएका छन् । नेपालमा मात्रै हैन, छिमेकी मुलुक भारतसहित विश्वमै यस्तै स्थिति छ । गत वर्षमा कोभिड–१९ को प्रभावका कारण अमेरिकामा मात्रै कम्तीमा ३३ हजार पत्रकार तथा मिडिया क्षेत्रमा संलग्न जनशक्ति बेरोजगार भएको न्युयोर्क टाइम्सले उल्लेख गरेको थियो ।
महामारीको उच्च जोखिम, व्यावसायिक असुरक्षा, सीमित स्रोत–साधन र प्रतिकूलताको यसबेला स्थलगत रिपोर्टिङसमेत गरेर पत्रकारहरूले फ्रन्टलाइनरका रूपमा जनतालाई सुसूचित गर्ने दायित्व निर्वाह गरिरहेका छन् । त्यसबाहेक जिल्लाबाट प्रकाशित हुने थुप्रै पत्रपत्रिका अहिलेसम्म पनि बन्द छन् । टिभी, रेडियो र अनलाइन पनि समस्यामा छन् । समाचारको विषयलाई लिएर विभिन्न पक्षद्वारा आक्रमण, धम्की र दुव्र्यवहारका घटनाहरू भइरहेका छन् ।
परिस्थितिजन्य अप्ठ्यारा
एकातिर पत्रकारहरू स्वयं कोभिड–१९ महामारीबाट प्रताडित छन् । अर्कोतिर सङ्कटको यस घडीमा सूचनाको पहुँचसम्म पुग्न र सत्यतथ्य सूचना लिन पनि पत्रकारहरूलाई समस्या भइरहेको छ । सरकारी स्तरबाटै पत्रकारहरूलाई सूचना पाउन कठिन छ । सूचना लुकाउने प्रवृत्तिले थुप्रै बेथिति र अनियमितताहरू बाहिर आउन नपाउने सम्भावना छ । महामारीलाई कारण देखाएर हुनसक्ने वा भएका अपारदर्शी र अनियमितताहरू कसरी सार्वजनिक गर्ने भन्ने चुनौती पनि पत्रकारलाई छ ।
उच्च स्वास्थ्य सावधानीसहित कोरोना भाइरस सङ्क्रमणबाट जोगिनु मानव जीवनका लागि अहिलेको एक मात्र विकल्प हो । त्यति हुँदाहुँदै पनि पत्रकारिता गरिरहनुपर्ने अवस्था छ । त्यसैले पहिला मान्छे, अनि मात्रै पत्रकार हुँ भन्ने ख्याल गर्नुपर्छ । जीवन रहे समाचार कति कति । त्यसैले सकेसम्म घर वा कार्यालयबाटै सत्य–तथ्य सूचना सङ्कलन गरेर समाचार तयार पार्नु राम्रो । तर फिल्डमा नगई नहुने अवस्थामा अब पत्रकारले झोलामा डायरी, कलम, क्यामरा मात्रै हैन, मास्क, सेनिटाइजर, पञ्जा, साबुन, पिउने पानी र खाजाका डब्बा राख्नैपर्छ । आवश्यकताअनुसार पिपिई पनि जोहो गर्नु राम्रो । त्यसका अलावा फिल्डमा जाँदा निषेधाज्ञा पालनाका क्रममा सुरक्षा निकायबाट हुनसक्ने चेकजाँचमा रोकिन नपर्ने गरी प्रेस पास वा स्थानीय प्रशासनको अनुमतिपत्र पनि लिनुपर्छ ।
पत्रकारहरूले हेक्का नगरी नहुने अर्को पक्ष भनेको जस्तोसुकै सङ्कट आइपरे पनि समाचारको सत्यतामाथि कहीँकतैबाट प्रश्न उठ्ने अवस्था आउन दिनुहुन्न । त्यसैले अनुमान र हल्लाका भरमा होइन, आधिकारिक निकायबाट भरपर्दो सूचना लिने र त्यसको आधिकारिकता पुष्टि गर्ने काम पहिलो सर्त हो । पत्रकारहरूले आचारसंहिता पालनामा ध्यान नदिँदा उनीहरूले प्रकाशन तथा प्रसारण गर्ने समाचारको विश्वसनीयता कमजोर हुँदै गएको गुनासाहरू बढिरहेका छन् । त्यसैले व्यक्ति वा संस्थाको छविमाथि आँच पुग्ने, झूटो अफवाह फैलने र चरित्रहत्या हुनेजस्ता सूचना वा समाचार प्रकाशन–प्रसारणबाट जोगिनु अनिवार्य छ ।
‘विचार र अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, प्रेस स्वतन्त्रतालगायत नागरिकका आधारभूत अधिकारको संरक्षण, सम्वद्र्धन र प्रचलनका लागि पत्रकारिताका सिद्धान्त, अन्तर्राष्ट्रिय मूल्य–मान्यताका आधारमा पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्च पेसागत, मर्यादित, जवाफदेही एवं उत्तरदायी बनाई राष्ट्र र समाजको सर्वोत्तम हितका लागि सबै सञ्चार माध्यम र पत्रकारलाई लागु हुने गरी’ नेपाल पत्रकार महासङ्घसमेतको सहमतिमा काउन्सिलले जारी गरेको पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन २०७६) लाई पूर्ण पालना गर्नु पत्रकार र सञ्चार माध्यमको कर्तव्य नै हो ।
अन्त्यमा,
कोभिड–१९ को विश्वव्यापी महामारी मानव जीवनकै लागि अत्यासलाग्दो परिस्थिति हो । यस अवस्थाबाट नेपाल पनि अछुतो छैन । फ्रन्टलाइनमा खटिएर काम गर्नुपर्ने भएकाले पत्रकारहरू पनि मारमा नपर्ने कुरै भएन । त्यसैले सबैभन्दा पहिला आफू बचौँ, परिवारलाई बचाऔँ । त्यसपछि जोगिएर, सरकारले तोकेको स्वास्थ्य सावधानीका मापदण्ड पालना गरेर मात्रै काममा जुटौँ । प्रेस स्वतन्त्रता र महामारीबिच कुनै साइनो हुन्न भन्ने कुरालाई मनन गरी काममा खटिऔँ । यो अवस्था कहिले बाध्यता, कहिले जिम्मेवारी हो । यति हुँदाहुँदै पनि पत्रकारिताको पेसागत मर्यादा जोगाउँदै आचारसंहिता पालनामा ध्यान दिऔँ ।
यस्तो महामारीमा खटिएर काम गर्दा पनि समयमै र उचित पारिश्रमिक नपाउने अवस्थाको अन्त्यका लागि सामूहिक प्रयास गरौँ । सरकार पनि यस अवस्थाबाट भाग्न पाउँदैन । पत्रकार महासङ्घले पनि कागजमा वा विज्ञप्तिलाई आधार मानेर हैन, खास पत्रकारले भोग्नुपरेका समस्या समाधानमा अहोरात्र काम गर्नु आवश्यक छ । अहिले जेजति पत्रकारले ज्यान गुमाउनुपरेको छ, उनीहरूका परिवारले पनि राहत महसुस गर्ने वातावरण बनाउँदै पेसाबाट विस्थापित पत्रकारहरूलाई पत्रकारितामा लागेर इमानपूर्वक काम गर्दा आफू आर्थिक रूपमा घर न घाटको हुनुपरेको भनेर पश्चात्ताप गर्नुपर्ने, मानसिक समस्या भोग्नुपर्ने अवस्था नआओस् ।
(लेखक कान्तिपुर टेलिभिजनमा कार्यरत भण्डारीको यो लेख हामीले प्रेस काउन्सिल नेपालको त्रैमासिक प्रकाशन संहिता ४९ औँ अंक असार २०७८ बाट लिएका हौँ । स.)









































